वीरगंज,३१ जेष्ठ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालले भारत मात्र नभई कुनै पनि देशको सीमा नमिचेको बताएका छन्। सीमा सम्बन्धी विषयमा सार्वजनिक रूपमा भइरहेका टिप्पणीप्रति प्रतिक्रिया जनाउँदै उनले नेपालले छिमेकी मुलुकको भूमि अतिक्रमण गरेको भन्ने दाबी पुष्टि हुने कुनै आधिकारिक आधार आफूले अहिलेसम्म नदेखेको बताए।
आइतबार वीरगंजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले आफू दुई पटक परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालिसकेको अनुभव स्मरण गर्दै नेपालले भारतको सीमा मिचेको विषयमा कुनै प्रमाण वा आधिकारिक जानकारी नपाएको बताए। उनका अनुसार भारतले समेत हालसम्म नेपालले आफ्नो भूमि अतिक्रमण गरेको भनेर औपचारिक रूपमा दाबी गरेको अवस्था छैन। यस सन्दर्भमा उनले प्रधानमन्त्री बालेन शाहले नेपालले भूमि अतिक्रमण गरेको आशयको अभिव्यक्ति दिएको विषयप्रति आश्चर्य व्यक्त गरे। सीमा जस्तो संवेदनशील र राष्ट्रिय हितसँग जोडिएको विषयमा बोल्दा तथ्य, प्रमाण र ऐतिहासिक आधार आवश्यक हुने उनको भनाइ थियो। उनले आफ्नो दाबीलाई तथ्यगत आधारमा पुष्टि गर्न प्रधानमन्त्री शाहलाई चुनौतीसमेत दिए।
अध्यक्ष यादवले निर्वाचन प्रणाली र निर्वाचन क्षेत्र निर्धारणको विषयमा पनि धारणा राख्दै निर्वाचन आयोगको निष्पक्षतामाथि प्रश्न उठाए। आयोगले ७७ वटै जिल्लाबाट एक–एक जना प्रतिनिधिसभा सदस्य हुनुपर्ने सुझाव दिएको विषयप्रति असहमति जनाउँदै उनले निर्वाचन क्षेत्र निर्धारण जनसंख्याको आधारमा हुनुपर्ने बताए। उनले लोकतान्त्रिक प्रतिनिधित्व सुनिश्चित गर्न जनसंख्यालाई मुख्य आधार मान्नुपर्ने उल्लेख गर्दै भौगोलिक सीमाभन्दा पनि जनघनत्व र जनसंख्याको वास्तविक अवस्थालाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे। प्रदेश संरचनाबारे बोल्दै यादवले मधेस र पहाडको पहिचान तथा आवश्यकताका आधारमा प्रदेशहरूको पुनःसंरचना हुनुपर्ने बताए। वर्तमान प्रदेश सरकारहरू अधिकारविहीन र प्रभावहीन अवस्थामा रहेको टिप्पणी गर्दै उनले संघीयताको मर्मअनुसार प्रदेश सरकारलाई स्वायत्त र अधिकार सम्पन्न बनाउन आवश्यक रहेकोमा जोड दिए।
उनले प्रदेश सरकारलाई पर्याप्त अधिकार, स्रोत र जिम्मेवारी नदिइएको अवस्थामा संघीय शासन प्रणालीको अपेक्षित परिणाम प्राप्त हुन नसक्ने तर्क गरे। प्रदेशलाई प्रभावकारी बनाउने हो भने कानुनी, प्रशासनिक तथा वित्तीय अधिकार हस्तान्तरण गर्नुपर्ने उनको भनाइ थियो। पत्रकार सम्मेलनमा अध्यक्ष यादवले गत भदौ २३ र २४ गते भएको घटनाको विषयमा पनि सरकारको ध्यानाकर्षण गराए। उक्त घटनाबारे थप अनुसन्धान गरी वास्तविक तथ्य सार्वजनिक गर्नुपर्ने माग गर्दै उनले सत्यतथ्य जनतासामु ल्याउन सरकार गम्भीर हुनुपर्ने बताए।
वर्तमान सरकारप्रति आशा व्यक्त गर्दै यादवले सरकारमा युवा शक्ति, नयाँ सोच र ऊर्जा रहेको उल्लेख गरे। यही उत्साह र सक्रियताका कारण सरकारले देशलाई नयाँ दिशा दिन सक्ने अपेक्षा आफूहरूमा रहेको उनको भनाइ थियो। पत्रकार सम्मेलनमा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत गदी र जितेन्द्र सोनल, जसपा नेपालका नेता बालकिशोर यादव, रामनरेश प्रसाद यादव लगायत नेताहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा समसामयिक राजनीतिक विषय, संघीयता, निर्वाचन प्रणाली तथा सीमा सम्बन्धी मुद्दामा विस्तृत छलफल भएको थियो।

