25.1 C
Birgunj
Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026
spot_img

जीवन ज्योति माविको पहल : १५ क्रिकेट खेलाडीलाई पोसाक र खेल सामग्री

वीरगंज,२९ असोज । क्रिकेट खेलप्रति विद्यार्थीहरूको आकर्षण बढाउँदै उनीहरूलाई खेल क्षेत्रमा अघि बढ्न प्रोत्साहित गर्ने उद्देश्यले वीरगञ्जस्थित जीवन ज्योति माध्यमिक विद्यालयले १५ जना क्रिकेट खेलाडीलाई खेल सामग्री तथा पोसाक वितरण गरेको छ।

बिहीबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा खेलाडीहरूलाई क्रिकेट खेलका लागि आवश्यक सामग्री र पोसाक प्रदान गरिएको हो। विद्यालयका प्रधानाध्यापक शिव गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंह प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सिंहले क्रिकेट खेल मात्र नभई करियर निर्माणको महत्वपूर्ण माध्यमसमेत बनेको बताए। उनले खेलाडीहरूलाई अनुशासित, मेहनती र प्रतिबद्ध भएर क्रिकेटमा लाग्न आग्रह गर्दै निरन्तर अभ्यास र लगनशीलताले सफलता हासिल गर्न मद्दत गर्ने धारणा राखे।

सिंहले भगवान् गौतम बुद्ध, सगरमाथा र क्रिकेटको बढ्दो लोकप्रियताले नेपालको पहिचान अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न योगदान पुर्‍याइरहेको उल्लेख गरे। नेपाली क्रिकेटप्रति दर्शकहरूको बढ्दो आकर्षण र अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीहरूले देखाएको उत्कृष्ट प्रदर्शनले यस क्षेत्रमा रहेका सम्भावनालाई थप उजागर गरेको उनको भनाइ थियो। जिल्ला स्तरबाट खेल जीवन सुरु गरेका खेलाडीले आफ्नो उत्कृष्ट प्रदर्शनका आधारमा प्रदेश तथा राष्ट्रिय टोलीसम्म पुग्ने अवसर प्राप्त गर्न सक्ने बताउँदै सिंहले प्रतिभा, अनुशासन र निरन्तर मेहनतलाई सफलताको आधारका रूपमा प्रस्तुत गरे। उनले विद्यालय तहदेखि नै नियमित प्रशिक्षण र आवश्यक खेल सामग्रीको व्यवस्था हुनुपर्नेमा समेत जोड दिए।

विद्यालयका प्रधानाध्यापक शिव गुप्ताले खेलाडीहरूलाई अनुशासनमा रहेर खेल्न तथा प्रशिक्षकका सुझाव र निर्देशनलाई आत्मसात् गर्न आग्रह गरे। खेलकुदमा सफलता हासिल गर्न प्रतिभासँगै निरन्तर अभ्यास, धैर्य, मेहनत र अनुशासन पनि उत्तिकै आवश्यक हुने उनले बताए।

विद्यालयले उपलब्ध गराएको खेल सामग्री तथा पोसाकले खेलाडीहरूको प्रदर्शनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै गुप्ताले आगामी दिनमा विद्यालयका क्रिकेट खेलाडीहरूले उत्कृष्ट नतिजा हासिल गर्ने अपेक्षा गरे। उनले खेलाडीहरूको क्षमता विकास र विद्यालयमा खेलकुद गतिविधिको प्रवर्द्धनका लागि आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने बताए।

कार्यक्रममा क्रिकेटको केन्द्रीय छनोट समितिका सदस्य मुर्तुजा हावरी, राष्ट्रिय अम्पायर सतीश सिंह राजपूत, विद्यालयकी निर्देशक मीनाक्षी गुप्ता, व्यवस्थापकीय जिम्मेवारी सम्हालिरहेकी कामाक्षी गुप्ता, शिक्षक लालबाबु यादव, क्रियाशील युवा पत्रकार मञ्च नेपालका अध्यक्ष आनन्द पटेल, पत्रकार दिपु वर्णवाल, क्रिकेटका मुख्य प्रशिक्षक प्रदीप तिवारी तथा टोलीका कप्तान सागर यादवलगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन उज्ज्वल घिमिरेले गरेका थिए।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here