वीरगन्ज चैत ३१,
वीरगन्जमा भएको विवाद र झडपकालाई समान्य बनाउन पाँच बुँदे सर्वपक्षिय सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा आइतबार तेस्रो चरणको सर्वपक्षीय र सर्वदलीय छलफलबाट साँझ पाँच बुँदे सहमति भएको छ ।
प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद अर्याल तथा सुरक्षा निकायहरुका प्रमुखहरुको उपस्थितिमा भएको छलफलमा वीरगन्जमा हनुमान जन्मोत्सवको अवसरमा शनिबार निकालिएको शोभा यात्राका क्रममा भएको झडपको घटनामा संलग्न दोषीहरुलाई बैशाख ३ गतेभित्र पक्राउ गरी कानुनि कारबाही गर्ने, तथा धार्मिकार्यसम्प्रदायिक सदभाव र सहिष्णुता कायम राख्नका लागि सबै पक्ष पूर्ण प्रतिबद्धमा रही कानूनी कारबाहीको प्रकृयामा सहयोग पुरयाउने सहमतिमा उल्लेख गरिएको छ ।
शनिबारको घटनामा घाइते भएकाहरुको निःशुल्क उपचारको व्यवस्था तथा ,तोडफोड र आगजनीबाट भएको भौतिक क्षतिपुर्तिका लागि प्रशासनले पहल गर्ने, र वीरगन्जमा अब आयोजना हुने धार्मिक एंव सांस्कृतिक सम्बन्धि कुनैपनि जात्रा,पर्व , कार्यक्रममा हातहतियारको प्रयोग तथा प्रदर्शन नगर्ने सहमति भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
साथै वीरगन्जसहित पर्सा जिल्लामा सञ्चालित सबै धर्मका धार्मिक संस्था र ती संस्थाबाट सञ्चालित मदर्सा र विद्यालयहरुमा सुक्ष्म अनुगमन गरि तल माथि देखिएमा कारबाहीको दायरमा ल्याउने लिखित सहमति पनि गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।
उक्त पाँच बुँदे सहमतिपत्रमा उल्लेख पाँचवटै बुदाँप्रति जिल्लाका सबै सकृय राजनीतिक दलहरुका नेता,हिन्दु र मुस्लिम समुदायका अगुवाहरुलेसमेत हस्ताक्षर गरेको अर्यालले बताए ।
प्रजिअ अर्यालले शनिबार बेलुकीदेखि वीरगन्जमा लगाइएको कर्फु भने आइतबार राति १२ बजेसम्म निरन्तर रहने बताए । त्यसपछि सुरक्षाका अवस्था हेरेर मात्र जिल्ला सुरक्षा समितिको बैठकले आवश्यक निर्णय गरिने प्रजिअ अर्यालको भनाइ रहेको थियो ।
उनले भने,‘ राति १२ बजेपछि भने कर्फु हटाएर केहि निश्चित क्षेत्रहरुमा निषेधाज्ञा जारी गर्ने सम्भावना रहेको छ ।’
अर्यालले शनिबारको घटनाको स्थितीलाई नियन्त्रणमा लिने प्रयासमा प्रहरीले १४५ राउण्ड अश्रु ग्यास र दुई राउण्ड हवाइ फायर समेतगरेको जानकारी दिदैं उन्ले घटनामा प्रहरीतर्फ नेपाल प्रहरीका प्रहरी उपरीक्षक,सशस्त्र प्रहरी नायब उपरीक्षकसहित २५ जना र प्रदर्शनकारीतर्फ १५ जना भन्दा बढी घाइते भएको बताए ।
बैठकमा प्रशासन, राजनीतिक दल, धार्मिक प्रतिनिधि, नागरिक समाज र सुरक्षा निकायका प्रतिनिधिहरूले सहभागी भई दोषीमाथि कारबाही, घाइतेको उपचार, धार्मिक सद्भाव कायम राख्ने, हतियार प्रदर्शन निषेध गर्ने र धार्मिक संस्थाहरूको अनुगमन गर्ने जस्ता महत्वपूर्ण निर्णयहरूमा सहमति जनाएका छन्।
बैठकले गरेका ५ मुख्य निर्णयहरु यसप्रकार छ्न :
१.दोषीमाथि कारबाहीः हनुमान जयन्तीका दिन (चैत ३० गते) शोभायात्रामा भएको अप्रिय घटनामा संलग्न दोषीहरूको पहिचान गरी कानुनी प्रक्रिया अनुसार आवश्यक कारबाही गरिने।
२.सद्भाव र सहिष्णुता कायमः सबै पक्षले आपसी धार्मिक र साम्प्रदायिक सद्भाव कायम राख्ने प्रतिबद्धता जनाएका छन्। साथै, अनुसन्धान तथा कानुनी प्रक्रियामा पूर्ण सहयोग पुर्याइनेछ।
३. घाइतेको उपचार र क्षतिपूर्तिः घटनामा घाइते भएका व्यक्तिहरूको निःशुल्क उपचारको व्यवस्था गरिनेछ। साथै, घटनाबाट भएको क्षतिको क्षतिपूर्तिका लागि प्रशासनले पहल गर्नेछ।
४. हतियार प्रदर्शन निषेधः धार्मिक, सांस्कृतिक र जातीय कार्यक्रममा हतियार प्रदर्शन पूर्णतः निषेध गरिएको छ। यस्ता कार्य भएमा दोषीलाई कानुनी दायरामा ल्याइनेछ।
पर्सा जिल्लामा : धार्मिक संस्थाको अनुगमन जिल्लामा क्रियाशील सबै धार्मिक संस्था तथा तिनीहरूले सञ्चालन गरेका विद्यालय, मदर्सा आदिहरुको सूक्ष्म अनुगमन गरिनेछ। अनियमितता भेटिएमा आवश्यक कारबाही समेत गरिने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।