33.9 C
Birgunj
Date
सोम, साउन ४, २०८३
Mon, July 20, 2026
spot_img

कोशीमा बढ्यो पानीको बहाव, सतर्कता तह नजिक पुगेपछि उच्च सतर्कता जारी

काठमाडौँ,०३ साउन । कोशी नदीमा पानीको बहाव तीव्र रूपमा बढ्दै गएपछि कोशी ब्यारेजका ५२ वटै ढोका खोल्ने तयारी गरिएको छ। उपल्लो जलाधार क्षेत्रमा भइरहेको निरन्तर वर्षाका कारण नदीको जलसतह बढ्दै गएको र सतर्कता तह पार गर्ने जोखिम बढेपछि ब्यारेजका ढोका खोल्ने तयारी अघि बढाइएको हो।

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार साँझसम्म कोशी नदीको जलसतह ४.७८ मिटर पुगेको छ। उपल्लो तटीय क्षेत्रमा वर्षा निरन्तर भइरहेकाले सोमबार बिहानसम्म नदीको जलसतहले ६ मिटरको सतर्कता तह पार गर्न सक्ने सम्भावना रहेको विभागकी बाढीविद् सरस्वती विष्टले जानकारी दिएकी छन्। कोशी नदीको जलसतह ७ मिटर पुगेमा खतरा तह पार हुने भएकाले नदी आसपासका क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा रहन र नदीको बहावमा आएको परिवर्तनबारे सचेत रहन अनुरोध गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले सम्भावित बाढी जोखिमलाई मध्यनजर गर्दै कोशी ब्यारेजका ५२ वटै ढोका खोल्ने विषयमा सम्बन्धित निकायसँग समन्वय भइरहेको जानकारी दिएका छन्। उनका अनुसार बाढीको सम्भावित अवस्थालाई ध्यानमा राखेर आवश्यक तयारी तीव्र पारिएको छ। प्राधिकरणले कोशी नदीको बहाव र जोखिम अवस्थाको निरन्तर अनुगमन गरिरहेको तथा सम्भावित विपद् व्यवस्थापनका लागि सबै संयन्त्रलाई तयारी अवस्थामा राखिएको जनाएको छ।

यता, मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको जनाएको छ। वर्षाका कारण नदीमा पानीको सतह थप बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा सम्बन्धित स्थानीय तहलाई बाढी, पहिरो र डुबानको जोखिमबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

सम्बन्धित निकायहरूले मौसमको अवस्था र नदीको जलसतह निरन्तर निगरानी गरिरहेको जनाउँदै कुनै पनि आकस्मिक अवस्था आएमा तत्काल आवश्यक कदम चालिने बताएका छन्।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here