32.7 C
Birgunj
Date
मङ्ल, साउन ५, २०८३
Tue, July 21, 2026
spot_img

कर्मचारी कुटिएको घटनापछि कालिकामाई गाउँपालिकाले प्रहरीसँग तत्काल कारबाही माग्यो

वीरगंज,०४ साउन । पर्साको कालिकामाई गाउँपालिकाले कार्यालयका कम्प्युटर अपरेटरमाथि भएको कुटपिट तथा दुर्व्यवहारको घटनापछि पनि गाउँपालिकाबाट प्रवाह हुने दैनिक प्रशासनिक सेवा नियमित रूपमा सञ्चालन भइरहेको स्पष्ट पारेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारीद्वारा जारी गरिएको सूचनामा कम्प्युटर अपरेटर (चौथो तह) चन्दन कुमार चौरसियामाथि असार २३ गते कार्यालय परिसरमै भएको दुर्व्यवहार, कुटपिट तथा अङ्गभङ्गको घटनाप्रति सम्पूर्ण कर्मचारी स्तब्ध भएको उल्लेख गरिएको छ।

सूचनाअनुसार कार्यालय समयमै आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका कर्मचारीमाथि योजनाबद्ध रूपमा भएको आक्रमणलाई केवल व्यक्तिगत घटनाका रूपमा नभई सम्पूर्ण कर्मचारी समुदायमाथिको अपमान, कर्मचारी सुरक्षामाथिको गम्भीर चुनौती तथा सुशासनमाथिको प्रत्यक्ष प्रहारका रूपमा गाउँपालिकाले व्याख्या गरेको छ। गाउँपालिकाले घटनामा संलग्न व्यक्तिमाथि हालसम्म कानुनी कारबाही अघि नबढाइएको भन्दै कर्मचारीहरूमा असुरक्षाको भावना बढ्दै गएको जनाएको छ। स्थानीय शान्ति–सुरक्षाको जिम्मेवारी बोकेको जिल्ला प्रहरी कार्यालयबाट प्रभावकारी कानुनी प्रक्रिया अघि नबढेको उल्लेख गर्दै दोषीलाई कानुनबमोजिम यथाशीघ्र कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिएको सूचनामा उल्लेख छ।

यद्यपि उक्त घटनाका कारण गाउँपालिकाको नियमित सेवा प्रवाहमा कुनै अवरोध नआएको गाउँपालिकाले स्पष्ट पारेको छ। कर्मचारीहरूको नैतिक तथा कानुनी दायित्वलाई उच्च प्राथमिकतामा राख्दै गाउँपालिका अध्यक्ष बशिष्ट कुमारले भिडियो सन्देशमार्फत गाउँपालिकाको दैनिक प्रशासनिक कामकाज, सामुदायिक विद्यालयहरूको पठनपाठन तथा स्वास्थ्य चौकीबाट प्रदान हुने नियमित स्वास्थ्य सेवा यथावत् सञ्चालन भइरहेको जानकारी गराएका छन्। गाउँपालिकाले स्वास्थ्यकर्मी, शिक्षक, गाउँपालिका तथा वडा कार्यालयअन्तर्गत कार्यरत सम्पूर्ण कर्मचारीलाई आ–आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्दै नागरिकलाई नियमित सेवा प्रवाह गर्न अनुरोध गरेको छ।

साथै, गाउँपालिकाले कर्मचारीको सुरक्षा सुनिश्चित गर्दै दोषीमाथि निष्पक्ष र प्रभावकारी कानुनी कारबाही हुनुपर्ने माग दोहोर्‍याएको छ। कर्मचारीमाथि हुने यस्ता घटनाले सार्वजनिक सेवाप्रवाह र सुशासनमाथि नकारात्मक असर पार्ने भएकाले सम्बन्धित निकायले घटनालाई गम्भीर रूपमा लिएर कानुनी प्रक्रिया तत्काल अघि बढाउनुपर्ने गाउँपालिकाको धारणा रहेको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here