वीरगञ्ज, १२ जेठ बिहिवार । वीरगञ्ज महानगरपालिकाको प्रमुख मेयर मा निर्वाचित राजेशमान सिंहले सपथ ग्रहण गरेसँगै वर्षाैदेखि जीर्ण घण्टाघरदेखि माइस्थानसम्मको सडक मर्मत गर्ने पहिलो निर्णय गरेका छन् । वर्षाैँदेखि मर्मत सम्भार नहुँदा सास्ती खेपीरहेका नगरबासीलाई परिवर्तनको प्रत्याभुती दिलाउन सिंहले बिहिबार सपथ ग्रहण पश्चात पद बहाल गरे लगतै मूख्य सडकलाई मर्मत गर्ने निर्णय गरेका हुन् ।
वीरगञ्जका निवर्तमान मेयर विजयकुमार सरावगीले सडक विभागअन्तर्गत पर्ने उक्त सडक निर्माण गर्न आफ्नो अधिकारक्षेत्र भित्र नरहेको बताउँदै आएका थिए । तर, सपथ लिएकै दिन नवनिर्वाचित मेयर सिंहले उक्त सडकलाई मर्मत गर्ने निर्णय गरेका छन् । त्यसैगरी मेयर सिंहले महानगरभित्र बसोबास गर्ने १० हजार ९ सय २४ घरधुरीको घरेलु मिटर (ग्राहस्थ मिटर) मा हुने मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने प्रयोगकर्ताको न्युनतम शूल्क र इनर्जी शूल्क महानगरले नै भुक्तानी गर्ने निर्णय पनि गरेका छन् ।
पाँच दलीय गठबन्धनले जारी गरेको घोषणा पत्रमा उल्लेख भएबमोजिम बढीमा ३० युनिटसम्म बिजुली खपत गर्ने प्रयोगकर्ताको महशुल महानगरले नै भुक्तानी गर्ने भएको हो । यद्दपी, ३० युनिटभन्दा बढी खपत गर्ने सेवाग्राहीले सम्पूर्ण शूल्क आफै तिनुपर्ने हुन्छ । योजना ३० युनिटसम्म विद्युत खपत गर्ने सेवाग्राहीको लागि मात्र भएको निर्णयमा स्पष्टसँग खुलाईएको छ ।
त्यस्तै महानगरभित्र रहेका ४ सय ७० वटा कृषि मिटर (सिँचाई मिटर) को सम्पूर्ण शूल्क भुक्तानीको दायित्व पनि महानगरले नै लिने सिंहले निर्णय गरेका छन् । कृषकहरुको उत्पादन क्षमता वृद्धि गर्दै उनीहरुलाई प्रतोसाहन गर्न उक्त निर्णय गरिएको सिंहले बताए । घेरलु र कृषि बाहेक व्यवसायिक, मनोरञ्जनात्मक र अन्य प्रायोजनका लागि मिटर लिएकाहरु भने उक्त योजनाबाट लाभान्वित हुने छैनन् ।
सपथ ग्रहण गरेको २४ घण्टाभित्रै परिवर्तनको प्रत्याभुती गराउने सिंहको प्रतिबद्धताअनुरुप नगरबासीले अब विद्युत महशुल र सिँचाई मिटरको शूल्क तिर्न नपर्ने भएको छ । यद्यपी यि सबै निर्णय आगामी श्रावन १ गतेदेखि लागु हुने छ ।