27 C
Birgunj
Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026
spot_img

लोकतन्त्रप्रतिको हाम्रो प्रतिबद्धतामा दायाँबायाँ हुँदैन : रवि लामिछाने

काठमाडौँ,१८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले लोकतन्त्रका मूल्य, मान्यता र संस्थालाई थप सुदृढ तथा संस्थागत बनाउने पक्षमा आफ्नो पार्टी दृढ रहेको बताउनुभएको छ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्दै सभापति लामिछानेले नेपाली जनताको त्याग, बलिदान र लामो संघर्षबाट प्राप्त लोकतान्त्रिक उपलब्धिको रक्षा गर्न रास्वपा अग्रपङ्क्तिमा उभिने स्पष्ट पार्नुभयो।

उहाँले लोकतन्त्रका मूल्य र मान्यताबाट आफूहरू कुनै पनि अवस्थामा विचलित नहुने बताउँदै भन्नुभयो, “तपाईंहरूमाझ पूर्ण विश्वाससहित भन्न चाहन्छु, हामी लोकतन्त्रका मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ । यससँग सम्बन्धित संस्थालाई अझ बलियो बनाएर नेपाली जनताको त्याग, बलिदान र तपस्याबाट प्राप्त परिवर्तनको रक्षा गर्ने क्रममा अग्रपङ्क्तिमा उभिनेछौँ ।”

सभापति लामिछानेले लोकतन्त्रलाई निर्वाचनका माध्यमबाट अझ समृद्ध र बलियो बनाउन सकिने धारणा राख्नुभयो। राजनीतिक दलहरूबीच आस्था र विश्वास फरक हुनसक्ने भए पनि सरकारको नियत सही रहेको उहाँको दाबी थियो। सरकारबाट भएका कतिपय निर्णय विवादमा पर्न सक्ने वा कतिपय निर्णय खराब हुनसक्ने स्वीकार गर्दै उहाँले त्यस्ता निर्णय सच्याउन सकिने बताउनुभयो। तर लोकतन्त्रप्रतिको प्रतिबद्धतामा कुनै सम्झौता नहुने उहाँको भनाइ थियो।

“सरकारको नियत सही छ । कुनै निर्णय विवादमा पर्न सक्लान्, कुनै निर्णय खराब हुन सक्लान्, हामी सच्याउँछौँ”, उहाँले भन्नुभयो, “तर लोकतन्त्रप्रतिको हाम्रो प्रतिबद्धता, त्यसमा दायाँबायाँ हुँदैन, त्यसलाई डगमगाउन दिँदैनौँ । म यहाँहरूलाई विश्वस्त हुनका निम्ति अनुरोध गर्न चाहन्छु।”

सभापति लामिछानेले विगतमा आफूले संसद्मै दुई ठूला राजनीतिक दल कुनै स्पष्ट कारण, संकट वा उद्देश्यबिना एक ठाउँमा आउँदा त्यसले राजनीतिक संकट निम्त्याउन सक्ने चेतावनी दिएको स्मरण गर्नुभयो। उहाँले अहिलेको राजनीतिक परिस्थितिले आफ्नो त्यतिबेलाको भनाइलाई पुष्टि गरेको दाबी गर्नुभयो।

“मैले त्यतिखेर संसद्मै भनेको थिएँ कि दुई ठूला राजनीतिक दलविना कुनै कारण, विनाकुनै सङ्कट, विनाकुनै उद्देश्य एक ठाउँमा आउँदा त्यसले सङ्कट पैदा गर्छ भनेर । अहिले त्यो सत्य सावित भएको छ, त्यसले हामीलाई जन्मायो”, उहाँले भन्नुभयो।

लामिछानेले लोकतन्त्रको रक्षाको सम्पूर्ण जिम्मेवारी आफूहरूले मात्र लिने दाबी नगर्न नेपाली कांग्रेसलगायत पुराना राजनीतिक दललाई आग्रहसमेत गर्नुभयो। लोकतन्त्रको रक्षा गर्ने नाममा त्यसको सम्पूर्ण जिम्मेवारी आफैँले लिने प्रवृत्ति उचित नभएको उहाँको भनाइ थियो।

“लोकतन्त्रको यति धेरै दुहाइ पनि नदिनुहोस् कि लोकतन्त्रको सबै रक्षा हामीले नै गर्छौँ भनेर, पूरै ठेक्कापट्टा लिने काम नगर्नुहोस्”, उहाँले भन्नुभयो।

इतिहासलाई साक्षी राखेर इतिहास बदल्ने प्रेरणासहित सरकार गठन गरिएको उल्लेख गर्दै सभापति लामिछानेले अहिले मुलुकमा लोकतन्त्रमाथि कुनै पनि प्रकारको खतरा नरहेको दाबी गर्नुभयो। लोकतन्त्रप्रति आशंका गर्नुपर्ने अवस्था नरहेको भन्दै उहाँले सबैलाई ढुक्क हुन आग्रह गर्नुभयो।

लोकतन्त्रमाथि कहीँकतैबाट खतरा देखिए त्यसको प्रतिवाद नेपाली जनताले नै गर्ने र लोकतन्त्रको रक्षा गर्ने उहाँले बताउनुभयो। देश र जनताको पक्षमा रचनात्मक सहयोग गर्दै नेपाली जनताको विश्वास जितेर आगामी निर्वाचनमार्फत सरकारमा आउन सकिने बाटो खुला रहेको पनि उहाँले उल्लेख गर्नुभयो।

सभापति लामिछानेले नेपालको लोकतान्त्रिक आन्दोलनमा नेपाली कांग्रेसले खेलेको भूमिकाको प्रशंसा गर्दै कांग्रेस देशको सबैभन्दा पुरानो राजनीतिक पार्टी भएको उल्लेख गर्नुभयो। कांग्रेसको १५औँ महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै उहाँले लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउन महाधिवेशन महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो।

लामिछानेको सम्बोधनमा लोकतन्त्रको रक्षा, राजनीतिक दलबीचको सम्बन्ध, सरकारको कार्यशैली तथा आगामी निर्वाचनमार्फत जनताको विश्वास प्राप्त गर्ने विषय प्रमुख रूपमा उठाइएको थियो।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here