26.7 C
Birgunj
Date
शनि, मंसिर १३, २०८३
Sat, November 28, 2026
spot_img

पुरुष फुटबलमा पुलिसको उत्कृष्ट प्रदर्शन, सेमिफाइनलमा स्थान सुरक्षित

सुर्खेत,१२ मंसिर । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार कर्णाली प्रदेश रंगशालामा भएको खेलमा गण्डकी प्रदेशलाई १–० गोल अन्तरले पराजित गर्दै नेपाल पुलिसले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा नेपाल पुलिस क्लबका लागि सुजन बलाम्पाकी मगरले निर्णायक गोल गरे । उनले पहिलो हाफको अतिरिक्त समय अर्थात् ४६औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । उनको उक्त गोल नै खेलको निर्णायक बन्यो । पहिलो हाफमै अग्रता बनाएको नेपाल पुलिसले दोस्रो हाफमा पनि आफ्नो अग्रता कायम राख्दै गण्डकी प्रदेशलाई गोल फर्काउने अवसर दिएन । निर्धारित समयसम्म गण्डकीले गोल गर्न नसकेपछि नेपाल पुलिस १–० को जित निकाल्दै सेमिफाइनलमा पुग्न सफल भयो ।

खेलका क्रममा दुवै टोलीका खेलाडीले आक्रामक प्रतिस्पर्धा गरेका थिए । रेफ्रीले खेलमा पाँचवटा पहेँलो कार्ड देखाएका थिए । नेपाल पुलिस क्लबका शिशिर चौधरी, संजीव लामा र अभिषेक लामाले पहेँलो कार्ड पाए भने गण्डकी प्रदेशका रन्दिप पौडेल र बिसन गुरुङले पनि पहेँलो कार्ड पाए । गण्डकी प्रदेशलाई पराजित गरेसँगै नेपाल पुलिस क्लबले प्रतियोगिताको सेमिफाइनल यात्रा तय गरेको छ । पराजित गण्डकी भने प्रतियोगिताबाट बाहिरिएको छ ।

यसैबीच, प्रतियोगिताअन्तर्गत आइतबार पुरुष फुटबलका दुई खेल सञ्चालन हुनेछन् । पहिलो खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र कोसी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै, दोस्रो खेलमा वाग्मती प्रदेश र लुम्बिनी प्रदेश आमनेसामने हुनेछन् । आइतबार हुने दुवै खेलका विजेता टोली सेमिफाइनलमा प्रवेश गर्ने म्याच कमिसनर वीरेन्द्र पाण्डेले जानकारी दिएका छन् ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here