काठमाडौं,१२ मंसिर । काठमाडौं उपत्यकाका १३ वटा पालिकालाई जोड्ने गरी प्रस्ताव गरिएको १०५ किलोमिटर लामो पोडवे परियोजना सरकारी उदासीनताका कारण अन्योलमा परेको छ । सरकारले लगातार तीन आर्थिक वर्षदेखि पोडवे निर्माण तथा अध्ययनका लागि बजेट विनियोजन गर्दै आए पनि कार्यान्वयनमा चासो नदेखाउँदा पछिल्ला दुई वर्षको बजेट फ्रिज भएको छ । चालु आर्थिक वर्षमा पनि विनियोजित बजेट कार्यान्वयन हुने संकेत नदेखिएपछि परियोजनाको भविष्य थप अनिश्चित बनेको छ ।
काठमाडौं पोडवे कम्पनीका उपाध्यक्ष नील भट्टराईका अनुसार सरकारी निकायको ढिलासुस्ती, बजेट कार्यान्वयनमा देखिएको कमजोरी र नीतिगत अन्योलका कारण उपत्यकामा पोडवे सञ्चालन गर्ने योजना अघि बढ्न सकेको छैन । सरकारले बजेटमा योजना समावेश गरे पनि कार्यान्वयनको चरणमा नलैजाँदा नवीन यातायात प्रविधि भित्र्याउने योजना कागजमै सीमित भएको उनको भनाइ छ । सरकारले आर्थिक वर्ष २०८१/८२ देखि पोडवे परियोजनाका लागि बजेट विनियोजन गर्दै आएको थियो । उक्त आर्थिक वर्षमा गोरखाको लिगलिगकोट–बारपाक क्षेत्रलाई लक्षित गरी करिब २ करोड रुपैयाँ छुट्याइएको थियो । तर, आवश्यक प्रक्रिया अघि नबढ्दा विनियोजित रकम खर्च हुन सकेन ।
त्यसपछि आर्थिक वर्ष २०८२/८३ मा काठमाडौं उपत्यकामा माइक्रोरेल तथा पोडवेको सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न सरकारले बजेट विनियोजन गरेको थियो । उक्त अध्ययनका लागि ८ करोड ८३ लाख रुपैयाँ छुट्याइएको थियो । तर, अध्ययन एकै आर्थिक वर्षमा सम्पन्न गर्न नसकिने भएकाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कुल १८ करोड १३ लाख रुपैयाँ बराबरको बहुवर्षीय परामर्श सेवा खरिद गर्ने प्रक्रिया अघि बढाएको थियो । त्यसका लागि अर्थ मन्त्रालयसँग स्रोत सुनिश्चितताका लागि सहजीकरणसमेत मागिएको थियो । यद्यपि, आवश्यक काम अघि बढ्न नसक्दा उक्त आर्थिक वर्षमा विनियोजित बजेट पनि फ्रिज भयो । तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पोडवे तथा माइक्रोरेलसम्बन्धी अध्ययनका लागि बजेट विनियोजन गरेका थिए । सोही अवधिमा सरकारले हेटौँडा–काठमाडौं सञ्चालनमा रहेको रोपवेको विकल्पका रूपमा पोडवे पूर्वाधार विकास गर्ने अवधारणासमेत अघि सारेको थियो । सार्वजनिक–निजी साझेदारी, विदेशी लगानी र प्राविधिक सहकार्यका माध्यमबाट नेपालमा यस्तो प्रविधि विकास गर्न सकिने सरकारको आकलन थियो । यसैबीच, यातायात व्यवस्था विभागले आर्थिक, पर्यटकीय तथा दुर्गम क्षेत्रको विकासलाई ध्यानमा राख्दै देशभर करिब २ हजार ५५ किलोमिटर लामो पोडवे नेटवर्कको प्रस्तावसमेत अघि सारेको थियो ।
चालु आवमा पनि बजेट कार्यान्वयन अन्योलमा
