वीरगंज,२० असोज । पर्साको जिराभवानी गाउँपालिकामा विद्यालय सुधार योजना (एसआईपी) लाई थप समावेशी, सहभागितामूलक र प्रभावकारी बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
युरोपियन युनियनको आर्थिक सहयोग तथा पिपुल इन निड, अकाउन्टेबिलिटी ल्याब नेपाल, नेसनल क्याम्पेन फर एजुकेसन नेपाल (एनसीई नेपाल) र नेपाल अपांग महिला संघको सहकार्यमा दिव्य विकास स्रोत केन्द्र, पर्साको साझेदारीमा सञ्चालित पहुँच परियोजनाअन्तर्गत उक्त अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो। जिराभवानी गाउँपालिकाअन्तर्गतका नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कठकुइया–बसन्तपुर, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सेढवा र श्री बिता महतो जनता माध्यमिक विद्यालय नौकाटोलाका प्रतिनिधिहरूको सहभागितामा कार्यक्रम सञ्चालन गरिएको थियो।
अभिमुखीकरणका क्रममा विद्यालय सुधार योजना निर्माण तथा अद्यावधिक गर्दा विद्यालयमा अध्ययनरत सबै बालबालिकाको पहुँच, सहभागिता, आवश्यकता र विविधतालाई प्राथमिकताका साथ समेट्नुपर्नेमा जोड दिइएको थियो। कार्यक्रममा गाउँपालिकाको शिक्षा शाखा प्रमुखका प्रतिनिधि हरिशंकर चौधरीले विद्यालय सुधार योजना विद्यालयको वास्तविक अवस्था, आवश्यकता र प्राथमिकताका आधारमा निर्माण गर्नुपर्ने बताए। उनले विद्यालयमा अध्ययनरत कुनै पनि बालबालिका योजनाको पहुँचबाट बाहिर नपर्ने गरी समावेशी दृष्टिकोण अपनाउनुपर्नेमा जोड दिँदै तयार गरिएको योजनालाई प्रभावकारी रूपमा कार्यान्वयनमा लैजानुपर्ने बताए।
अभिमुखीकरण कार्यक्रममा प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक–अभिभावक संघका प्रतिनिधि तथा सूचना प्रविधिसम्बन्धी कार्य गर्ने शिक्षकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा विद्यालयको वर्तमान अवस्था पहिचान गर्ने, विद्यालयमा रहेका आवश्यकता र चुनौतीहरू निर्धारण गर्ने, प्राथमिकता तय गर्ने तथा सबै पक्षको सहभागितामा समावेशी विद्यालय सुधार योजना निर्माण र अद्यावधिक गर्ने विषयमा सहजीकरण गरिएको थियो। त्यस्तै, तयार गरिएको योजनालाई प्रभावकारी रूपमा कार्यान्वयनमा लैजाने प्रक्रियाका विषयमा समेत सहभागीहरूलाई जानकारी गराइएको थियो।
अभिमुखीकरणपछि तीनवटै विद्यालयका प्रतिनिधिहरूले असोज मसान्तभित्र विद्यालय सुधार योजनालाई समावेशी दृष्टिकोणबाट अद्यावधिक गरी कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएका छन्। विशेषगरी विद्यालय शिक्षामा पछाडि पारिएका, सीमान्तकृत तथा वञ्चित समुदायका बालबालिकाको आवश्यकता, पहुँच र सहभागितालाई विद्यालयको योजना निर्माणदेखि कार्यान्वयन प्रक्रियासम्म सुनिश्चित गर्ने उद्देश्यले विद्यालयका प्रतिनिधिहरूले प्रतिबद्धता व्यक्त गरेका हुन्।
आयोजकका अनुसार विद्यालय सुधार योजना निर्माण गर्दा सबै बालबालिकाको अवस्था र आवश्यकतालाई समेट्न सकेमा विद्यालयको शैक्षिक वातावरणलाई थप समावेशी र सहभागितामूलक बनाउन सहयोग पुग्नेछ। यसका लागि विद्यालयका शिक्षक, व्यवस्थापन समिति, अभिभावक तथा अन्य सरोकारवालाबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा समेत कार्यक्रममा जोड दिइएको थियो।
कार्यक्रमको सहजीकरण दिव्य विकास स्रोत केन्द्र, पर्साका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मीले गरेका थिए। कार्यक्रममा अकाउन्टेबिलिटी ल्याब नेपालका प्रतिनिधि अकलेश कुमार साह तथा दिव्य विकास स्रोत केन्द्रका कार्यक्रम जिम्मेवार अमित कुमार राउतले सहजीकरण तथा समन्वयमा सहयोग गरेका थिए।
अभिमुखीकरण कार्यक्रमले विद्यालयका सरोकारवालालाई समावेशी विद्यालय सुधार योजनाको आवश्यकता, योजना निर्माण तथा अद्यावधिक गर्ने प्रक्रिया र त्यसको प्रभावकारी कार्यान्वयनका विषयमा थप स्पष्टता प्रदान गरेको आयोजकले जनाएको छ।
विद्यालयमा अध्ययनरत सबै बालबालिकाको समान पहुँच, सहभागिता र आवश्यकतालाई योजनामा समेट्दै विद्यालय सुधारको प्रक्रियालाई थप प्रभावकारी बनाउने दिशामा कार्यक्रम महत्वपूर्ण रहेको आयोजकको भनाइ छ।

