वीरगंज पर्सा, १३ कात्तिक । हिन्दुहरुको महान पर्व शुभ दिपावली लक्षित वीरगंज महानगरपालिकाले पुनः रात्री बजार संचालनमा आएको छ । विगत लामो समयदेखि व्यापारमा कमि आएको व्यापारिक नगरी वीरगंज बजारको व्यापारलाई चलायमान बनाउने उद्देश्यलय दिपावली लक्षित तीनदिने रात्री बजारको आयोजना गरिएको हो । रात्री बजार मंगलबार, बुधबार र विहीबारसम्म लाग्ने छ ।
वीरगंज महानगरपालिका र ग्रिनसिटि सामुदायिक प्रहरी सेवा केन्द्रले विगतदेखि नै रात्री बजारको आयोजना गर्दै आएकोमा केही दिनदेखि बन्द रहेको अवस्थामा दिपावलीलाई मध्यनजर गर्दै पुनः रात्री बजारको आयोजना गरिएको हो । वीरगंजको व्यापारिक क्षेत्र आदर्शनगर चोकदेखि पुरानो बसपार्कसम्म मंगलबार रातिदेखि ‘रात्रि बजार’ संचालनमा आएको हो ।
मंगलबार धनजयन्तीदेखि बिहीबार लक्ष्मीपूजाको दिनसम्म दिपावली लक्षित रात्रि बजार संचालन गर्न लागिएको ग्रिन सिटि सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतानले जानकारी दिए । ग्रिनसिटि आदर्शनगरको समन्वयमा संचालन गर्न लागिएको रात्री बजारले चाँड पर्वको बेला वीरगंज बजारको व्यापार चलायमान हुने विश्वास लिइएको अध्यक्ष खेतानको भनाई छ ।
रात्री बजारमा खानाका विशेष परिकार, लत्ताकपडा, कस्मेटिक, भाडाँकुडा लगायतका सरसामानका स्टलहरु राखिएका छन् । यसका साथै नेपाली सांस्कृतिक परम्परा झल्कने झाँकीको प्रस्तुतीका साथै दिपावली र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम समेत आयोजना गरिने बताइएको छ ।