33.5 C
Birgunj
Date
सोम, असार १, २०८३
Mon, June 15, 2026
spot_img

नयाँ राष्ट्रवादी पार्टी गठनको तयारीमा धवल शमशेर राणा

काठमाडौं,३१ जेष्ठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका नेता डा. धवल शमशेर राणाले वर्तमान सरकारको कार्यक्षमता र आयुबारे देशभर प्रश्न उठिसकेको टिप्पणी गरेका छन्। उनले काठमाडौँ महानगर प्रमुख बालेन्द्र (बालेन) साह नेतृत्वको वर्तमान सरकार सय दिन पनि नपुग्दै विभिन्न कमजोरी र गल्तीहरू देखिएको दाबी गर्दै यसको विकल्पमा नयाँ राजनीतिक शक्ति आवश्यक भएको बताए।

आइतबार काठमाडौंमा आयोजित ‘राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रम’ मा बोल्दै नेता राणाले यस्तो धारणा राखेका हुन्। उनका अनुसार देशमा विद्यमान राजनीतिक असन्तुष्टि र अस्थिरताका कारण नयाँ राष्ट्रवादी राजनीतिक दल गठनको तयारी अघि बढाइएको छ। उनले वर्तमान सरकारप्रति उठेका प्रश्नहरूलाई आधार बनाएर विकल्प प्रस्तुत गर्न नयाँ पार्टी आवश्यक भएको जिकिर गरे।

नयाँ पार्टीको संगठनात्मक ढाँचा र नेतृत्व संरचनाबारे जानकारी दिँदै राणाले उक्त दलको नेतृत्व मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गर्ने बताए। उनका अनुसार राजा र हिन्दु राष्ट्रको एजेन्डा बोकेका प्रसाईं अहिले देशव्यापी रूपमा निमुखा जनताको आवाज उठाउने स्थापित ‘ब्राण्ड’का रूपमा स्थापित भइसकेकाले नेतृत्वमा सहमति भएको हो। राणाले सहमति अनुसार प्रसाईं पार्टीको मुख्य नेतृत्व र ‘ब्राण्ड फेस’ रहने तथा अन्य नेताहरूले संगठन सञ्चालनको जिम्मेवारी सम्हाल्ने स्पष्ट पारे। उनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दु राज्यको एजेन्डा प्रभावकारी रूपमा अघि नबढाएकाले आफूहरू नयाँ राजनीतिक विकल्पतर्फ अघि बढ्न बाध्य भएको आरोप समेत लगाए।

उनले नयाँ पार्टीले राजासहितको प्रजातन्त्र र हिन्दु राष्ट्रको एजेन्डा पुनःस्थापित गर्ने लक्ष्य राखेको दाबी गर्दै वर्तमान राजनीतिक दलहरूले जनअपेक्षा पूरा गर्न नसकेको टिप्पणी गरे। राणाका अनुसार जनताबाट प्राप्त संकेत र समर्थनका आधारमा आगामी दुई–तीन महिनाभित्र नयाँ दलले देशभर प्रभावशाली शक्ति निर्माण गर्ने विश्वास व्यक्त गरिएको छ। उनले आगामी स्थानीय तहको निर्वाचनमा समेत भाग लिने तयारी भइरहेको जानकारी दिए। हाल मलमासको समय भएकाले पार्टीको नाम, झण्डा र औपचारिक घोषणा पछि गर्ने निर्णय गरिएको पनि कार्यक्रममा उल्लेख गरिएको छ।

राणाले नयाँ दललाई नेपाली राजनीतिमा ‘राष्ट्रवादी विकल्प’का रूपमा प्रस्तुत गर्ने दाबी गर्दै वर्तमान प्रमुख राजनीतिक दलहरू—नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र तथा राप्रपाभन्दा फरक धारको शक्ति बन्ने लक्ष्य राखिएको बताए।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here