चालु आर्थिक वर्ष २०८३/८४ मा सरकारले पोडवे तथा सम्बन्धित आयोजनाका लागि ३ करोड ७० लाख ९० हजार रुपैयाँ विनियोजन गरेको छ । प्रति इकाइ ७.३६ का दरले ९० वटा आयोजनाका लागि उक्त बजेट छुट्याइएको उल्लेख छ । चालु आर्थिक वर्षको बजेटमा रेल विभाग खारेज गरी ‘रेल बोर्ड’ गठन गर्ने र सोही बोर्डमार्फत काठमाडौं उपत्यकामा तार तथा कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा आधारित सहरी माइक्रोरेल तथा पोडवेको अध्ययन गर्ने उल्लेख छ । तर, आर्थिक वर्षको पाँच महिना बितिसक्दा पनि अध्ययन तथा कार्यान्वयनको सुरुवाती प्रक्रिया अघि बढ्न सकेको छैन । पोडवेको पूर्वसम्भाव्यता अध्ययनको अन्तिम प्रतिवेदनले परियोजना तीन चरणमा कार्यान्वयन गर्न प्रस्ताव गरेको थियो । पहिलो चरणअन्तर्गत सन् २०२६ देखि २०२८ सम्म विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) र भू–प्राविधिक अध्ययन सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।
त्यसपछि सन् २०२८ देखि २०३० सम्म दोस्रो अर्थात् पाइलट चरणमा वीरगञ्ज–काठमाडौंजस्ता प्रमुख करिडोरमा निर्माण सुरु गर्ने प्रस्ताव गरिएको थियो । सन् २०३१ जनवरीसम्म व्यावसायिक सञ्चालन सुरु गर्ने र सन् २०३९ सम्म राष्ट्रिय नेटवर्क विस्तार गर्ने लक्ष्य प्रतिवेदनमा समेटिएको छ । पोडवे प्रविधि कार्यान्वयनका लागि आवश्यक कानुनी तथा नीतिगत तयारीसमेत अघि बढाइएको छ । नेपालमा चालकविहीन सार्वजनिक यातायात सञ्चालनसम्बन्धी स्पष्ट कानुनी व्यवस्था नहुँदा यसअघि यस्तो प्रविधि भित्र्याउन चुनौती थियो । सरकारले सार्वजनिक यातायातका वैकल्पिक माध्यम खोज्ने क्रममा पोडवेलाई सम्भावित यातायात प्रणालीका रूपमा स्वीकार गरेको थियो । राष्ट्रिय यातायात नीति २०८३ ले समेत पोडवे सेवाको आवश्यकतालाई स्वीकार गरेको छ ।
चालु आवको बजेट पनि फ्रिज हुने आशंका
राष्ट्रिय योजना आयोगको योजना बैंकमा समावेश १०५ किलोमिटर लामो पोडवे रुटका सम्बन्धमा तत्कालीन रेल विभागले यातायात व्यवस्थापन विभागलाई पत्राचार गरेको थियो । तर, तीन वर्षदेखि सरकारी तहमा कुनै ठोस प्रगति हुन सकेको छैन । सरकारले बजेट विनियोजन गर्दै आए पनि पोडवे परियोजनाको कार्यान्वयन पूर्ण रूपमा ठप्प रहेको रेलवे बोर्ड (साबिकको रेल विभाग) का सूचना अधिकारी बोध भण्डारी स्वीकार गर्छन् । उनका अनुसार अघिल्ला दुई आर्थिक वर्षमा विनियोजित बजेट खर्च हुन नसकेर फ्रिज भएको थियो भने चालु आर्थिक वर्षमा पनि परियोजनाको काम अघि बढ्न सकेको छैन । “चालु आर्थिक वर्षमा पनि पोडवेका लागि छुट्याइएको बजेट फ्रिज हुने संकेत देखिएको छ । नेपाल रेलवे बोर्डलाई समेत बजेट प्राप्त नभएकाले पोडवे लगायतका नयाँ कार्यक्रम अघि बढेका छैनन्,” भण्डारीले भने । रेलवे विभाग खारेज भएपछि बोर्डको संरचनागत अन्योल र बजेट निकासा नहुँदा पोडवेजस्ता नवीन प्रविधिमा आधारित आयोजना अलपत्र परेको उनको भनाइ छ । उनका अनुसार बोर्डमा कार्यरत कर्मचारीले गत साउनदेखि हालसम्म करिब चार–पाँच महिनाको तलब तथा सेवा सुविधा पाउन सकेका छैनन् । सांगठनिक दायित्व हस्तान्तरणको प्रक्रिया टुंगोमा नपुगेका कारण कर्मचारीको सेवा सुविधा रोकिएको हो । यस्तो अवस्थामा बोर्डमार्फत सञ्चालन हुने नयाँ परियोजना अघि बढ्न नसकेको उनले बताए ।
