26.1 C
Birgunj
Date
शुक्र, मंसिर १२, २०८३
Fri, November 27, 2026
spot_img

प्रहरी सेवालाई पारदर्शी र जवाफदेही बनाउन आईजीपी केसीको जोड

काठमाडौं,११ मंसिर । प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीले नागरिकमैत्री, पारदर्शी, जवाफदेही र प्रभावकारी सेवा प्रवाहमार्फत प्रहरीप्रतिको जनविश्वास अभिवृद्धि हुने गरी काम गर्न प्रहरी अधिकृतहरूलाई निर्देशन दिएका छन् ।

सरुवा भई नयाँ कार्यक्षेत्रमा जान लागेका प्रहरी उपरीक्षकहरूलाई शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा सम्बोधन गर्दै आईजीपी केसीले प्रहरी संगठनको जिम्मेवारीलाई थप प्रभावकारी बनाउँदै नागरिकको भरोसा जित्ने गरी कार्यसम्पादन गर्न निर्देशन दिएका हुन् । उनले आफ्नो कार्यक्षेत्रमा हुन सक्ने सुरक्षा चुनौतीहरूको समयमै पहिचान र विश्लेषण गरी आवश्यकताअनुसार सुरक्षा योजना तथा रणनीति निर्माण गर्नुपर्नेमा जोड दिए । सुरक्षा अवस्था र सम्भावित जोखिमलाई ध्यानमा राख्दै योजनाबद्ध रूपमा प्रहरी परिचालन गर्न सके शान्ति सुरक्षा कायम गर्न तथा अपराध नियन्त्रणमा प्रभावकारी परिणाम हासिल गर्न सकिने उनको भनाइ थियो ।

आईजीपी केसीले पछिल्लो समय चुनौतीका रूपमा देखिएका साइबर अपराध, सीमा अपराध तथा तस्करी नियन्त्रणलाई विशेष प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए । त्यसैगरी अवैध हातहतियार बरामद गर्ने र विभिन्न अपराधमा संलग्न भई फरार रहेका प्रतिवादीलाई पक्राउ गर्ने कार्यलाई समेत प्राथमिकतामा राख्न उनले आग्रह गरे । प्रहरी अधिकृतहरूले आफ्नो जिम्मेवारी निर्वाह गर्दा व्यावसायिकता, अनुशासन, निष्ठा र इमानदारीलाई आत्मसात् गर्नुपर्ने उल्लेख गर्दै उनले प्रहरी संगठनको छवि र नागरिकको विश्वास अभिवृद्धि हुने गरी काम गर्नुपर्ने बताए ।

उनले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अल्पसङ्ख्यक समुदायप्रति विशेष संवेदनशीलता अपनाउन पनि प्रहरी अधिकृतहरूलाई निर्देशन दिए । प्रहरी कार्यालयमा आउने पीडित तथा सेवाग्राहीका गुनासोलाई उचित ढंगले सम्बोधन गर्दै उनीहरूले प्राप्त गर्ने सेवालाई सहज, सरल र नागरिकमैत्री बनाउनुपर्नेमा उनले जोड दिए । प्रहरी संगठनलाई आन्तरिक रूपमा समेत बलियो र प्रभावकारी बनाउन तल्लो तहका कर्मचारीका समस्या तथा गुनासोलाई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो । कर्मचारीका समस्या बेवास्ता नगरी उनीहरूको मनोबल उच्च राख्ने वातावरण निर्माण गर्न र सामूहिक भावना तथा नवीन सोचका साथ जिम्मेवारी पूरा गर्न उनले आग्रह गरे ।

त्यसैगरी प्रहरी कार्यालयको व्यवस्थापनलाई चुस्त, व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै आईजीपी केसीले कार्यसम्पादनमा जिम्मेवारीबोध र जवाफदेहितालाई प्राथमिकता दिन निर्देशन दिए । भीड नियन्त्रणका क्रममा बल प्रयोग गर्नुपर्ने अवस्था आएमा बल प्रयोगसम्बन्धी स्थापित सिद्धान्तको पूर्ण पालना गर्दै संवेदनशीलता अपनाउनुपर्ने उनले बताए । प्रहरीको कार्यशैली मानवअधिकार, कानुनी प्रक्रिया र नागरिकको सुरक्षाप्रति संवेदनशील हुनुपर्ने उनको निर्देशन थियो ।

शान्ति सुव्यवस्था कायम राख्न र अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउन स्थानीय तह, सरकारी निकाय तथा अन्य सरोकारवाला संस्थासँग आवश्यक समन्वय र सहकार्य गर्नसमेत उनले प्रहरी अधिकृतहरूलाई आग्रह गरे । कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेलगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here