33.1 C
Birgunj
Date
बिहि, बैशाख २४, २०८३
Thu, May 7, 2026
spot_img

सिमरा सेजमा औद्योगिक उछाल, भाडा घटेपछि उत्पादन सुरु र नयाँ उद्योग विस्तार

वीरगंज,२३ बैशाख । सिमरामा रहेको विशेष आर्थिक क्षेत्र (सेज) हाल औद्योगिक गतिविधिको प्रमुख केन्द्रका रूपमा तीव्र गतिमा अघि बढिरहेको छ। सरकारले सेजको अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै जग्गा भाडामा उल्लेखनीय सहुलियत प्रदान गरेपछि यहाँ उद्योग स्थापना, निर्माण तथा लगानीमा स्पष्ट वृद्धि देखिएको हो।

विशेष आर्थिक क्षेत्र प्राधिकरणअन्तर्गत कुल ८३३ बिघा क्षेत्रफलमध्ये हाल ३४३ बिघा जमिन रहेको ‘ए’ ब्लकमा उद्योग सञ्चालन र निर्माण कार्य अत्यधिक सक्रिय बनेको छ। यस क्षेत्रमा हाल आधा दर्जनभन्दा बढी उद्योगले उत्पादन सुरु गरिसकेका छन् भने करिब एक दर्जनभन्दा बढी उद्योग निर्माणको चरणमा रहेका छन्।

सेज प्रमुख पप्पु गिरीका अनुसार हाल ‘सेज परिसरभित्र आधा दर्जन उद्योगले उत्पादन सुरु गरिसकेका छन् भने एक दर्जनभन्दा बढी उद्योग निर्माणाधीन अवस्थामा छन्।’ सञ्चालनमा रहेका उद्योगहरूमा पशुपति सेरामिक्स प्रालिले टायल तथा सेरामिक्स सामग्री उत्पादन गर्दै करिब ४५० जनालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी दिएको छ। ब्रिलियन्ट शुज प्रालिले जुत्ता–चप्पल उत्पादन गरिरहेको छ भने बालाजी म्यानुफ्याक्चरिङले पंखा र चुलोजस्ता सामग्री उत्पादन गर्दै आएको छ। नेपाल एग्रो टुल्सले कृषि उपकरण, एसीएम भेहिकल्स (एसियन भेहिकल्स) ले विद्युतीय सवारी साधन तथा बायोकल्प (बायो कम्प) नेपालले आफ्ना उत्पादन बजारमा ल्याइरहेका छन्।

हाल सञ्चालनमा रहेका उद्योगमार्फत करिब ७ सयभन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन्। सेजका सबइन्जिनियर अजयकुमार चौधरीका अनुसार सिमरा सेजमा उद्योगहरूले औसत २ करोडदेखि २ सय करोड रुपैयाँसम्म लगानी गरेका छन्। सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत सेजको जग्गा भाडा प्रतिवर्ग मिटर २० रुपैयाँबाट घटाएर ५ रुपैयाँ कायम गरेपछि नयाँ उद्योग आकर्षित हुने क्रम तीव्र भएको छ। सो सहुलियतका कारण हाल करिब एक दर्जन उद्योग निर्माणको अवस्थामा पुगेका छन्, जसमा आधाभन्दा बढीमा भारतीय, चिनियाँ र दक्षिण कोरियाली लगानीकर्ताको सहभागिता रहेको छ।

निर्माणाधीन उद्योगहरूमा भारतको एजिएल समूह र नेपाली लगानीकर्ताको संयुक्त लगानीमा करिब ५ सय करोड रुपैयाँ लागतको नेपोभिट सेरामिक्स प्रालि रहेको छ, जसले टायल र सेनिटरी सामग्री उत्पादन गर्नेछ। दक्षिण कोरियाली लगानीमा केमेक्स हिमालयनले श्रृङ्गार सामग्री उत्पादन गर्नेछ भने नेपाली–भारतीय संयुक्त लगानीमा रेम्बो ग्रेनाइट र इन्डो एग्रो (पाम तेल उत्पादन) निर्माणाधीन अवस्थामा छन्।

त्यस्तै पूर्ण रूपमा भारतीय लगानीमा ओमकार ग्रेनाइट निर्माण भइरहेको छ भने चिनियाँ लगानीमा ग्याङ उइङ बायो टेक्नोलोजीले औषधिजन्य कच्चा पदार्थ उत्पादन गर्ने योजना बनाएको छ। नेपाली–चिनियाँ संयुक्त लगानीमा ला डी कर प्रालिले आल्मुनियम उत्पादन गर्ने तयारी गरेको छ। भारतीय लगानीमा ओम मेगा श्री प्रालिले डाइपर र सेनिटरी प्याड, हुलास समूहको हुलास केवलले तार, ‘मा तारा प्रालि’ ले मसला तथा एभरेष्ट फेसन प्रालिले हस्तकलाका निर्यातमुखी सामग्री उत्पादनका लागि पूर्वाधार निर्माण गरिरहेका छन्। 

यी सबै उद्योग पूर्ण रूपमा सञ्चालनमा आएपछि थप करिब १ हजार जनालाई पूर्णकालीन रोजगारी उपलब्ध हुने अनुमान गरिएको छ। सेज संरचनागत रूपमा पनि विस्तारको चरणमा रहेको छ। ‘ए’ ब्लकमा ३४३ बिघा जमिन उपयोगमा आइसकेको छ भने ‘बी’ ब्लकमा १२८ बिघा, ‘सी’ ब्लकमा ४९.५ बिघा, ‘डी’ ब्लकमा १३३ बिघा र ‘ई’ ब्लकमा १७८.५ बिघा क्षेत्रफल रहेको छ, जहाँ भविष्यमा थप उद्योग विस्तार गर्ने योजना छ।

समग्रमा भाडा सहुलियत, स्वदेशी तथा विदेशी लगानीको आकर्षण र पूर्वाधार विस्तारसँगै सिमरा सेज देशको महत्वपूर्ण औद्योगिक केन्द्रका रूपमा विकास हुँदै गएको छ। उत्पादन वृद्धि, रोजगारी सिर्जना र निर्यात प्रवर्द्धनमा यसले आगामी दिनमा अझ ठूलो योगदान दिने अपेक्षा गरिएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here