संघीय सरकारको ढिलाइपछि कोसीमा निजी लगानीको पहल
संघीय सरकारले बजेट विनियोजन गरेर पनि परियोजना अघि बढाउन नसकिरहेका बेला निजी क्षेत्रले भने कोसी प्रदेशमा पोडवे निर्माणको प्रक्रिया अगाडि बढाएको छ । काठमाडौं पोडवे कम्पनीले कोसी प्रदेश लगानी प्राधिकरणबाट अनुमति लिएर विराटनगर क्षेत्रमा निजी लगानीमा पोडवे परियोजना अघि बढाउने तयारी गरेको कम्पनीका उपाध्यक्ष नील भट्टराईले जानकारी दिए । गत जेठ २९ गते कोसी प्रदेश लगानी प्राधिकरणको ३३औँ बैठकले रानी विराटनगरदेखि विराटनगर बसपार्कसम्मको राजमार्ग क्षेत्रमा पोडवे परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) गर्न काठमाडौं पोडवे कम्पनी प्रालिसँग समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गर्ने निर्णय गरेको थियो । सार्वजनिक–निजी सहकारी साझेदारी तथा लगानी प्राधिकरण ऐन, २०७६ र नियमावली, २०७७ बमोजिम उक्त सम्झौताको प्रक्रिया अघि बढाइएको हो ।
कम्पनीका उपाध्यक्ष भट्टराईका अनुसार कोसी प्रदेशमा कम्पनीले पहिलो नमुना परियोजना अघि बढाउने प्रक्रिया औपचारिक रूपमा सुरु गरिसकेको छ । प्रारम्भिक चरणका आवश्यक प्राविधिक तथा व्यावहारिक अध्ययन पूरा गरेर कम्पनीले प्रदेश लगानी प्राधिकरणमा बैंक ग्यारेन्टीसमेत बुझाइसकेको छ । अहिले विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने काम अघि बढाइएको छ । करिब ६ देखि ७ किलोमिटर दूरीमा सञ्चालन हुने प्रस्तावित परियोजना कोसी प्रदेशको पहिलो पोडवे पाइलट परियोजना हुनेछ । यसका लागि आवश्यक जियोटेक्निकल सर्भे, टोपोग्राफिकल सर्भे तथा ट्राफिक अध्ययन सम्पन्न भइसकेको भट्टराईले बताए । “निजी लगानीमा निर्माण गर्ने लक्ष्यसहित अघि बढाइएको यस आयोजनाका लागि आवश्यक प्राविधिक अध्ययन सम्पन्न गरेका छौँ । माटो तथा भौगर्भिक अवस्था, धरातलीय स्वरूप र यातायात चापको मूल्यांकन गर्दै सम्भाव्यता अध्ययनलाई अघि बढाइएको छ,” उनले भने ।
कम्पनीले लगानी प्राधिकरणमा बैंक ग्यारेन्टी दाखिला गरिसकेको र आगामी ६ महिनाभित्र डीपीआर बुझाउने लक्ष्यसहित कामलाई तीव्रता दिएको भट्टराईको भनाइ छ । नियामकीय तथा कानुनी प्रक्रिया पूरा गर्दै परियोजनालाई निर्माणको चरणमा लैजाने कम्पनीको तयारी छ ।
भारतमा पनि सरकारी प्राथमिकतामा पोडवे
