सोही क्रममा मन्त्री यादवले गढीमाई मेलामा आउने श्रद्धालुहरूको सुविधाका लागि शुद्ध खानेपानी र शौचालयको उचित व्यवस्था गर्न कर्मचारीहरूलाई निर्देशन दिएका हुन् । उनले भने, ‘गत ५ वर्ष अघि २०७६ सालमा लागेको पञ्चवर्षीय मेलामा खानेपानी र शौचालयको अभावका कारण भक्तहरूले धेरै समस्याको सामना गर्नुपरेको थियो । यसपाली त्यस्ता समस्याहरूलाई रोक्नका लागि हामीले समयमै उचित प्रबन्ध गर्नुपर्छ ।’
मन्त्री यादवले गढीमाई मेला अवधिभर मन्त्रालयका कर्मचारीलाई पानीको शुद्धतामा मापन यन्त्र जडान गर्न र त्यसको संचालन र व्यवस्थापन गर्न पनि निर्देशन दिएका छन् । ‘हामीले पानीको गुणस्तरमा कुनै कारको सम्झौता गर्न सक्दैनौँ । श्रद्धालुहरूले पक्कै पनि शुद्ध पानी पाउनु पर्छ । यसका लागि आवश्यक व्यवस्था गर्न हामी समर्पित छौँ,’ उनले भने । यसका साथै, उनले प्रदेश सरकारका प्रतिनिधिहरूलाई बरियारपुर क्षेत्रमा विभिन्न स्थानमा डीप बोरिङ जडान गर्नका लागि पनि निर्देशिन दिएका हुन् । ‘गढीमाई मन्दिरको वरिपरि पर्ने स्थानहरूमा पानीको अभाव हुन नदिनका लागि पर्याप्त जल श्रोतको प्रबन्ध गर्न अत्यावश्यक छ,’ उनले थपे ।
पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य समेत रहेका मन्त्री यादवले गढीमाई मन्दिर र मेला मधेसको लागि मात्र नभई नेपालका लागि महत्वपूणर् पहिचान भएको कुरा उल्लेख गर्दै यस क्षेत्रको विकासका लागि सरकार गम्भीर रहेको बताए । उनले भने, ‘हाम्रो यस क्षेत्रको संस्कृति, परम्परा र धार्मिक आस्थाले यसलाई पर्यटकीय दृष्टिले महत्वपूणर् बनाउछ । यसलाई प्रवद्र्धन गर्नका लागि हामीले विशेष ध्यान दिन आवश्यक छ ।’ उनले थपे, ‘गढीमाई मेला मात्र धार्मिक आस्था प्रकट गर्ने स्थान होइन, यसले आर्थिक र सांस्कृतिक दुवै पक्षलाई समेट्ने गर्दछ । यहाँ आउने भक्तजनहरूले स्थानीय व्यवसायमा पनि योगदान पुर्याउने छन्, जसले समग्र क्षेत्रमा आर्थिक गतिविधिलाई तीव्रता दिन सक्छ ।’
गढीमाई मेला आयोजनामा सरकारले स्थानीय उत्पादन र व्यवसाय प्रवर्द्धन गर्ने अवसरका रूपमा लिने आवश्यकता रहेको उनको भनाइ थियो । सो क्रममा उपस्थितहरूले गढीमाई मेला व्यवस्थापनमा सरकारको सक्रियता र सहयोगको महत्वलाई स्वीकार गर्दै मेलामा स्थानीय समुदायको विकास र समृद्धिमा थप ध्यान दिनुपर्ने कुरामा जोड दिएका थिए । मन्त्री यादवले मेला सफल बनाउन सबैको सहयोग र समन्वय आवश्यक रहेको बताउँदै श्रद्धालुहरूको सुविधा सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । उनले गढीमाई मेला अवधिभर स्थानीय सरकारले, सरोकारवाला निकायहरूसँग मिलेर प्रभावकारी व्यवस्थापन गर्नुपर्ने आवश्यकता पनि औँल्याए । ‘हामीले यस क्षेत्रको धार्मिक र सांस्कृतिक महत्वलाई ध्यानमा राख्दै विश्व स्तरीय व्यवस्था गर्नुपर्नेछ । यसका लागि हामी सबैले मिलेर काम गर्नुपर्छ,’ उनले भने ।
गढीमाई मन्दिर र मेला क्षेत्रलाई उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नका लागि तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताउँदै उनले समग्र समाजको विकासका लागि एकताबद्ध भएर काम गर्नुपर्ने कुरामा जोड दिए । यसका लागि उनले स्थानीय बासिन्दा, धार्मिक संस्थाहरू र सरकारबीचको समन्वय महत्वपूर्ण रहेको पनि उल्लेख गरे । कार्यक्रममा पूर्व मन्त्री एवं बारा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठ (किसान), पूर्व सांसद प्रमोद गुप्ता, गढीमाई मेला मूल आयोजक समितिका अध्यक्ष एवं महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र प्रसाद यादव, जीतपुरसिमरा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लगायतको उपस्थिति थियो । मंसिरको दोश्रो सातादेखि गढीमाई मन्दिरमा पञ्चवर्षीय मेला लाग्नेछ, जुन विश्वभर पशु बलि दिने परम्पराका लागि प्रख्यात छ ।












