40.2 C
Birgunj
Date
मङ्ल, जेष्ठ १२, २०८३
Tue, May 26, 2026
spot_img

“नारायणी रंगशाला बचाउ अभियान : सरकारको उपेक्षाविरुद्ध बृहत् आन्दोलनको तयारी”

वीरगन्ज, पर्सा

देशको दोस्रो ठूलो खेलकुद संरचना नारायणी रंगशालाको जीर्ण अवस्थालाई लिएर अहिले पुनः एक पटक चासो बढेको छ। खेलकुदको सम्मान, पूर्वाधारको संरक्षण र अधिकारको सुनिश्चितताका लागि खेलकर्मी, प्रशिक्षक र खेलप्रेमीहरू अब आन्दोलनमा उत्रिने तयारीमा छन्।

वि.सं. २०३८ सालमा स्थापना भएको नारायणी रंगशाला कुनै समय वीरगन्ज र आसपासको क्षेत्रका लागि गौरवको विषय थियो। करिब १५,००० देखि १८,००० दर्शक अटाउने क्षमता रहेको यो रंगशाला दशरथ रंगशालापछि नेपालको दोस्रो ठूलो रंगशाला हो। तर, अहिले यसको अवस्था अत्यन्त दयनीय भइसकेको छ। मैदान उपयुक्त छैन, प्यारापिट जीर्ण छ, संरचना काम नलाग्ने अवस्थामा पुगेको छ।

वि.सं. २०७७ मा नारायणी रंगशालाको जीर्णोद्धारका लागि ७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो। तर त्यसपछि कुनै प्रभावकारी काम अगाडि बढ्न सकेन। झन आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले सार्वजनिक गरेको बजेटमा पनि नारायणी रंगशालालाई पूर्ण रूपमा उपेक्षा गरिएको छ।

अर्कोतिर मुलपानी, कीर्तिपुर, मोरङ, कैलाली, रुपन्देही, झापा र सुर्खेतजस्ता स्थानहरूमा रहेका रंगशालाका लागि ठुलो बजेट छुट्याइएको छ। यो निर्णयले वीरगन्जको खेलकुद क्षेत्रमा ठुलो विभेद भएको स्पष्ट देखिन्छ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ, पर्साका अध्यक्ष श्याम पटेलले यस घटनालाई युवाहरूको सम्भावनामाथिको अन्यायको संज्ञा दिएका छन्। उनका अनुसार नारायणी रंगशालाको अस्तित्व जोगाउन र यसको पुनःनिर्माणको माग गर्न अब बृहत् आन्दोलनको आवश्यकता छ। “अब चुप लाग्ने होइन, उठ्ने हो — नारायणी रंगशाला बचाउने हो!” भन्ने नारासहित आन्दोलनको तयारी भइरहेको अध्यक्ष पटेलले जानकारी दिए।

उनले थपे, “पर्साबाट ३ जना संघीय मन्त्री हुँदा पनि रंगशालाको बेवास्ता हुनु अत्यन्त निन्दनीय छ। यो केवल रंगशालाको विषय मात्र होइन, यो समग्र क्षेत्रीय विकास र युवाको भविष्यसँग जोडिएको मुद्दा हो।”

स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले संयुक्तरूपमा यस ऐतिहासिक रंगशालाको संरक्षण र विकासमा चासो नदिएकोप्रति गम्भीर आपत्ति जनाउँदै, आन्दोलनमार्फत दबाब सिर्जना गरिने बताइएको छ।

खेलकुद क्षेत्रको विकासको मेरुदण्डका रूपमा रहेको नारायणी रंगशालाको संरक्षण र जीर्णोद्धार अब समयको माग बनिसकेको छ। यसमा राज्यको गम्भीर ध्यान जानु आवश्यक छ, अन्यथा यसको असर आगामी पुस्ताको खेल जीवनमा गहिरो रूपमा पर्न सक्नेछ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here