33.5 C
Birgunj
Date
सोम, असार १, २०८३
Mon, June 15, 2026
spot_img

काठमाडौंलाई खुला संग्रहालय बनाउने महानगरको महत्वाकांक्षी योजना

काठमाडौं,३१ जेष्ठ । काठमाडौं महानगरपालिकाले ‘सांस्कृतिक सहर  समृद्ध महानगर’को परिकल्पनालाई मूर्तरूप दिन आगामी आर्थिक वर्ष २०८३/८४ मा ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, प्रवर्द्धन र विकासलाई उच्च प्राथमिकतामा राख्ने भएको छ। महानगरले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा काठमाडौंलाई खुला तथा जीवन्त संग्रहालय र रचनात्मक सहरका रूपमा विकास गर्ने लक्ष्य लिइएको उल्लेख गरिएको छ।

महानगरका अनुसार काठमाडौंभित्र रहेका ऐतिहासिक, धार्मिक, पुरातात्त्विक, सांस्कृतिक तथा सामाजिक महत्त्वका मठ, मन्दिर, चैत्य, द्योस्छें, वहा–वहि, हिति, पोखरी, गुम्बा, स्तुपा, चोक, ननि, डबली र फल्चा लगायतका सम्पदा तथा संरचनाहरूको अध्ययन, डिजिटल अभिलेखीकरण, मौलिक नामकरण, नक्सांकन, मर्मत, जिर्णोद्धार तथा पुनर्निर्माण गरी संरक्षण र संवर्द्धन गरिनेछ।

नीति तथा कार्यक्रममा काठमाडौंको सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न विदेशी पाहुनाहरूलाई समेत आमन्त्रण गरेर ‘काठमाडौं फिल्म फेस्टिभल’ आयोजना गर्ने योजना पनि समेटिएको छ। महानगरले चलचित्रमार्फत काठमाडौंका मौलिक संस्कृति, परम्परा, सम्पदा तथा जीवनशैलीलाई विश्वसामु चिनाउने लक्ष्य लिएको जनाएको छ।

यसैगरी, मौलिक तथा परम्परागत सीप, कला र ज्ञानको संरक्षण, पुस्तान्तरण तथा पुनरुत्थानका लागि ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक र वास्तुकलात्मक महत्त्वका निजी तथा संस्थागत भवनहरूको पुनर्निर्माणलाई प्रोत्साहन गरिने भएको छ। साथै, सम्पदा बस्तीहरूको संरक्षण र संवर्द्धनमा पनि विशेष ध्यान दिइने नीति तथा कार्यक्रममा उल्लेख छ।

महानगरले काठमाडौंका प्रमुख सांस्कृतिक पर्व तथा जात्रालाई थप व्यवस्थित र आकर्षक बनाउन इन्द्रजात्रा तथा सेतो मच्छिन्द्रनाथ (आर्य अवलोकितेश्वर) जात्रा लगायतका ऐतिहासिक तथा सांस्कृतिक जात्रामार्गमा सम्पदामैत्री भवनहरूको फसाड निर्माणलाई प्रोत्साहन गर्ने भएको छ। यसबाट परम्परागत वास्तुकला र सांस्कृतिक वातावरणको संरक्षणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

पर्यटन प्रवर्द्धनलाई लक्षित गर्दै महानगरले प्राचीन बस्ती तथा पुराना सहर क्षेत्रमा होमस्टे सञ्चालनलाई प्रोत्साहन गर्ने योजना पनि अघि सारेको छ। यसले स्थानीय संस्कृति, परम्परा र जीवनशैलीलाई नजिकबाट अनुभव गर्न चाहने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने विश्वास गरिएको छ।

अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनलाई पनि महानगरले विशेष महत्व दिएको छ। स्थानीय जात्रा, पर्व, कला, संस्कृति, परिकार, परम्परागत बाजा तथा संगीतको संरक्षण गर्दै तिनलाई युनेस्कोको अभौतिक सांस्कृतिक सम्पदा सूचीमा सूचीकृत गराउन आवश्यक पहल गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

जलसम्पदा संरक्षणलाई पनि महानगरले प्राथमिकतामा राखेको छ। महानगर क्षेत्रभित्र रहेका पोखरी तथा ढुंगेधारा (हिति)हरूको पुनर्स्थापना, आकाशे पानी संकलन तथा पुनर्भरण कार्यक्रम सञ्चालन गरी वातावरणीय सन्तुलन कायम राख्ने लक्ष्य लिइएको छ।

त्यसैगरी, लोककला, पाककला, भेषभूषा, शिल्प, गरगहना, जात्रापर्व, साहित्य, संगीत तथा प्राकृतिक सम्पदालाई चलचित्र र रचनात्मक माध्यममार्फत प्रवर्द्धन गर्ने उद्देश्यले चलचित्र महोत्सव, परम्परागत खाना महोत्सव, एक्स्पो तथा प्रदर्शनीहरू आयोजना गरिने भएको छ। महानगरले यस्ता कार्यक्रममार्फत सांस्कृतिक सम्पदालाई रचनात्मक उद्योगका रूपमा विकास गर्ने रणनीति अघि सारेको छ।

काठमाडौं महानगरपालिकाले निर्माण गरेको ‘येँ देय् सांस्कृतिक छेँ’ लाई समेत सञ्चालनमा ल्याइने भएको छ। साथै, अन्तर्राष्ट्रिय स्तरमा चर्चित काठमाडौंको प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा लगायतका जात्राको संरक्षण, व्यवस्थापन र प्रवर्द्धनलाई थप प्रभावकारी बनाउँदै काठमाडौंको मौलिक सांस्कृतिक पहिचानलाई विश्वमाझ स्थापित गर्ने लक्ष्य महानगरले लिएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here