13.1 C
Birgunj
spot_img

नयाँ पर्यटकीय हबको रूपमा उदीर्‍दै बाँदर कुद्ने भिर

तनहुँ,२३ जेष्ठ । हेर्दा डरलाग्दो पहरा। त्यही पहराका ढुङ्गामा कुदिएका आकर्षक मूर्तिले मानिसको मनलाई छिनभरमै आकर्षित गराइदिन्छ। यो दृश्य पृथ्वीराजमार्गको मुग्लिन–आँबुखैरेनी खण्डमा पर्ने ऐनापहराको हो। बाँदर कुद्ने उक्त पहरा अहिले पर्यटकको रोजाइ बन्ने गरेको छ।

आँबुखैरेनी गाउँपालिका–२ र ४ को सिमानामा रहेको प्राकृतिक पहरा क्षेत्रमा पार्क बनाएर पर्यटकलाई भुलाउने र मनोरञ्जन प्रदान गर्ने जमर्को गाउँपालिकाले गरेको छ । साथै पर्यटकलाई आकर्षण गर्दै आन्तरिक स्रोतको बलियो माध्यम गाउँपालिकाले बनाउँदै आएको छ । यही राजमार्ग भएर पोखरा, चितवन र काठमाडौँलगायत सहर जान दैनिक सयौँ सवारी साधन गुड्ने गर्दछन्। यहाँको मनमोहक पानीको छहराले मनै शीतल बनाउनुका साथै रमणीय प्राकृतिक दृश्य र आकर्षक किसिमले कुँदिएका मूर्तिले जोकोहीलाई सजिलै आकर्षण गर्ने गर्दछ।

गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा रु डेढ करोड बढी लगानी गरी भौतिक संरचना निर्माण गरेर पर्यटन प्रवर्द्धनको काम सुरुआत गरेपछि अहिले आम्दानीको स्रोत बन्ने गरेको छ। पहराको ढुङ्गामा कुँदेर सुन्दर परीको मूर्ति, हात्तीको सूँड, आमा र बच्चाको मूर्ति निर्माण गरिएको छ भने पहरामाथिबाट खस्ने पानीको छहराले पर्यटकलाई छुट्टै आनन्द दिलाउँछ। गाउँपालिकाले आर्थिक वर्षको २०८१/८२ साउनदेखि वैशाखसम्म रु ४२ लाख आम्दानी गरिसकेको छ । गाउँपालिकाले वातावरण शुल्कबापत प्रवेश शुल्कमा स्थानीयलाई रु ५० र बाह्य पर्यटकलाई रु १०० शुल्क कायम गरेको छ ।

अन्य दिनको तुलनामा बिदाका दिनमा पर्यटकको बाक्लो भीड लाग्ने गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए। सोही पार्कभित्र ऐनापहरा रेष्टुरेराँ होटल सञ्चालनमा रहेको छ। गाउँपालिकाले बोलपत्रमार्फत मासिक रु ४६ हजार ५०० मा भाडामा लगाएको छ। गत शनिबार एक हजारको हाराहारीमा आन्तरिक पर्यटक भित्रिँदा एकै दिनमा रु ४६ हजार ३०० रकम संकलन भएको थियो। उनले भने, ‘उक्त रकम अहिलेसम्मकै धेरै रकम संकलन भएको हो, अन्य दिनमा कम्तीमा रु ८-१० हजार टिकट बिक्रीबाट आम्दानी हुने गरेको छ।’

आगामी वर्ष वार्षिक रु एक करोडसम्म आम्दानी गर्ने अपेक्षा गाउँपालिकाले लिएको छ। उनले भने, ‘पर्यटकलाई अझै आकर्षण गर्न सिसाको पुल र जिपलाइन, स्काइवाकलगायत साहसी खेलका लागि संरचना निर्माण गर्न थालेको छ, अबको १० दिनभित्र सञ्चालनमा ल्याई पर्यटकलाई मनोरञ्जन प्रदान गरिनेछ।’ गाउँपालिकाले पर्यटकीयस्थल परिचाहन गरी मर्स्याङ्दी नदीमा मोटरबोट सञ्चालन गरिसकेको छ। आँदिमूल मन्दिर र समुन्द्री सहतदेखि छिम्केश्वरी माई तथा बुढीमाई मन्दिरको पूर्वाधार र मन्दिर संरक्षण गरी धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्दै आएको छ।पृथ्वीराजमार्ग भएर दैनिक सयौँ सवारी साधन गुड्ने हुँदा पर्यटकलाई आकर्षण गर्न सकिने प्रचुर सम्भावना देखिएकाले यो क्षेत्र पर्यटकीयस्थलका रुपमा विकास गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए। रासस

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here