वीरगंज,१० जेष्ठ । वीरगंजको मेनरोडलाई औपचारिक रूपमा शहरी मार्ग (अर्बन रोड) कायम गर्न माग गर्दै स्थानीय घरधनी तथा व्यवसायीहरूले आइतबार प्रदर्शन गरेका छन् ।
वीरगंज संघर्ष समितिको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले थाल बजाउँदै सरकारको ध्यानाकर्षण गराएका थिए । प्रदर्शनकारीहरूले मेनरोड क्षेत्र परिक्रमा गर्दै घण्टाघरसम्म पुगेर उक्त सडकलाई शहरी मार्गका रूपमा घोषणा गर्न सरकारसँग माग गरेका हुन् । संघर्ष समितिका अनुसार मन्त्रिपरिषद्को निर्णयअनुसार त्रिभुवन राजपथलाई मेनरोडबाट हटाइसकिएको छ । साथै नेपाल सरकारको आधिकारिक वेबसाइट तथा ‘रोड डायरी’मा समेत आवश्यक संशोधन भइसकेको दाबी गर्दै अब मेनरोडलाई औपचारिक रूपमा शहरी मार्ग घोषणा गर्नु अपरिहार्य भएको उनीहरूको भनाइ छ ।
प्रदर्शनमा स्थानीय व्यापारी, घरधनी, सर्वसाधारण, महिला तथा बालबालिकाको समेत उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले मेनरोडलाई शहरी मार्ग कायम गरिए यातायात व्यवस्थापन सहज हुने, व्यापारिक गतिविधि बढ्ने तथा शहरको सौन्दर्यीकरणमा समेत सकारात्मक प्रभाव पर्ने बताएका छन् ।
स्थानीयले सडकको वर्तमान अवस्थाले व्यवसायमा असर पारेको भन्दै दीर्घकालीन समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका थिए । उनीहरूले आवश्यक निर्णय ढिलाइ हुँदा आर्थिक गतिविधि प्रभावित भइरहेको गुनासो समेत व्यक्त गरे ।
वीरगंज युवा तथा व्यापारी सडक पीडित संघर्ष समितिका अध्यक्ष कुन्दन रौनियारले सरकारलाई तत्काल माग सम्बोधन गर्न आग्रह गर्दै अन्यथा थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी दिएका छन् । प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको र माग सम्बोधनका लागि सम्बन्धित निकायलाई दबाब बढाइने संघर्ष समितिले जनाएको छ ।

