काठमाडौं,११ मंसिर । सर्वोच्च अदालतले कार्यालयमा उपस्थित हुँदा वा कार्यालयको प्रतिनिधित्व गर्दा सरकारले निर्धारण गरेको पोसाक अनिवार्य रूपमा लगाउन आफ्ना कर्मचारीलाई निर्देशन दिएको छ ।
सर्वोच्च अदालतको प्रशासन शाखाले बुधबार सूचना जारी गर्दै निजामती कर्मचारीले सरकारले तोकेको दिनमा निर्धारित पोसाक लगाउनुपर्ने व्यवस्था कडाइका साथ पालना गर्न निर्देशन दिएको हो । जारी सूचनाअनुसार कार्यालयमा उपस्थित हुँदा तथा कार्यालयको प्रतिनिधित्व गर्ने क्रममा कर्मचारीले तोकिएको पोसाक अनिवार्य रूपमा लगाउनुपर्नेछ । सरकारले औपचारिक पोसाक निर्धारण नगरेको शुक्रबारका दिन भने कर्मचारीले मर्यादित र शालीन पोसाक लगाएर कार्यालयमा उपस्थित हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।
त्यसैगरी, कार्यालयमा कार्यरत रहँदा सबैले स्पष्ट रूपमा देख्ने गरी आफ्नो परिचयपत्र अनिवार्य लगाउनुपर्ने व्यवस्था पनि सर्वोच्च अदालतले गरेको छ । कर्मचारीको पहिचान सहज रूपमा खुल्ने र कार्यालयको कार्यसम्पादनलाई थप व्यवस्थित बनाउने उद्देश्यले परिचयपत्र लगाउने व्यवस्थालाई समेत प्राथमिकता दिइएको देखिन्छ । सर्वोच्च अदालतले पोसाक तथा परिचयपत्रसम्बन्धी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन भए–नभएको विषयमा नियमित अनुगमन गर्ने जनाएको छ । अदालतको अनुगमन तथा निरीक्षण महाशाखाले कर्मचारीले निर्धारित पोसाक र परिचयपत्रसम्बन्धी निर्देशन पालना गरे–नगरेको विषयमा नियमित अनुगमन तथा निरीक्षण गर्ने सूचनामा उल्लेख छ ।
सर्वोच्च अदालतका अनुसार निजामती सेवा नियमावली, २०५० को नियम ११९ (क), निजामती सेवाका कर्मचारीको आचरणसम्बन्धी नियमावली, २०६५ तथा अदालतमा कार्यरत कर्मचारीको आचारसंहिता, २०७५ मा भएका व्यवस्थाका आधारमा यस्तो निर्देशन जारी गरिएको हो ।
अदालतले कर्मचारीको अनुशासन, मर्यादा र व्यावसायिक आचरणलाई व्यवस्थित बनाउन प्रचलित कानुनी तथा संस्थागत व्यवस्थाअनुसार पोसाक र परिचयपत्रसम्बन्धी नियम पालना गर्न निर्देशन दिएको जनाएको छ ।

