25.1 C
Birgunj
Date
बिहि, कार्तिक २०, २०८३
Thu, November 5, 2026
spot_img

चाडपर्व सुरक्षामा प्रहरीको कडा निगरानी, देशभर ५० हजारभन्दा बढी प्रहरी खटाइए

काठमाडौं,१९ कार्तिक । तिहार, नेपाल संवत् तथा छठलगायतका चाडपर्वलाई शान्तिपूर्ण, सुरक्षित र मर्यादित रूपमा सम्पन्न गराउने उद्देश्यले नेपाल प्रहरीले देशभर विशेष सुरक्षा योजना लागू गरेको छ। चाडपर्वका क्रममा हुन सक्ने चोरी, लुटपाट, जुवातास, मादक पदार्थ सेवन, झैझगडा, आगलागी तथा पटका र आतसबाजीजन्य गतिविधि नियन्त्रण गर्न ५० हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अभि नारायण काफ्लेका अनुसार चाडपर्वलाई व्यवस्थित र सुरक्षित बनाउन जिल्ला सुरक्षा समितिसँगको समन्वयमा विशेष सुरक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याइएको हो। सम्भावित आपराधिक गतिविधि नियन्त्रण, सार्वजनिक सुरक्षा कायम तथा नागरिकलाई सुरक्षित वातावरणमा चाडपर्व मनाउने व्यवस्था मिलाउन देशभर प्रहरी परिचालन गरिएको उनले जानकारी दिए।

तिहारका बेला देउसीभैलो, मेला तथा विभिन्न सांस्कृतिक गतिविधिका क्रममा हुन सक्ने जुवातास, मादक तथा लागूपदार्थ सेवन, होहल्ला र झैझगडालाई नियन्त्रण गर्न प्रहरीले विशेष निगरानी बढाएको छ। सम्भावित जोखिमयुक्त क्षेत्रमा सादा पोसाकका प्रहरीसमेत परिचालन गरी शंकास्पद गतिविधिमाथि निगरानी राखिने प्रवक्ता काफ्लेले बताए।

सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन सीसीटीभी, शरीरमा जडित क्यामेरा, ड्रोन तथा तालिमप्राप्त कुकुरको प्रयोग गरिने प्रहरीले जनाएको छ। विशेषगरी भिडभाड हुने मेला तथा सार्वजनिक स्थानमा ५० भन्दा बढी ड्रोनमार्फत निगरानी गरिनेछ। यसका अतिरिक्त विभिन्न स्थानमा नियमित गस्ती, पेट्रोलिङ, चेकप्वाइन्ट, कमान्ड पोस्ट तथा आकस्मिक जाँचको व्यवस्था मिलाइएको छ।

पटका, भुइँचम्पा, झिरझिरेलगायत विस्फोटक पदार्थको आयात, बिक्रीवितरण तथा प्रयोग नियन्त्रण गर्न सीमा नाका र भन्सार क्षेत्रमा समेत सुरक्षा निगरानी कडा पारिएको छ। यस्ता सामग्रीको प्रयोगलाई शून्यमा झार्ने लक्ष्यसहित प्रहरी परिचालन गरिएको प्रवक्ता काफ्लेले बताए।

उनले तिहार सांस्कृतिक, सामाजिक सद्भाव र पारिवारिक एकताको पर्व भएकाले क्षणभरको मनोरञ्जनका लागि पटका पड्काउँदा गम्भीर मानवीय क्षति हुन सक्ने भन्दै सर्वसाधारणलाई त्यसबाट टाढा रहन आग्रह गरे।

‘तिहार हाम्रो सांस्कृतिक, सामाजिक सद्भाव र पारिवारिक एकताको पर्व हो । क्षणभरको मनोरञ्जनका लागि पटका पड्काउँदा कसैको जीवनभरको खुसी खोसिन सक्छ। त्यसैले पटका नपड्काउन र त्यस्ता सामग्री भित्रिएको वा प्रयोग भएको सूचना पाएमा प्रहरीको १०० नम्बरमा खबर गर्न अनुरोध गर्दछु,’ उनले भने।

चाडपर्वको समयमा कृत्रिम अभाव सिर्जना गर्ने, अस्वाभाविक मूल्यवृद्धि गर्ने, कालोबजारी गर्ने तथा मिठाईलगायत खाद्यवस्तुमा मिसावट गर्ने गतिविधि नियन्त्रण गर्न पनि प्रहरीले बजार अनुगमनलाई तीव्रता दिएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, स्थानीय तह, जिल्ला प्रशासन कार्यालय तथा अन्य सरोकारवाला निकायसँगको सहकार्यमा संयुक्त बजार अनुगमन भइरहेको काफ्लेले जानकारी दिए।

