विराटनग,१२ मंसिर । गृहमन्त्री सुधन गुरुङले विराटनगरमा राति अबेरसम्म स्कुटर चढेर नेपाल–भारत सीमा क्षेत्रदेखि कोसी अस्पतालको खाली गराइएको जग्गासम्मको आकस्मिक स्थलगत निरीक्षण गरेका छन् । शुक्रबार (मंसिर ११) साँझ विराटनगर आइपुगेका उनले सुरक्षा अधिकारीहरूसहित राति नै विभिन्न संवेदनशील क्षेत्रको अवलोकन गरेका हुन् ।
शुक्रबार दिउँसो विवाहको ‘इन्गेजमेन्ट’ कार्यक्रम सकेर विराटनगर आएका गृहमन्त्री गुरुङ साँझ करिब ७ बजे विराटनगर विमानस्थलमा ओर्लिएका थिए । उनलाई मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले विमानस्थलमा स्वागत गरेका थिए । विमानस्थलबाट सिधै कोसी प्रदेश प्रहरी कार्यालय पुगेका गृहमन्त्री गुरुङले त्यहाँ सुरक्षा निकायका प्रमुख तथा अधिकारीहरूसँग राति अबेरसम्म छलफल गरेका थिए । छलफलसँगै उनले सुरक्षा अधिकारीहरूसँग खाना समेत खाएका थिए ।
त्यसपछि गृहमन्त्री गुरुङले ‘रानी क्षेत्रतिर जाऊँ’ भन्दै आफैँ स्कुटर चढेर निरीक्षणका लागि निस्किएका थिए । उनी स्कुटरमा अघि बढेपछि प्रदेश प्रहरी प्रमुख एवं डीआईजी शेखर खनाल, सशस्त्र प्रहरी बलका डीआईजी, मोरङका प्रहरी प्रमुख (एसपी) लगायतको उच्च सुरक्षा टोली पछिपछि लागेको थियो । गृहमन्त्रीसहितको टोलीले राति नै नेपाल–भारत सीमा क्षेत्र तथा विराटनगरस्थित जोगवनी नाकाको स्थलगत अवलोकन गरेको थियो । सीमा क्षेत्रको अवस्थाबारे जानकारी लिँदै निरीक्षण गरेका उनी त्यसपछि विराटनगर बजारतर्फ फर्किएका थिए । सीमा क्षेत्रको निरीक्षणपछि मध्यराति गृहमन्त्री गुरुङले कोसी अस्पतालको अतिक्रमित जग्गाको समेत अवलोकन गरेका थिए । उक्त जग्गा करिब दुई महिनाअघि मात्र खाली गराइएको थियो । खाली गराइएको जग्गाको अवस्था र पछिल्लो परिस्थितिबारे उनले स्थलगत निरीक्षण गरेका हुन् ।
गृहमन्त्री गुरुङसहित उच्च सुरक्षा अधिकारीहरूको टोलीले राति अबेरसम्म सीमा क्षेत्रदेखि कोसी अस्पतालसम्म आकस्मिक निरीक्षण गरेपछि यो विषय अहिले विराटनगरमा चर्चाको केन्द्र बनेको छ । विशेषगरी आफैँ स्कुटर चढेर सुरक्षा अधिकारीहरूको टोलीसहित निरीक्षणमा निस्किएको घटनाले स्थानीयस्तरमा चासो बढाएको छ । गुरुङ समुदायको संस्था ‘तमु छोंज धिं’को राष्ट्रिय परिषद् भेलामा सहभागी हुन गृहमन्त्री गुरुङ विराटनगर आएका हुन् । सोही कार्यक्रमका लागि विराटनगर पुगेका उनले उपलब्ध समयको सदुपयोग गर्दै राति नै सीमा नाका र कोसी अस्पतालको जग्गासम्म पुगेर निरीक्षण गरेका थिए । शनिबार (मंसिर १२) बिहान करिब ९ बजे गृहमन्त्री गुरुङ विराटनगरबाट सुनसरीको धरानतर्फ प्रस्थान गरेका छन् । धरानमा उनी कुन कार्यक्रम वा भेटघाटमा सहभागी हुने भन्ने विषय भने खुलाइएको छैन । धरानपछि उनी इटहरी पुग्ने कार्यतालिका रहेको छ ।
प्रहरीका अनुसार इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा बिहान ११ बजे तमु धोंज धि जिल्ला कार्यसमितिको सहयोगमा आयोजना गरिएको राष्ट्रिय परिषद् भेलाको उद्घाटन गर्ने कार्यक्रम छ । उक्त भेलाको उद्घाटनपछि गृहमन्त्री गुरुङ पुनः विराटनगर फर्कने कार्यक्रम रहेको छ ।

