काठमाडौं,११ मंसिर । नेपाल विद्युत् प्राधिकरणले भारतबाट १५० मेगावाट विद्युत् खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । प्राधिकरणले चौबिसै घण्टा (राउन्ड द क्लक–आरटीसी) विद्युत् आपूर्ति गर्ने गरी प्रतिस्पर्धात्मक प्रक्रियामार्फत विद्युत् खरिद गर्न भारतीय विद्युत् व्यापारिक कम्पनीहरूसँग प्रस्ताव माग गरेको हो ।
प्राधिकरणले शुक्रबार सूचना प्रकाशित गर्दै भारतबाट विद्युत् खरिदका लागि इच्छुक कम्पनीलाई प्रस्ताव पेस गर्न आह्वान गरेको छ । सूचनाअनुसार भारतका क्याटागोरी–१, २ र ३ अन्तर्गत विद्युत् व्यापारको अनुमतिपत्र प्राप्त कम्पनीहरूले प्रतिस्पर्धात्मक प्रक्रियामा सहभागी हुन सक्नेछन् । विद्युत् खरिदका लागि प्रस्ताव पेस गर्ने अन्तिम मिति आगामी २८ डिसेम्बर २०२६ अर्थात् १३ पुस २०८३ को दिउँसो १२ बजेसम्म तोकिएको छ । प्राधिकरणले सोही दिन दिउँसो १ बजे बोलपत्रदाताबाट प्राप्त प्राविधिक प्रस्ताव खोल्ने जनाएको छ ।
बोलपत्र प्रक्रियामा सहभागी हुन इच्छुक कम्पनीले दस्तुरबापत भारतीय रुपैयाँ १२ हजार ५०० वा सो बराबरको नेपाली रुपैयाँ बुझाउनुपर्ने व्यवस्था गरिएको छ । त्यसैगरी, बोलपत्रदाताले आफूले प्रस्ताव गरेको कुल विद्युत् क्षमताका आधारमा प्रतिमेगावाट प्रतिमहिना ५५ हजार भारतीय रुपैयाँका दरले धरौटी अर्थात् अर्नेस्ट मनी डिपोजिट (ईएमडी) राख्नुपर्नेछ । प्राधिकरणका अनुसार बोलपत्रसम्बन्धी आवश्यक कागजात सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय बोलपत्र पोर्टलबाट डाउनलोड गर्न सकिनेछ । इच्छुक भारतीय विद्युत् व्यापारिक कम्पनीहरूले सोही पोर्टलमार्फत विद्युतीय प्रणालीबाटै आफ्नो प्रस्ताव पेस गर्नुपर्नेछ ।
प्राप्त प्रस्तावहरूको प्राविधिक मूल्याङ्कन प्रक्रियाअन्तर्गत बोलपत्र प्राधिकरणको केन्द्रीय कार्यालय दरबारमार्गमा खोलिनेछ । प्रस्ताव खोल्ने समयमा उपस्थित हुन चाहने बोलपत्रदाता कम्पनीका प्रतिनिधि वा उनीहरूका आधिकारिक प्रतिनिधिहरू सहभागी हुन सक्ने व्यवस्था गरिएको छ । प्राधिकरणले बोलपत्र प्रक्रियामा प्राप्त हुने प्रस्तावमध्ये कुनै एक वा सबै प्रस्ताव स्वीकार गर्ने अथवा अस्वीकार गर्ने अधिकार आफूमा सुरक्षित राखेको पनि सूचनामार्फत स्पष्ट पारेको छ ।
चौबिसै घण्टा विद्युत् आपूर्ति सुनिश्चित गर्ने उद्देश्यसहित प्राधिकरणले भारतीय विद्युत् व्यापारिक कम्पनीहरूबाट प्रतिस्पर्धात्मक प्रस्ताव माग गरेको हो । यस प्रक्रियाबाट प्राप्त प्रस्तावका आधारमा विद्युत् खरिदसम्बन्धी थप प्रक्रिया अघि बढाइनेछ ।

