कक्रोच जनता पार्टीका संस्थापक अभिजित दिपकेको घर बाहिर भारतीय प्रहरीले सुरक्षा तैनाथ गरेको छ । महाराष्ट्र प्रहरीका अनुसार सम्भावित सुरक्षा जोखिम र धम्कीसम्बन्धी सूचनापछि अभिजितको निवास वरिपरि सुरक्षाकर्मी परिचालन गरिएको हो ।
भारतीय सञ्चारमाध्यमहरूले आइतबार महाराष्ट्र प्रहरीलाई उद्धृत गर्दै अभिजित दिपकेको घर बाहिर प्रहरी तैनाथ गरिएको उल्लेख गरेका छन् । बीबीसीका अनुसार, एक प्रहरी अधिकारीले छत्रपति संभाजीनगरस्थित उनको घर बाहिर सुरक्षाकर्मी परिचालन गरिएको पुष्टि गरेका छन् । 
छत्रपति संभाजीनगरका प्रहरी उपायुक्त पंकज अतुलकरले सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिँदै वरिष्ठ अधिकारीहरूको निर्देशनअनुसार अभिजित दिपकेको घरको सुरक्षा सुनिश्चित गरिएको बताएका छन् ।
‘वरिष्ठ अधिकारीहरूको निर्देशनपछि हामीले उहाँको निवासमा सुरक्षा व्यवस्था मिलाएका छौं,’ उपायुक्त अतुलकरले भने, ‘त्यहाँ एउटा प्रहरी भ्यान र एक अधिकृत पनि खटाइएको छ । शान्ति–सुरक्षा कायम राख्न हामी पूर्ण रूपमा सतर्क छौं ।’
सुरक्षा तैनाथीबीच अभिजित दिपकेले आफूलाई लगातार धम्की आइरहेको दाबी गरेका छन् । उनले सामाजिक सञ्जालमा विभिन्न स्क्रिनसटहरू सार्वजनिक गर्दै आफू र आफ्नो परिवारलाई लक्षित गरी धम्कीपूर्ण सन्देशहरू आएको उल्लेख गरेका छन् ।
उनले फेसबुकमा एउटा भिडियो समेत सेयर गरेका छन्, जसमा एक युवकले उनी र उनको परिवारप्रति अपमानजनक टिप्पणी गरेको देखिएको बताइएको छ ।
यसैबीच, अभिजित दिपकेले ट्विटरमार्फत कक्रोच जनता पार्टीको इन्स्टाग्राम ह्यान्डल पुनः सक्रिय भएको जानकारी पनि दिएका छन् । पछिल्ला घटनापछि उनको सुरक्षालाई लिएर स्थानीय प्रशासन उच्च सतर्कतामा रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

