काठमाडौं,२२ असोज । दसैँलगायत चाडपर्वका समयमा यात्रुको चाप बढ्ने भएकाले यातायात व्यवसायीले मनपरी भाडा असुल्न नपाउने भएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारले निर्धारण गरेकोभन्दा बढी भाडा नलिन व्यवसायी तथा चालकलाई निर्देशन दिँदै बढी भाडा असुल गर्ने सवारीसाधनमाथि कारबाही हुने जनाएको छ।
महासंघका महासचिव डेकनाथ गौतमले चाडपर्वका समयमा यात्रुको चाप बढ्ने भएकाले भाडा असुलीमा मनपरी नगर्न व्यवसायीलाई निर्देशन दिइएको बताए। उनका अनुसार सरकारले तोकेकोभन्दा बढी रकम यात्रुसँग लिने सवारीसाधनमाथि कारबाही गरिनेछ।
सरकारले यस वर्षको दसैँलाई लक्षित गर्दै असोज २३ गतेदेखि देशभर यात्रुवाहक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरिसकेको छ। यात्रु तथा मालवाहक सवारीसाधनको सञ्चालनलाई सहज, व्यवस्थित र सुरक्षित बनाउन यातायात व्यवस्था विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, मजदुर संघ–संगठन, प्रहरी प्रधान कार्यालय तथा उपत्यका ट्राफिक प्रहरी कार्यालयबीचको समन्वयमा यस्तो निर्णय गरिएको हो।

महासंघले सातै प्रदेश, जिल्ला समिति, सदस्य संघ–संस्था तथा काठमाडौंको गोङ्गबु बसपार्कमा कार्यरत शाखा प्रमुख र कर्मचारीलाई आवश्यक निर्देशन दिएको छ। अग्रिम टिकट बुकिङ काउन्टरमा खटिने कर्मचारीले अनिवार्य रूपमा तोकिएको पोसाक र परिचयपत्र लगाउनुपर्ने व्यवस्था गरिएको छ।
यात्रुलाई सहज रूपमा टिकट उपलब्ध गराउन तथा यात्रुसँग नम्र व्यवहार गर्न पनि महासंघले कर्मचारी तथा व्यवसायीलाई निर्देशन दिएको छ। चाडपर्वको समयमा यात्रुलाई सुरक्षित र सहज यात्राको वातावरण बनाउन आवश्यक व्यवस्था मिलाउन महासंघले जोड दिएको छ।
ठूला सवारीसाधन सञ्चालनमा रोक
दसैँका बेला सडकमा हुने भीड व्यवस्थापनलाई ध्यान दिँदै असोज २५ गते घटस्थापनादेखि कात्तिक ८ गतेसम्म नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरसहित ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ।
तर खाद्य सामग्री, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारीसाधनको आवतजावतमा भने रोक नलगाइने जनाइएको छ।
त्यस्तै, घटस्थापनादेखि कात्तिक १० गतेसम्म यात्रुवाहक सवारीसाधनका लागि देशभर लामो तथा मध्यम रुट परमिट खुला गरिएको छ। सडकको विशेष अवस्थाका कारण निश्चित आकार–प्रकारका सार्वजनिक सवारीसाधन सञ्चालनमा लगाइएको प्रतिबन्ध भने यथावत् रहने महासंघले जनाएको छ।
प्रमुख नाकामा यात्रु सहायता कक्षको अनुगमन
चाडपर्वका बेला यात्रुको आवागमन बढ्ने भएकाले काठमाडौं उपत्यकाका प्रमुख नाकामा स्थापना गरिएका यात्रु सहायता कक्षको अनुगमन तथा सहजीकरण गर्न यातायात व्यवस्था विभागले फोकल पर्सनसहितको टोली परिचालन गर्ने भएको छ।
महासंघले गोङ्गबु बसपार्क, कलङ्की, कोटेश्वर, गौशाला र चाबहिल क्षेत्रमा समेत जिम्मेवारी तोकेको छ। यी क्षेत्रमा यात्रुलाई टिकट प्राप्त गर्नेदेखि सवारी सञ्चालन र यात्रु व्यवस्थापनसम्मका विषयमा सहजीकरण गरिनेछ।
चाडपर्वका बेला यात्रुवाहक सवारीसाधनको प्राविधिक अवस्थालाई पनि प्राथमिकतामा राखिएको महासंघले जनाएको छ। यातायात व्यवस्था विभागको सवारी परीक्षण कार्यालय, टेकुबाट प्राविधिक कर्मचारी खटाएर गोङ्गबु बसपार्कमै सवारीसाधनको निःशुल्क फिटनेस परीक्षण गर्ने व्यवस्था मिलाइने भएको छ।
दसैँमा यात्रुको चापसँगै सवारीसाधनको संख्या र सडकमा आवागमनसमेत बढ्ने भएकाले भाडा असुलीमा निगरानी, टिकट व्यवस्थापन, यात्रु सहायता तथा सवारीको प्राविधिक अवस्थालाई एकसाथ प्राथमिकतामा राखिएको महासंघले जनाएको छ।

