33.9 C
Birgunj
Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
spot_img

साउथजोन विद्यालयमा विद्यार्थी परिषद्का पदाधिकारीको सपथ ग्रहण, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगंज,०९ असार । वीरगंज महानगरपालिका–१३ राधेमाईस्थित साउथजोन माध्यमिक विद्यालयमा नवनिर्वाचित विद्यार्थी कल्याण परिषद्का पदाधिकारीहरूको सपथ ग्रहण तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

मंगलबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि वीरगंज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले विद्यार्थी कल्याण परिषद्मा निर्वाचित हेड ब्वाय, हेड गर्ल, हाउस क्याप्टेन तथा प्रिफेक्टहरूलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लामिछानेले विद्यालयस्तरमै लोकतान्त्रिक अभ्यास गराइनु सकारात्मक पक्ष भएको बताउँदै यस्ता गतिविधिले विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध तथा निर्णय क्षमता विकास गर्न सहयोग पुग्ने बताए। उनले अनुशासन, इमानदारी र जिम्मेवारीका साथ आफ्नो भूमिका निर्वाह गर्न नवनिर्वाचित पदाधिकारीहरूलाई आग्रह गरे।

विद्यालयका संस्थापक प्रधानाध्यापक सरोज चौधरीले विद्यार्थी कल्याण परिषद्को निर्वाचन विद्यालयमै अध्ययनरत दुई विद्यार्थीले निर्माण गरेको विद्युतीय मतदान मेसिनमार्फत सम्पन्न गरिएको जानकारी दिए। आधुनिक प्रविधिको प्रयोग गर्दै विद्यालयमा लोकतान्त्रिक अभ्यास गराउन पाएकोमा गर्व महसुस भएको उनले बताए।

“विद्यार्थीहरूलाई पाठ्यपुस्तकको ज्ञानसँगै नेतृत्व, जिम्मेवारी र लोकतान्त्रिक मूल्य–मान्यताको व्यवहारिक अनुभव दिलाउने उद्देश्यले विद्यालयले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ,” चौधरीले भने। उनकै अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्याब्सनका वरिष्ठ सल्लाहकार प्रकाश उपाध्याय, केन्द्रीय सदस्य छुडुप लामा लगायतले नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

यसै अवसरमा गत शैक्षिक सत्रमा उत्कृष्ट नतिजा हासिल गर्दै प्रथम, द्वितीय तथा तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको थियो। कार्यक्रममा वडा नं. १३ का वडा अध्यक्ष हिरा गिरी, प्रेस सेन्टर नेपाल मधेश प्रदेशका अध्यक्ष नीरज पिठाकोटे, समाजवादी प्रेस संगठन मधेश प्रदेशका अध्यक्ष मनोज पटेल, प्याब्सन मधेश प्रदेश उपाध्यक्ष इमामुद्दीन अहमद, प्याब्सन पर्साकी वरिष्ठ उपाध्यक्ष सुशीला साह, महानगर अध्यक्ष राहुल श्रीवास्तव, सचिव अमित आलोक, विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

विद्यालय परिसरमा आयोजित कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रिन्सिपल अशोक संग्रौलाले गरेका थिए।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here