काठमाडौं,२६ जेष्ठ । अर्थतन्त्रमा देखिएको सुस्तताले बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाहमा असर परेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्म निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धि दर घटेर ५.७ प्रतिशतमा सीमित भएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा निजी क्षेत्रतर्फ कर्जा प्रवाह ७.३ प्रतिशतले बढेको थियो। यस आधारमा चालु वर्षमा कर्जा वृद्धि १.६ प्रतिशत बिन्दुले घटेको देखिएको छ।
चालु आर्थिक वर्षको १० महिनामा बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रमा कुल ३ खर्ब १२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा प्रवाह ३ खर्ब ६८ अर्ब रुपैयाँ रहेको थियो।
वैशाख मसान्तसम्म निजी क्षेत्रतर्फ प्रवाहित कुल कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रको हिस्सा ६२.७ प्रतिशत रहेको छ भने व्यक्तिगत तथा घरपरिवार क्षेत्रको हिस्सा ३७.३ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ। गत वर्ष यही अवधिमा यी हिस्साहरू क्रमशः ६३.१ प्रतिशत र ३६.९ प्रतिशत थिए।
बैंकिङ संस्थाअनुसार हेर्दा वाणिज्य बैंकहरूको कर्जा प्रवाह ५.८ प्रतिशत, विकास बैंकहरूको ५ प्रतिशत र वित्त कम्पनीहरूको २.९ प्रतिशतले वृद्धि भएको छ।
बैंक तथा वित्तीय संस्थाको कुल कर्जामध्ये ६३.५ प्रतिशत कर्जा घरजग्गा धितो सुरक्षणमा आधारित रहेको छ भने १४.९ प्रतिशत कर्जा चालु सम्पत्ति सुरक्षणमा प्रवाह भएको छ। गत वर्षको सोही अवधिमा घरजग्गा धितोमा आधारित कर्जाको हिस्सा ६५.१ प्रतिशत रहेको थियो।
क्षेत्रगत रूपमा हेर्दा निर्माण क्षेत्रमा प्रवाहित कर्जा १२.८ प्रतिशतले बढेको छ। यस्तै उपभोग्य क्षेत्रमा १२.३ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रमा १०.९ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रमा ६.८ प्रतिशत, सेवा उद्योग क्षेत्रमा ३.३ प्रतिशत तथा वित्त, बीमा र अचल सम्पत्ति क्षेत्रमा १ प्रतिशतले कर्जा वृद्धि भएको छ। तर कृषि क्षेत्रतर्फको कर्जा भने २.३ प्रतिशतले घटेको छ।
कर्जाका प्रकारमध्ये ट्रष्ट रिसिट (आयात) कर्जा ३६.१ प्रतिशतले बढेको छ। यस्तै मार्जिन प्रकृतिको कर्जा १५.५ प्रतिशत, हायर पर्चेज कर्जा ९.१ प्रतिशत, रियल इस्टेट तथा व्यक्तिगत आवासीय घर कर्जा ५.३ प्रतिशत, माग तथा अन्य चालु पूँजी कर्जा ४.३ प्रतिशत, आवधिक कर्जा ४ प्रतिशत र क्यास क्रेडिट कर्जा ०.४ प्रतिशतले बढेको छ। अधिविकर्ष कर्जा भने ०.७ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।


