वीरगंज पर्सा २ मंसिर ।वीरगंज स्थित सशस्त्र प्रहरीले फर्जी मतपत्र र नगद सहित दुई जनालाई पक्राउ गरेको छ । गएराति जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी वलको सयुक्त टोलीले वीरगंजको बसपार्क स्थित सडक खण्डबाट उक्त फर्जी मतपत्र एवं नगद सहित दुईजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बारा जिल्ला कलैया उपमहानगरपालिका वडा नंं १८ बस्ने कार चालक २३ वर्षीय अमिरी राउत तथा सोही कारका मालिक वीरगंज महानगरपालिका वडा नं १६ इनर्वा निवासी ३३ वर्षीय राजन सिंह रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक दीपक गिरीले जानकारी दिएका छन् ।
उनका अनुसार कलैया वीरगंजतर्फ आइरहेको बा. १०२४ च ६६३६ नम्बरको कारलाई चेकजाँच गर्दा फर्जी मतपत्र तथा २ लाख ७२ हजार नगद रुपैया बरामद भएको थियो । बरामद भएको नगद एवं फर्जी मतपत्र सहित कारका साहु र चालक दुबैलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बताए ।
उनीहरुको साथबाट १० हजार थान फर्जी मतपत्र, २ सय ५० थान स्वस्तिक छाप र ४८ थान स्टाम्प प्याड वरामद भएको छ । करिव ३ सयप्रति फर्जी मतपत्रमा साइकिल छापमा मत संकेत गरेको फेला परेको छ ।
उनीहरु कुन निर्वाचन क्षेत्रको लागि मतपत्र लिएर हिडेका हुन भन्ने कुरा अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्ति र गाडी हाल वडा प्रहरी कार्यालय विर्तामा राखिएको छ । उनीहरुलाई आवश्यक कार्वाहीको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्सामा बुझाइने प्रहरीले जनाएको छ ।