26.8 C
Birgunj
Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026
spot_img

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा

वीरगंज,१२ साउन । वीरगंजस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र अस्पताल परिसरभित्र भएको तोडफोडको घटनापछि ६८ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। कार्यस्थलमा सुरक्षाको ग्यारेन्टी नभएको भन्दै चिकित्सकहरूले आन्दोलनलाई थप कडा बनाउँदै आकस्मिक सेवासमेत बन्द गरेका छन्।

गत शनिबार एक बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तहरूले नारायणी अस्पतालको आकस्मिक कक्षमा तोडफोड गरेका थिए। सोही क्रममा ड्युटीमा खटिएका चिकित्सक डा. प्रमोद राममाथि समेत कुटपिट भएको थियो। घटनापछि चिकित्सकहरूले दोषीमाथि तत्काल कानुनी कारबाही, स्वास्थ्यकर्मीको सुरक्षा र पेशागत सम्मानको सुनिश्चितताको माग गर्दै आन्दोलन सुरु गरेका थिए। चिकित्सकहरूका अनुसार घटनाबारे छलफल गर्न सोमबार जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले त्यहाँ पनि दुर्व्यवहार र अपमानजनक व्यवहारको सामना गर्नुपरेको थियो। प्रशासनबाट समेत उचित सुरक्षा र सम्मानको प्रत्याभूति नभएको भन्दै चिकित्सकहरूले तत्काल सेवा सञ्चालन गर्न नसकिने निष्कर्ष निकालेका हुन्।

नारायणी अस्पतालका चिकित्सक डा. उदय नारायण सिंहका अनुसार स्वास्थ्य मन्त्रालयको आग्रहपछि चिकित्सक टोली वार्ताका लागि सहभागी भएको थियो। तर, जिल्ला प्रशासन कार्यालयमा भएको छलफल तनावपूर्ण बनेको उनले बताए। उनका अनुसार चिकित्सक संघका प्रतिनिधिले घटनामा संलग्न दोषीमाथि कारबाही नभए प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखको समेत राजीनामा माग गर्न सकिने धारणा राखेपछि वार्ताको वातावरण बिग्रिएको थियो। डा. सिंहले वार्तापछि प्रशासन कार्यालयबाट बाहिरिने क्रममा प्रहरीले चिकित्सकहरूलाई घेरा हालेको, मोबाइल फोनसमेत खोसेको, पुनः प्रशासन कार्यालयभित्र लगेर करिब एक घण्टासम्म नियन्त्रणमा राखेको आरोप लगाए। उनले चिकित्सकहरूमाथि अपराधीसरह व्यवहार गरिएको दाबी गरेका छन्।

यसपछि अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलाई बुझाइएको सामूहिक राजीनामापत्रमा सुरक्षा प्रत्याभूति बिना स्वास्थ्य सेवा प्रदान गर्न असम्भव भएको उल्लेख गरिएको छ। चिकित्सकहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि तत्काल कानुनी कारबाही, स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चितता तथा घटनामा जिम्मेवार प्रशासनिक नेतृत्वमाथि आवश्यक कारबाही गर्न सरकारसँग माग गरेका छन्।

यसैबीच, नेपाल चिकित्सक संघले देशभर ओपीडी सेवा बन्द गर्ने निर्णय गरेपछि अस्पतालमा उपचारका लागि पुग्ने बिरामीहरू प्रत्यक्ष प्रभावित भएका छन्। स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा चिकित्सकको सुरक्षा र सेवा निरन्तरताको विषयलाई लिएर विवाद थप चर्किएको छ। नारायणी अस्पतालका चिकित्सकहरूले आफूहरूको माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने संकेत दिएका छन्।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here