22.3 C
Birgunj
Date
बुध, मंसिर ३, २०८३
Wed, November 18, 2026
spot_img

बैंकमा पैसा थुप्रियो, तरलता खिच्दा राष्ट्र बैंकलाई २३ अर्बको भार

काठमाडौं,०२ मंसिर । बैंक तथा वित्तीय संस्थामा कर्जाको माग सुस्त रहनु र निक्षेप निरन्तर बढ्दै जाँदा वित्तीय प्रणालीमा अधिक तरलताको समस्या चुलिएको छ । प्रणालीमा थुप्रिएको अतिरिक्त तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले ब्याजबापत ठूलो रकम खर्च गर्नुपरेको छ । गत आर्थिक वर्षमा मात्रै अधिक तरलता प्रशोचन गर्दा राष्ट्र बैंकको खर्च २२ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा दोब्बरभन्दा बढी हो ।

बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्ने तर सोही अनुपातमा कर्जाको माग नबढ्ने अवस्थाले वित्तीय प्रणालीमा लगानीयोग्य रकम थुप्रिँदै गएको छ । यस्तो अवस्थामा बैंक तथा वित्तीय संस्थामा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले विभिन्न मौद्रिक उपकरणमार्फत रकम खिच्ने गर्छ । त्यसरी रकम खिचेबापत बैंक तथा वित्तीय संस्थालाई ब्याज भुक्तानी गर्नुपर्ने भएकाले राष्ट्र बैंकको खर्च बढेको हो । गत आर्थिक वर्षमा तरलता व्यवस्थापनका क्रममा राष्ट्र बैंकले ब्याज भुक्तानीमा २२ अर्ब ८२ करोड रुपैयाँ खर्च गरेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो खर्च ९ अर्ब ३९ करोड रुपैयाँ मात्रै थियो । यसरी एक वर्षको अवधिमा तरलता व्यवस्थापनमा हुने ब्याज खर्च उल्लेख्य रूपमा बढेको देखिन्छ ।

तरलता व्यवस्थापनमै अर्बौं रुपैयाँ खर्च हुन थालेपछि राष्ट्र बैंकले यसको दीर्घकालीन समाधानका लागि वैकल्पिक उपाय खोज्न थालेको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत वित्तीय प्रणालीमा नेपाली मुद्राको आपूर्ति कम गर्न ‘स्टेरिलाइज्ड इन्टरभेन्सन’ गर्ने व्यवस्था अघि सारेको छ । यसअन्तर्गत रेमिट्यान्स भुक्तानीमा विदेशी मुद्रा नै उपलब्ध गराउने व्यवस्था गर्ने विषय समेटिएको छ । यसका लागि आवश्यक अध्ययनसमेत भइरहेको राष्ट्र बैंकले जनाएको छ । विदेशी मुद्रा आफूसँग राखेर त्यसको सट्टामा नेपाली रुपैयाँ भुक्तानी गर्दा वित्तीय प्रणालीमा नेपाली मुद्राको आपूर्ति बढ्ने भएकाले अधिक तरलताको अवस्था सिर्जना हुन सक्ने देखिएको छ । अब यस्तो अवस्थामा ब्याज भुक्तानी गरेर मात्रै तरलता खिच्नेभन्दा नयाँ वित्तीय औजारको प्रयोगमार्फत व्यवस्थापन गर्ने तयारी केन्द्रीय बैंकले गरेको छ । राष्ट्र बैंकका एक अधिकारीका अनुसार अधिक तरलताको समस्या समाधान गर्न विदेशी मुद्रा नै भुक्तानी दिने विकल्पमा समेत काम भइरहेको छ ।

कर्जाको माग नबढ्दा थप जटिल बन्यो तरलताको समस्या

वित्तीय प्रणालीमा अधिक तरलता रहनुको प्रमुख कारणमध्ये कर्जाको मागमा आएको सुस्तता पनि एक हो । बैंक तथा वित्तीय संस्थामा निक्षेप निरन्तर थपिए पनि कर्जा प्रवाह अपेक्षित रूपमा बढ्न सकेको छैन । कर्जाको माग बढाउन राष्ट्र बैंकले विभिन्न चरणमा कर्जा नीतिलाई खुकुलो बनाउँदै आएको छ । तर नीतिगत सहजता अपनाउँदासमेत कर्जाको मागमा उल्लेख्य सुधार हुन नसकेपछि अधिक तरलताको समस्या थप जटिल बनेको हो । राष्ट्र बैंकका अधिकारीका अनुसार कर्जाको माग बढ्न सके वित्तीय प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न सहज हुन्छ । कर्जा प्रवाह बढ्दा बैंक तथा वित्तीय संस्थामा थुप्रिएको रकम अर्थतन्त्रमा परिचालित हुने भएकाले तरलताको चाप कम गर्न सहयोग पुग्छ । तरलता व्यवस्थापन केन्द्रीय बैंकको नियमित काम भएको उल्लेख गर्दै राष्ट्र बैंकका एक अधिकारीले यसमा कहिले खर्च हुने र कहिले आम्दानी हुने अवस्था रहने बताए । उनका अनुसार प्रणालीमा अधिक तरलता हुँदा राष्ट्र बैंकले रकम खिच्नुपर्ने भएकाले खर्च हुन्छ भने तरलता अभाव हुँदा प्रणालीमा रकम पठाउँदा केन्द्रीय बैंकले आम्दानी गर्न सक्छ ।

