31.6 C
Birgunj
Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026
spot_img

डीजे आतंकविरुद्ध मधेस सरकार सक्रिय, आठ जिल्लामा नियन्त्रण अभियान चलाइने

जनकपुरधाम,१७ जेष्ठ । मधेस प्रदेश सरकारले सार्वजनिक स्थलमा बढ्दो डीजे आतंक तथा ध्वनि प्रदूषण नियन्त्रण गर्न कडा कदम चाल्ने निर्णय गरेको छ। गृह, सञ्चार तथा कानुन मन्त्रालयमा सम्पन्न बैठकले प्रदेशका आठवटै जिल्लामा अत्यधिक आवाज निकाल्ने डीजे तथा अन्य ध्वनि उपकरणको प्रयोग नियन्त्रण गर्न सुरक्षा निकायसँग समन्वय गरी स्थानीय तहलाई आवश्यक पहल गर्न आग्रह गर्ने निर्णय गरेको हो।

मधेस प्रदेशका गृहमन्त्री फकिरा महतोको अध्यक्षतामा बसेको बैठकले ध्वनि प्रदूषण नियन्त्रणलाई प्राथमिकतामा राख्दै आवश्यक कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। मन्त्री महतोले यस सम्बन्धमा प्रहरी प्रशासनलाई आवश्यक निर्देशन दिइसकिएको जानकारी दिए।

बैठकले मधेस भवनको सुरक्षा व्यवस्थापन, कर्मचारी आवास क्षेत्रको अनुगमन, गुठी जग्गा संरक्षण, फुटपाथ अतिक्रमण नियन्त्रण तथा जनकपुरधाम परिक्रमा क्षेत्रमा मदिरा बिक्री–वितरण नियन्त्रणलगायत विषयमा पनि महत्वपूर्ण निर्णय गरेको छ।

निर्णयअनुसार मधेस भवन परिसरको सुरक्षा अवस्थाको विस्तृत अध्ययन गरी ‘सुरक्षा मानक सञ्चालन कार्यविधि’ तयार गर्न १५ दिनभित्र समिति गठन गरिनेछ। साथै, मधेस भवनको दैनिक सरसफाइ तथा व्यवस्थापनको जिम्मेवारी कार्यविभाजनअनुसार ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयलाई दिइने र यसको नियमित अनुगमन गरिने व्यवस्था मिलाइने भएको छ।

त्यसैगरी, मधेस भवनभित्र रहेको कर्मचारी आवास क्षेत्रमा बसोबास गरिरहेका अनाधिकृत व्यक्तिहरूको पहिचान गरी कानुनी प्रक्रिया पूरा गर्दै तोकिएको समयसीमाभित्र आवास खाली गराइने निर्णय गरिएको छ। यस कार्यका लागि गृह, सञ्चार तथा कानुन मन्त्रालयअन्तर्गत जिन्सी शाखा प्रमुखको संयोजकत्वमा सुरक्षा निकायसँग समन्वय गर्ने जिम्मेवारी तोकिएको छ।

बैठकले गुठी जग्गाको अभिलेख अद्यावधिक गर्ने, अतिक्रमण भएका जग्गा फेला परे कानुनी कारबाही अघि बढाउने तथा दीर्घकालीन संरक्षण र व्यवस्थापनका लागि गुठी संस्थान शाखा कार्यालय जनकपुरलाई स्पष्ट कार्ययोजना तयार गर्न निर्देशन दिने निर्णय पनि गरेको छ।

यस्तै, स्थानीय तहले बजार व्यवस्थापन, फुटपाथ व्यवस्थापन तथा अतिक्रमण हटाउने अभियान सञ्चालन गर्दा सुरक्षा निकायको सहयोग मागे आवश्यक सहयोग उपलब्ध गराउने निर्णय समेत गरिएको मन्त्रालयले जनाएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here