वीरगंज,२७ साउन । जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य ओमप्रकाश सरार्फले युवालाई राष्ट्र निर्माणको वर्तमान शक्ति तथा परिवर्तनका प्रमुख संवाहकका रूपमा स्थापित गर्नुपर्ने बताएका छन्।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सरार्फले युवाको ऊर्जा, सिर्जनशीलता, क्षमता र नेतृत्वलाई सही दिशामा परिचालन गर्न सके समृद्ध, समावेशी र आत्मनिर्भर समाज निर्माण गर्न सकिने बताएका हुन्। उनले युवाको क्षमता र सम्भावनालाई राज्यको विकास प्रक्रियासँग जोड्न आवश्यक रहेको उल्लेख गर्दै युवाका लागि अवसर, रोजगारी, उद्यमशीलता, शिक्षा, प्रविधि तथा नेतृत्वमा समान पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।
सरार्फले युवाको सोच, जोश र क्षमतालाई राष्ट्र निर्माणसँग जोड्नु आजको प्रमुख आवश्यकता भएको बताएका छन्। युवालाई केवल भविष्यको नेतृत्वका रूपमा नभई वर्तमान समयमै परिवर्तनका महत्वपूर्ण साझेदारका रूपमा अघि बढाउनुपर्ने उनको धारणा छ। उनले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली युवालाई अन्तर्राष्ट्रिय युवा दिवसको शुभकामना व्यक्त गर्दै ‘युवा शक्ति, समृद्ध भविष्य; सशक्त युवा, समृद्ध समाज, समृद्ध राष्ट्र’ भन्ने अवधारणालाई व्यवहारमा उतार्नुपर्ने बताएका छन्।
सरार्फका अनुसार युवालाई आवश्यक अवसर र जिम्मेवारी प्रदान गर्दै उनीहरूको क्षमता र प्रतिभाको उचित उपयोग गर्न सके मुलुकको सामाजिक तथा आर्थिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुग्न सक्छ। युवाको ऊर्जा र सिर्जनशीलतालाई सकारात्मक तथा उत्पादनशील क्षेत्रमा परिचालन गर्न सके देशमा नयाँ सम्भावनाका ढोका खोल्न सकिने उल्लेख गर्दै उनले युवामैत्री नीति, अवसर र वातावरण निर्माणमा जोड दिएका छन्।
उनले युवाको सहभागिता र नेतृत्वलाई प्राथमिकतामा राख्दै समावेशी तथा आत्मनिर्भर समाज निर्माणतर्फ अघि बढ्नुपर्ने आवश्यकता समेत औंल्याएका छन्।