नेपालमा सरकारी तहबाट पोडवे परियोजना अघि बढ्न नसकिरहेका बेला छिमेकी भारतमा भने यो प्रविधिलाई वैकल्पिक सहरी यातायात प्रणालीका रूपमा प्राथमिकता दिन थालिएको छ । कम्पनीका उपाध्यक्ष भट्टराईका अनुसार भारतको कर्णाटक राज्य सरकारले सरकारी बजेटबाटै पोडवेको नमुना परियोजना निर्माण गरी प्रविधि हस्तान्तरणमार्फत राज्यभर विस्तार गर्ने योजना अघि सारेको छ । उनका अनुसार उक्त योजनाअन्तर्गत गत नोभेम्बर २ मा प्रविधि प्रदायक कम्पनीको स्वीकृतिसहित सम्बन्धित टेन्डर प्रक्रिया पनि स्वीकृत भई काम अघि बढिसकेको छ । भारतका केन्द्रीय सडक यातायात तथा राजमार्गमन्त्री नितिन गडकरीले समेत आधुनिक प्रविधिको प्रयोग र वैकल्पिक सहरी यातायात प्रणालीका रूपमा पोडवे विस्तार गर्न पहल गरिरहेको उनले बताए ।
दक्षिण एसियामा आधुनिक, सुरक्षित तथा वातावरणमैत्री यातायात पूर्वाधारको विकल्पका रूपमा पोडवे प्रविधि विकास भइरहेका बेला कोसी प्रदेशमा निजी क्षेत्रको लगानीमार्फत यसको सुरुवात हुनुलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ । संघीय सरकारले वैदेशिक दातृ निकायको ऋणमा सञ्चालित आयोजनालाई प्राथमिकता दिने तर स्वदेशी प्रविधि र निजी लगानीका परियोजनालाई पर्याप्त ध्यान नदिने गरेको भट्टराईको गुनासो छ । उनका अनुसार प्रारम्भिक प्राविधिक अध्ययन, बैंक ग्यारेन्टी र डीपीआर निर्माणको प्रक्रिया पूरा भएपछि कोसीको परियोजनाले निर्माणतर्फको बाटो समात्न सक्नेछ ।
के हो पोडवे प्रविधि ?
पोडवे अर्थात् पर्सनल र्यापिड ट्रान्जिट (पीआरटी) विश्वका विभिन्न मुलुकमा परीक्षण तथा प्रयोग भइरहेको आधुनिक विद्युतीय सार्वजनिक यातायात प्रणाली हो । यो परम्परागत रोपवे वा केबलकारभन्दा फरक प्रविधि हो । यसमा विशेष संरचनामा निर्माण गरिएको लिकमा साना यातायात यन्त्र गुड्ने व्यवस्था हुन्छ । कृत्रिम बौद्धिकता (एआई) लगायतका प्रविधिको सहायताले सञ्चालन हुने यस प्रणालीमा चालकविहीन यातायातको अवधारणा प्रयोग गरिन्छ । पोडवेले सडक यातायातलाई पूर्ण रूपमा विस्थापित गर्ने नभई बस सेवा, सम्भावित मेट्रो तथा रेल, रोपवे, साइकल लेन र पैदलमार्गसँग एकीकृत भएर सार्वजनिक यातायात प्रणालीलाई थप व्यवस्थित बनाउने पूरक माध्यमका रूपमा काम गर्ने अवधारणा छ ।
यातायात व्यवस्थापन विभागको अध्ययनअनुसार नेपालभर करिब २ हजार १०० किलोमिटर क्षेत्रमा पोडवे सञ्चालनको सम्भाव्यता देखिएको छ । नेपालको भौगोलिक बनावट, विशेषगरी पहाडी क्षेत्रमा ठूला रेलमार्ग निर्माण गर्न ठूलो लगानी र लामो समय लाग्ने भएकाले पोडवे तुलनात्मक रूपमा कम लागतमा विकास गर्न सकिने विकल्प हुन सक्ने विभागको भनाइ छ । तर, सरकारी बजेट विनियोजन भएर पनि कार्यान्वयन हुन नसकेको अवस्थामा कोसी प्रदेशमा निजी क्षेत्रबाट अघि बढाइएको करिब ७ किलोमिटरको नमुना परियोजनाले कस्तो परिणाम दिन्छ भन्ने विषयले अब पोडवे प्रविधिको नेपालमा भविष्य निर्धारण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने देखिन्छ ।

