चैत ११ बीरगज
पर्साको वीरगञ्ज स्थित माइस्थान मन्दिर परिसरमा गहवामाई तेस्रो डोली यात्राको अवसरमा आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रम समाजसेवाको प्रेरणादायी उदाहरण बनेको छ। मन्दिर सञ्चालन समिति र राउंड टेबल नेपाल को संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा उल्लेखनीय जनसहभागिता देखिएको थियो।
कार्यक्रम अन्तर्गत ८ जना महिला र ५७ जना पुरुष गरी कुल ६५ जनाले स्वेच्छिक रूपमा रक्तदान गरेका छन्। धार्मिक उत्सवलाई सामाजिक सेवासँग जोड्दै गरिएको यस पहलले स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको आयोजकहरूको भनाइ छ।
डोली यात्राको धार्मिक महत्वसँगै मानव जीवन बचाउने अभियानलाई जोडेर गरिएको रक्तदान कार्यक्रमले ‘धर्मसँगै सेवा’ भन्ने सन्देशलाई थप सशक्त बनाएको छ। सहभागीहरूले यस्ता कार्यक्रमले सामाजिक एकता, सहकार्य र मानवताप्रति जिम्मेवारीको भावना बढाउने बताएका छन्।
आयोजकका अनुसार रक्तदान जस्तो पुण्य कार्यले आकस्मिक अवस्थामा रगत अभावका कारण हुने जोखिम न्यूनीकरण गर्न सहयोग पुर्याउने विश्वास लिइएको छ। साथै, भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ।