अन्तरबैंक ब्याजदर नियन्त्रण गर्न तरलता व्यवस्थापन

नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा तरलताको अवस्था सन्तुलित राख्न र ब्याजदरमा हुने अस्वाभाविक उतारचढाव नियन्त्रण गर्न समयअनुसार रकम खिच्ने तथा प्रवाह गर्ने गर्दै आएको छ । केन्द्रीय बैंकले प्रणालीबाट पैसा खिच्दा बैंक तथा वित्तीय संस्थालाई ब्याज भुक्तानी गर्नुपर्छ भने प्रणालीमा पैसा पठाउँदा ब्याज आम्दानी हुन्छ । वित्तीय प्रणालीमा उपलब्ध तरलताको अवस्थाले अल्पकालीन ब्याजदर निर्धारणमा महत्वपूर्ण भूमिका खेल्छ । प्रणालीमा अधिक तरलता हुँदा ब्याजदर घट्ने र तरलता अभाव हुँदा ब्याजदर बढ्ने गर्छ । यसलाई मापन गर्ने प्रमुख आधार बैंक तथा वित्तीय संस्थाबीच हुने अन्तरबैंक कारोबारको ब्याजदर हो । अधिक तरलता भएको अवस्थामा अन्तरबैंक ब्याजदर घट्छ भने तरलता कसिलो हुँदा यस्तो दर बढ्छ । यही अवस्थालाई ध्यानमा राखेर राष्ट्र बैंकले अन्तरबैंक कारोबार दरलाई आधार मानी ब्याजदर करिडोर प्रणाली कार्यान्वयन गर्दै आएको छ ।

ब्याजदर करिडोरको उद्देश्य अन्तरबैंक ब्याजदरलाई निश्चित सीमाभित्र राख्नु हो । यसका लागि केन्द्रीय बैंकले वित्तीय प्रणालीमा रहेको तरलताको अवस्था हेरेर आवश्यकताअनुसार विभिन्न मौद्रिक उपकरण प्रयोग गर्छ । प्रणालीमा अधिक तरलता हुँदा अन्तरबैंक ब्याजदर घटेर करिडोरको तल्लो सीमाभन्दा तल जान नदिन राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा तथा निक्षेप संकलनमार्फत बैंक तथा वित्तीय संस्थाबाट रकम खिच्छ । यसले प्रणालीमा उपलब्ध तरलता घटाएर अन्तरबैंक ब्याजदरलाई थप तल झर्नबाट रोक्न मद्दत गर्छ ।

त्यस्तै, वित्तीय प्रणालीमा तरलता अभाव भएर अन्तरबैंक ब्याजदर बढ्न थालेमा राष्ट्र बैंकले स्थायी तरलता सुविधामार्फत प्रणालीमा रकम पठाउँछ । यसबाट अन्तरबैंक ब्याजदरलाई नियन्त्रण गर्न र वित्तीय प्रणालीमा आवश्यक तरलता उपलब्ध गराउन सहयोग पुग्छ । यसका अतिरिक्त राष्ट्र बैंकले रिपो र रिभर्स रिपो उपकरणसमेत प्रयोग गरी तरलता व्यवस्थापन गर्दै आएको छ । वित्तीय प्रणालीमा तरलताको अवस्थाअनुसार ब्याजदरमा उतारचढाव आउने भएकाले त्यसलाई नियन्त्रण गर्न ब्याजदर करिडोर प्रणाली लागू गरिएको हो ।

बैंक दर ५.७५ र स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशत

हाल राष्ट्र बैंकको बैंक दर ५.७५ प्रतिशत, नीतिगत दर ४.२५ प्रतिशत र स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशत कायम रहेको छ । ब्याजदर करिडोरको माथिल्लो सीमा बैंक दर अर्थात् स्थायी तरलता सुविधा दर हो भने तल्लो सीमा स्थायी निक्षेप सुविधा दर हो । केन्द्रीय बैंकले यी सीमालाई आधार बनाएर वित्तीय प्रणालीको अल्पकालीन ब्याजदरलाई व्यवस्थित गर्दै आएको छ । अधिक तरलताको अवस्थामा रकम प्रशोचन गरेर ब्याज भुक्तानी गर्ने र तरलता अभाव हुँदा प्रणालीमा रकम प्रवाह गरेर आम्दानी गर्ने प्रक्रिया यसै व्यवस्थाअन्तर्गत सञ्चालन हुन्छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा विभिन्न उपकरण प्रयोग गरी पटक–पटक कुल ४ सय २५ खर्ब १६ अर्ब २५ करोड रुपैयाँ बराबरको तरलता प्रशोचन गरिएको थियो । त्यस्तै, ओभरनाइट तरलता सुविधामार्फत १२ अर्ब ५० करोड रुपैयाँ बराबरको तरलता प्रवाह गरिएको थियो ।

वित्तीय प्रणालीमा निक्षेप बढ्दै जाने तर कर्जाको माग अपेक्षित रूपमा विस्तार नहुने अवस्था कायम रहेमा राष्ट्र बैंकमाथि तरलता व्यवस्थापनको खर्चिलो दबाब निरन्तर रहन सक्ने देखिन्छ । त्यसैले ब्याज भुक्तानी गरेर मात्रै अतिरिक्त तरलता खिच्ने परम्परागत उपायको विकल्प खोज्दै केन्द्रीय बैंकले नयाँ वित्तीय औजार प्रयोग गर्ने तयारी गरेको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here