पर्सा जेठ ३० सोमबार ।आफनै सालोको हत्यामा संलग्न पर्साको जगरनाथपुर गाउँपालिकाबाट ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्साको बहुदरमाई नगरपालिका २ सिसियाडी बैरियाटोलका ४० बर्षिय राजेश रामको हत्यामा संलग्न उनका भिनाजु सहित एक्कै परिवारका पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।
जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ मा दिदी घर घुम्न गएको बेला राजेश राम अनैतिक क्रियाकलापमा संलग्न रहेको भन्दै उनका भिनाजु हिरामन महरा सहित ५ जना मिलि कर्तव्य ज्यान गरी शव फालेको प्रहरीले बताएको छ ।
घटनामा संलग्न हिरामनका भाई, रामबालक महरा, बसन्ती देवी, सुनिता देवी र रिन्कु देवीलाई पनि प्रहरीले पक्राउ गरेका छ । पक्राउ परेका ५ जना माथि प्रहरीले कर्तव्य ज्यान मुद्दा दर्ता गरी जिल्ला अदालत पर्सा बाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता ओम प्रकाश खनालले बताए ।
२०७९ जेष्ठ २८ गते बिहान ११ बजेर १५ मिनेट जाँदा जगरनाथपुर गापा वडा ६ स्थित नाला खोलाको खोल्साभित्र घोप्टो परेको तथा घाँटीमा गम्छा कसिएको अवस्थामा राम मृत अवस्थामा फेला परेका थिए ।
प्रारम्भीक अनुसन्धानमा राम अनैतिक क्रियाकलापमा संलग्न भएको बिषयमा विवाद हुँदा रामका भिनाजु समेत पर्ने हिरामन महराको परिवारहरुले उनको घाँटी कसी हत्या गरेर शव रातीको समयमा खोल्सामा फालेको प्रहरी नायब उपरिक्षक एवम् जिल्ला प्रहरी कार्यालय पर्सा का प्रवक्ता खनालले बताए ।