27.5 C
Birgunj
Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026
spot_img

आकर्षक तलबको प्रलोभन देखाएर वैदेशिक रोजगारीका नाममा ठगी, दुई पक्राउ

काठमाडौं,१७ असोज । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देशमा पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–८ बस्ने सोही महानगरपालिका–२१ घर भएका ४५ वर्षीय गिरिस विलास जोशी र काठमाडौं महानगरपालिका–१३ बस्ने धादिङको गल्छी गाउँपालिका–३ घर भएका ४७ वर्षीय निलकण्ठ खनाल रहेका छन् । प्रहरीका अनुसार जोशीले एक जना पीडितलाई ग्रिस पठाइदिने भन्दै २ लाख रुपैयाँ लिएका थिए । रकम लिएपछि उनी पीडितको सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, खनालले क्रोएशिया पठाइदिने भन्दै तीन जना पीडितबाट ९ लाख ५० हजार रुपैयाँ लिएको र त्यसपछि सम्पर्कविहीन भएको केन्द्रीय समाचार कक्षले जनाएको छ । यसरी दुवै जनाले वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभनमा पीडितहरूबाट कुल ११ लाख ५० हजार रुपैयाँ लिएको प्रारम्भिक विवरणबाट देखिएको छ ।

वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम लिएर सम्पर्कविहीन भएपछि पीडितहरूले दिएको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

वैदेशिक रोजगारीमा जाने क्रममा अपरिचित व्यक्ति वा अनधिकृत माध्यमलाई रकम बुझाउँदा ठगीमा पर्न सक्ने भएकाले सम्बन्धित निकायबाट आवश्यक विवरण र प्रक्रिया बुझेर मात्रै रकम तथा कागजात बुझाउनुपर्ने देखिन्छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here