काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पेश हुने कुरामा आफू विश्वस्त रहेको बताएका छन् ।
मंगलबार बसेको संसदीय दलको बैठकमा देउवाले भोलि बस्ने संसद बैठकमा एमसीसी टेबल हुनेमा आफू विश्वस्त रहेको बताएको महामन्त्री गगन थापाले जानकारी दिए । सभापति देउवाले एमसीसीको बारेमा नाफा घाटा नहेरी संसदबाट पारित गर्नुपर्छ भन्ने प्रस्तावलाई अघि बढाउने बताएका थिए ।
कांग्रेसले प्रतिपक्षमा रहँदा र सरकारमा रहँदा दोहोरो चरित्र नदेखाउने बताउँदै देउवाले तत्कालीन नेकपा सरकार रहँदा मन्त्रीपरिषद्बाट गरिएको निर्णयमा नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले सहयोग गर्ने विश्वास लिए ।
‘तत्कालीन नाफा–घाटा हेरेर कर्तव्यबाट च्युत भयो भने नेपाली कांग्रेसको छुट्टै परिचय रहँदैन । यसको नाफा–घाटा जेसुकै होला, नेपाली कांग्रेसले आफ्नो कर्तव्य पूरा गर्छ । यो नेपाली कांग्रेस नेतृत्वले प्रस्तुत गर्न लागेको विधेयक होइन । प्रतिपक्षमा रहँदा र सरकारमा रहँदा डबल स्टान्डर राख्दैन,’ देउवाले भने, ‘प्रधानमन्त्री र संसदीय दलको नेताको हैसियबाट मैले सभामुखलाई भनिसकेको छु कि अब यो संसद्मा टेबल हुनुपर्छ र सबैले भाग लिनुपर्छ ।’