13.1 C
Birgunj
spot_img

जनकपुरमा स्थायी संरचना निर्माणको माग गर्दै पत्रकार महासंघको ज्ञापन

जनकपुर,१३ जेष्ठ । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले सञ्चार तथा पत्रकारिता क्षेत्र सशक्त बनाउन आवश्यक बजेट र पूर्वाधार सुनिश्चित गर्न माग गर्दै मधेश प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

महासंघका अध्यक्ष श्याम प्रसाद बञ्जाराको नेतृत्वमा गएको पत्रकाहरु टोलीले सोमबार मुख्यमन्त्री सतिशकुमार सिंह, अर्थमन्त्री सुनिलकुमार यादव र भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवलाई ज्ञापनपत्र बुझाएको हो । महासंघले आगामी आर्थिक वर्ष २०८२/८३ का नीति, कार्यक्रम तथा बजेट निर्माणको पूर्वसन्ध्यामा सञ्चार क्षेत्रप्रति प्रदेश सरकारको जिम्मेवारी र सहकार्यको अपेक्षासहित ध्यानाकर्षण गराएको हो ।

महासंघका अध्यक्ष बञ्जाराले स्थायी कार्यालय नहुँदा प्रशासनिक कामकाज र कार्यक्रम सञ्चालनमा समस्या भइरहेको उल्लेख गर्दै जनकपुरधामस्थित गुठी संस्थानसँग जग्गा लिज प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी गराए । भवन निर्माण तत्काल सुरु गर्न आवश्यक बजेट विनियोजन गरिनुपर्ने महासंघको माग छ ।

त्यसैगरी, राजधानी जनकपुरधाम आउने अन्य जिल्लाका पत्रकारहरूलाई आवासको समस्या, कार्यसम्पादनमा असहजता तथा कार्यालय भाडा बोझका कारण कार्यक्रम सञ्चालनमा कठिनाइ भइरहेकाले स्थायी संरचना निर्माणलाई सञ्चार क्षेत्र सबलीकरणको आधार मानेर हेर्न आग्रह गरिएको छ ।

ज्ञापनपत्र प्राप्त गर्दै मुख्यमन्त्री सिंहले पत्रकारिता क्षेत्रको योगदानप्रति सरकार संवेदनशील रहेको बताउँदै आगामी नीति तथा कार्यक्रममा सञ्चार क्षेत्रलाई प्राथमिकतामा राखिने जानकारी दिए । उनले महासंघले उठाएका कल्याणकारी कोष, पत्रकारहरूको दक्षता अभिवृद्धि, जिल्ला शाखा पूर्वाधार र मधेश प्रदेश समितिको भवन निर्माणलगायतका मागलाई बजेटमा समेट्ने प्रतिबद्धता जनाए ।

‘महासंघको भवन निर्माणका लागि यसै आर्थिक वर्षमा बजेट विनियोजन गरिएको थियो,’ मुख्यमन्त्री सिंहले भने, ‘तर आवश्यक जग्गा अभावका कारण खर्च हुन सकेन। अब जग्गा टुंगिएपछि बजेट पूर्णरूपमा व्यवस्थापन गर्छौं।’

ज्ञापनपत्र बुझाउने कार्यक्रममा महासंघका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, केन्द्रीय सदस्य राजेश कर्ण, महासंघ मधेश प्रदेश उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’, सचिव हदिश खुद्दारसहित पत्रकारहरुको सहभागिता थियो ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here