29.7 C
Birgunj
Date
मङ्ल, साउन ५, २०८३
Tue, July 21, 2026
spot_img

इन्जिनियर्स डेमा वीरगंजमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

वीरगंज,०४ साउन । ६४औँ इन्जिनियर्स डेका अवसरमा नेपाल इन्जिनियर्स एशोसिएसन (एनईए) वीरगंज केन्द्रले मानसिक स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम आयोजना गर्दै इन्जिनियरिङ क्षेत्रका विद्यार्थी, प्राध्यापक तथा पेशाकर्मीहरूलाई मानसिक स्वास्थ्यप्रति सचेत रहन आग्रह गरेको छ।

वीरगंज–१४ स्थित बीआईटी इन्जिनियरिङ कलेजमा सम्पन्न कार्यक्रम नेशनल मेडिकल कलेज, वीरगंजको क्लिनिकल सहयोगमा आयोजना गरिएको हो। कार्यक्रममा नेपाल इन्जिनियर्स एशोसिएसन, वीरगंज केन्द्रका अध्यक्ष इन्जिनियर प्रियांशु कुमार गुप्ताको अध्यक्षता रहेको थियो। नेपाल इन्जिनियर्स एशोसिएसनका कोषाध्यक्ष इन्जिनियर इकबाल हुसेनको समन्वयमा सम्पन्न कार्यक्रममा इन्जिनियरिङ अध्ययनरत विद्यार्थी, प्राध्यापक, विभिन्न क्षेत्रमा कार्यरत इन्जिनियर तथा एशोसिएसनका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमले मानसिक स्वास्थ्यलाई व्यक्तिगत जीवनसँगै व्यावसायिक सफलताको महत्वपूर्ण आधारका रूपमा प्रस्तुत गरेको आयोजकले जनाएको छ।

कार्यक्रमका प्रमुख वक्ता नेशनल मेडिकल कलेजका क्लिनिकल साइकोलोजिस्ट सन्देश सावन्तले मानसिक स्वास्थ्यको महत्व, तनाव व्यवस्थापन, भावनात्मक सन्तुलन, कार्य–जीवन सन्तुलन (वर्क–लाइफ ब्यालेन्स), मानसिक लचकता (रेजिलियन्स) तथा आवश्यक परे समयमै मनोवैज्ञानिक परामर्श लिनुपर्ने विषयमा विस्तृत प्रस्तुति दिएका थिए। उनले मानसिक स्वास्थ्यप्रति सचेत रहनु व्यक्तिगत सुख–समृद्धिका साथै पेशागत दक्षता, कार्यक्षमता र सकारात्मक निर्णय क्षमताका लागि पनि अत्यन्त आवश्यक रहेको उल्लेख गरे। मानसिक समस्यालाई बेवास्ता नगरी समयमै पहिचान र आवश्यक परामर्श लिन सके धेरै समस्या समाधान गर्न सकिने उनको भनाइ थियो।

प्रस्तुतीकरणपछि सहभागीहरूसँग अन्तरक्रियात्मक छलफलसमेत गरिएको थियो। छलफलका क्रममा विद्यार्थी, प्राध्यापक तथा पेशाकर्मीहरूले मानसिक स्वास्थ्यसँग सम्बन्धित विभिन्न जिज्ञासा राख्दै दैनिक जीवन, अध्ययन र पेशागत जिम्मेवारीबीच मानसिक सन्तुलन कायम राख्ने उपायबारे जानकारी लिएका थिए। कार्यक्रमले सहभागीहरूलाई मानसिक स्वास्थ्यका विषयमा खुला रूपमा छलफल गर्न तथा आवश्यक पर्दा विशेषज्ञको सहयोग लिन प्रेरित गरेको जनाइएको छ।

नेशनल मेडिकल कलेजले स्वास्थ्य प्रवर्द्धन तथा समुदायमुखी कार्यक्रमहरूलाई निरन्तरता दिँदै मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्न सक्रिय भूमिका निर्वाह गर्दै आएको जनाएको छ। यस्ता कार्यक्रममार्फत समाजमा मानसिक स्वास्थ्यप्रतिको सकारात्मक सोच विकास गर्न र आवश्यक सहयोग सहज रूपमा उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको कलेजले उल्लेख गरेको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here