33.9 C
Birgunj
Date
सोम, साउन ४, २०८३
Mon, July 20, 2026
spot_img

वर्षेनी डुबानमा पर्ने बहुअरीदेखि सुगौलीसम्म पुगेर सांसद कानुले लिए समस्याको जानकारी

वीरगंज,०३ साउन । पर्सा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सुशील कानुले वर्षाका कारण उत्पन्न बाढी तथा डुबानबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्दै समस्याको दीर्घकालीन समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्। सांसद कानुले वीरगंज महानगरपालिका–१७, २४, २५ र २६ नम्बर वडाअन्तर्गत पर्ने बहुअरी, अलौ, सिर्सिया तथा सुगौली क्षेत्र पुगेर वर्षाका कारण जलमग्न बनेका खेतीयोग्य जमिन र प्रभावित बस्तीको अवस्थाबारे जानकारी लिएका हुन्।

स्थलगत निरीक्षणका क्रममा उनले वर्षाका कारण धानबालीमा पुगेको क्षति, पानी निकासको समस्याका साथै स्थानीय बासिन्दा तथा किसानले भोग्दै आएका कठिनाइबारे प्रत्यक्ष जानकारी लिएका थिए। डुबानका कारण कृषि उत्पादनमा परेको असर र स्थानीयको दैनिक जीवनमा देखिएको समस्याबारे समेत उनले चासो राखेका थिए। अवलोकनपछि स्थानीय बासिन्दा, किसान तथा जनप्रतिनिधिसँग छलफल गर्दै सांसद कानुले वर्षेनी दोहोरिँदै आएको डुबान समस्याको स्थायी समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरेर आवश्यक पहल अघि बढाउने बताए।

उनले विगतदेखि नै करिब दुई सय बिगहा खेतीयोग्य जमिन वर्षेनी डुबानमा पर्दै आएको उल्लेख गर्दै अब यस समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्ने उद्देश्यका साथ आफू सक्रिय रहेको बताए। सांसद कानुले स्थानीयको जनधनको सुरक्षा, खेतीयोग्य जमिनको संरक्षण तथा प्रभावकारी पानी निकास व्यवस्थापनका लागि आवश्यक योजना निर्माण र कार्यान्वयनमा जोड दिइने प्रतिबद्धता व्यक्त गरे। उनले डुबानको समस्या केवल तत्कालीन राहतले मात्र समाधान नहुने भन्दै दीर्घकालीन योजना आवश्यक रहेको बताए।

स्थलगत अवलोकन कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सुधीर पटेल, रास्वपा मधेश प्रदेश यातायात विभाग प्रमुख राम आर्य, रास्वपा क्षेत्र नं. २ का उपसभापति किशोर यादव, स्थानीय जनप्रतिनिधि, किसान तथा स्थानीय बासिन्दाको सहभागिता रहेको थियो।

वर्षायाम सुरु भएसँगै वीरगंज महानगरका विभिन्न ग्रामीण तथा कृषि क्षेत्रहरूमा डुबानको समस्या देखिँदै आएको छ। पानी निकासको उचित व्यवस्थापन नहुँदा खेतीयोग्य जमिन प्रभावित हुनुका साथै स्थानीय बासिन्दाले हरेक वर्ष समस्या झेल्दै आएका छन्। यस समस्याको स्थायी समाधानका लागि सांसद कानुले पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here