पर्सा । प्रचारप्रसार गर्न पाउने आज अन्तिम दिन पर्साको क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका लागि जसपा-एमाले गठबन्धनबाट साझा उम्मेदवार प्रदीप यादव वीरगञ्जका विभिन्न वडाहरुमा पुगेका छन् ।
चुनावी घरदैलोका उम्मेदवार यादव वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली, वडा नम्बर १३ राधेमाई, वडा नम्बर १४ पिपरा, वडा नम्बर १६ नगवा र वडा नम्बर २० हरपतगञ्ज गरी ५ वडाका मतदातासँग भेटघाट गरेका छन् ।
पाँच वटै वडामा पुगेर नेकपा एमाले र जसपाको सयुँक्त घरदैलोका क्रममा प्रतिनिधि सभा सदस्यका उम्मेदवार यादव र प्रदेश सभा सदस्यका उम्मेदवार विचारी प्रसाद यादवले चुनावी एजेण्डाका सम्बन्धमा छलफल गरेका छन् ।
मतदातासँग भेट्दै पूर्व वन तथा वातावरणमन्त्रीसमेत रहेका यादवले यसअघि ५ वर्षको कार्यकालमा आफुले गरेका कामको मूल्यांकन जनताले गर्ने विश्वास व्यक्त गरेका छन् ।
सांसद् र मन्त्री बन्दा पनि यही क्षेत्रका जनताको आवाज आफुले उठाएको र यही क्षेत्रको विकास र समृद्धिका लागि पैरवी गर्दै आएको यादवको भनाई छ ।
भौतिक पूर्वाधार निर्माणसँगै सामाजिक क्षेत्रमा पनि सँधै सक्रिय रहने यादवले फेरी पनि जित्नुपर्ने स्थानीय मतदाताको प्रतिक्रिया थियो ।
५ वर्षभन्दा अघिका जुन सांसद् आएपनि केही काम नगरेकोमा यादवले ५ वर्षमा धेरै काम गरेको त्यस क्षेत्रका बासिन्दाले बताएका छन् । यसअघि सडक नै नभएका ठाउँमा आफ्नै पहलमा सडक बनाएको बताउँदै यादवले पनि अबको कार्यकालमा कच्ची सडक मुक्त क्षेत्र बनाउने दावी गरे ।
सडक सञ्जालको विस्तारबाट विद्यार्थी, कृषकदेखि अन्य पेशामा आबद्ध जनता प्रत्यक्ष लाभान्वित हुने र विकासको ढोका खुल्ने यादवको भनाई छ । यस क्षेत्रका लागि आफुले गरेको विकास र परिवर्तनको परिकल्पनालाई वास्तविकतामा बदल्नका लागि फेरी एकपटक छाता छापमा मतदान गरेर निर्वाचित गराउन यादवले आग्रह गरेका छन् ।
महिलालाई सशक्तीकरण बनाउनुका साथै आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिँदै यादवले महिलामुखी योजना र नीति निर्माणका लागि पहल गर्ने बताए । महिलालाई शिक्षित र दक्ष बनाउँदै उनीहरुमा उद्यमशीलताको विकास गर्न अबको प्राथामिकताको विषय हुने उनको भनाई छ ।
घरदैलोमा पर्साको क्षेत्र नम्बर १ (क) बाट जसपा र एमाले गठबन्धनका प्रदेश सभा सदस्यका उम्मेदवार बिचारी प्रसाद यादवसहित गठबन्धनमा आवद्ध दलका नेता एवम् कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।