प्रहरीका अनुसार बजारमा म्याद गुज्रिएका तथा गुणस्तरहीन वस्तुको बिक्रीवितरण नियन्त्रण गर्नुका साथै व्यापारिक केन्द्र र भण्डारण स्थलमा निगरानी बढाइएको छ। फूलमाला तथा पूजासामग्री बिक्री हुने स्थानको व्यवस्थापनमा समेत विशेष ध्यान दिइएको छ।

यसैगरी, चाडपर्वका बेला बढ्ने यात्रुको चापलाई मध्यनजर गर्दै यातायात व्यवस्थापन तथा सडक दुर्घटना न्यूनीकरणका लागि विशेष व्यवस्था गरिएको छ। सवारीसाधन छुट्ने स्थानमै चालकको अनुमतिपत्र जाँच गर्नुका साथै चालकले मादक तथा लागूपदार्थ सेवन गरे–नगरेको परीक्षण गरिनेछ। सवारीसाधनको यान्त्रिक अवस्था परीक्षणलाई प्राथमिकता दिइएको छ भने लामो दूरीका सवारीसाधनमा दुईजना चालक अनिवार्य राख्ने व्यवस्थाको समेत निगरानी गरिने प्रहरीले जनाएको छ।

यात्रुको सहजता र सुरक्षाका लागि देशभर ४०८ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। त्यस्तै, सीमावर्ती क्षेत्रबाट स्वदेश फर्किने नेपाली नागरिक ठगी तथा लुटपाटमा नपरून् भन्ने उद्देश्यले थप १०८ स्थानमा नागरिक सहायता कक्ष सञ्चालन गरिएको प्रवक्ता काफ्लेले बताए।

तिहारका अवसरमा घर खाली गरेर बाहिर जाने नागरिकलाई पनि प्रहरीले घरको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेको छ। लामो समयसम्म घर खाली रहने जानकारी सामाजिक सञ्जालमा सार्वजनिक नगर्न, नजिकको प्रहरी कार्यालय र छिमेकीलाई जानकारी गराउन, बहुमूल्य सामान तथा गरगहना घरमा नराख्न र सम्भव भएसम्म सीसीटीभी जडान गर्न प्रहरीले सुझाव दिएको छ।

लक्ष्मीपूजाका दिन दियो तथा मैनबत्ती बाल्दा हुन सक्ने आगलागीका घटनाप्रति सचेत रहन पनि प्रहरीले अनुरोध गरेको छ। दियो तथा मैनबत्ती पर्दा, कपडा र आगो सल्किन सक्ने अन्य वस्तुबाट टाढा राख्न, बालबालिकालाई प्रज्वलनशील सामग्री नदिन तथा प्रयोगमा नरहेका विद्युतीय उपकरण बन्द गर्न आग्रह गरिएको छ। त्यस्तै, निगरानीबिना मैनबत्ती तथा दियो नछाड्न र गुणस्तरहीन विद्युतीय सामग्री प्रयोग नगर्न प्रहरीले सचेत गराएको छ।

आगलागी, सडक दुर्घटना तथा अन्य विपद्का सम्भावित घटनालाई तत्काल सम्बोधन गर्न प्रहरीका शीघ्र प्रतिकार्य टोली (क्यूआरटी) तथा सीआरभी टोलीलाई तयारी अवस्थामा राखिएको छ। कुनै पनि अप्रिय घटना भएमा तत्काल उद्धार तथा आवश्यक सुरक्षा व्यवस्थापन गर्न सक्ने गरी टोली परिचालनको तयारी गरिएको प्रहरीले जनाएको छ।

विशेष सुरक्षा योजनाअन्तर्गत महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको सुरक्षालाई समेत प्राथमिकतामा राखिएको प्रवक्ता काफ्लेले बताए। यात्राका क्रममा हुने दुर्व्यवहार, चोरी, लुटपाट तथा अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरीलाई सक्रिय बनाइएको उनको भनाइ छ।

प्रवक्ता काफ्लेले कुनै पनि शंकास्पद गतिविधि वा आपराधिक घटना देखिएमा तत्काल प्रहरीको हटलाइन नम्बर १०० मा जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

‘आफ्नो सानो असावधानीले आफूलाई मात्र नभई छरछिमेकीलाई समेत मानवीय र भौतिक क्षति हुन सक्छ। त्यसैले सबैले सावधानी अपनाएर अनुशासित र मर्यादित रूपमा चाडपर्व मनाऔँ। नागरिकको सुरक्षा र शान्तिका लागि नेपाल प्रहरी सदैव साथमा छ,’ उनले भने।

नेपाल प्रहरीका अनुसार तिहारदेखि छठ पर्वको भोलिपल्टसम्म देशभर विशेष सुरक्षा योजना लागू रहनेछ। चाडपर्वको अवधिभर सम्भावित जोखिम न्यूनीकरण, आपराधिक गतिविधि नियन्त्रण तथा नागरिकको जीउधनको सुरक्षालाई प्राथमिकतामा राखेर प्रहरी परिचालन गरिनेछ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here