29.7 C
Birgunj
Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026
spot_img

कांग्रेसको नेतृत्व चयनमा ढिलाइ, मतदानको समय तेस्रोपटक परिवर्तन

काठमाडौं,२२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज हुने भनिएको मतदानको समय फेरि सरेको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार अब मतदान दिउँसो १ बजेदेखि सुरु हुनेछ।

यसअघि निर्वाचन समितिले बिहान ७ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। तर भारी वर्षा तथा केही प्राविधिक कारण देखाउँदै मतदानको समय तीन घण्टा पछि सारेर बिहान १० बजे पुर्‍याइएको थियो। निर्धारित बिहान १० बजेको समयमा समेत मतदान सुरु हुन नसकेपछि निर्वाचन समितिले पुनः समय परिवर्तन गर्दै दिउँसो १ बजेबाट मतदान सुरु गर्ने निर्णय गरेको हो।

कांग्रेसको नयाँ केन्द्रीय नेतृत्व चयनका लागि हुने मतदानमा महाधिवेशनमा सहभागी ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्। उनीहरूले सभापतिसहित पदाधिकारी तथा विभिन्न केन्द्रीय सदस्य पदका उम्मेदवारलाई मतदान गर्नेछन्। नयाँ नेतृत्वका लागि सभापति, पदाधिकारी र केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका नेताहरूको अन्तिम नामावली निर्वाचन समितिले बुधबार साँझ सार्वजनिक गरिसकेको छ। त्यससँगै विभिन्न पदमा उम्मेदवारी दिएका नेताहरूबीचको प्रतिस्पर्धा औपचारिक रूपमा मतदानको चरणमा पुगेको छ।

यसपटकको १५औँ महाधिवेशनले विधान संशोधन गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाएको छ। सोही संरचनाअनुसार सभापति, पदाधिकारी तथा केन्द्रीय सदस्य चयनका लागि मतदान हुँदैछ। मतदानको समय पटक–पटक सरेपछि महाधिवेशन प्रतिनिधिहरू लामो समयदेखि मतदानको प्रतीक्षामा छन्। अब निर्वाचन समितिले तोकेको नयाँ कार्यतालिकाअनुसार दिउँसो १ बजेबाट मतदान प्रक्रिया अघि बढ्नेछ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here