27.5 C
Birgunj
Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026
spot_img

पुरानो आयात मूल्यलाई आधार बनाएर टेस्लामा थप राजस्व मागिएको भन्दै विरोध

वीरगंज,१७ असोज । विश्व बजारमा टेस्लाका विद्युतीय सवारीसाधनको मूल्य घटिरहेका बेला नेपालमा भने वास्तविक खरिद मूल्यभन्दा पुरानो आयात मूल्यलाई आधार बनाएर थप भन्सार राजस्व मागिएको भन्दै कायरोस इन्टरनेशनल प्रालिले आपत्ति जनाएको छ ।

कम्पनीका अनुसार चीनको सांघाईमा उत्पादन भएको टेस्ला मोडल वाई आरडब्लुडी नेपाल आयात गरेपछि वीरगंज भन्सार कार्यालयले यसअघि छुट भएको भनिएको भन्सार राजस्व दाखिला गर्न ताकेता गरेको हो । भन्सार कार्यालयले असोज ११ गते पत्र पठाउँदै थप राजस्व दाखिला गर्न भनेको कम्पनीको भनाइ छ । कायरोसका अनुसार दुईवटा गाडीमा मात्रै प्रतिगाडी करिब ७८ देखि ७९ लाख रुपैयाँका दरले थप राजस्व माग गरिएको छ । जाँचपास भइसकेर ग्राहकलाई बिक्रीसमेत भइसकेका गाडीमा पछि आएर ठूलो रकम थप राजस्वका रूपमा माग गरिएपछि आफूहरू समस्यामा परेको कम्पनीले जनाएको छ ।

कम्पनीका भन्सार प्रतिनिधि मधुकुमार बरालका अनुसार अहिले नेपाल आयात भएका टेस्ला गाडी चीनको सांघाईमा उत्पादन भएका हुन् । ती गाडी हङकङ हुँदै नेपाल ल्याइएको उनले बताए । उनका अनुसार यसअघि अमेरिकाबाट आयात भएका समान मोडलका गाडीको तुलनामा चीनमा उत्पादन भएको टेस्लाको खरिद मूल्य तथा ढुवानी लागत कम परेको छ । त्यसैले विगतमा कायम भएको आयात मूल्यलाई अहिलेको आयातमा पनि आधार बनाउनु व्यावहारिक नहुने कम्पनीको तर्क छ ।

पुरानो र नयाँ आयात मूल्यमा ठूलो अन्तर

बरालका अनुसार करिब छ महिनाअघि अमेरिकाबाट टेस्ला गाडी आयात गर्दा प्रतिगाडी ३४ हजार ५०० अमेरिकी डलर अर्थात् करिब ५० लाख ६२ हजार रुपैयाँको मूल्य कायम गरिएको थियो । उक्त मूल्यका आधारमा विभिन्न शीर्षकमा गरी करिब ७९ लाख ११ हजार रुपैयाँ राजस्व दाखिला गरिएको उनले बताए । तर अहिले चीनको सांघाईमा उत्पादन भएको सोही ब्रान्ड र मोडलको गाडीको खरिद मूल्य नै कम परेको कम्पनीको दाबी छ । अन्तर्राष्ट्रिय बजारमा नयाँ मोडल तथा नयाँ उत्पादन बजारमा आउँदा पुराना मोडलको मूल्य घट्नु स्वाभाविक हुने बरालको भनाइ छ । कायरोसका अनुसार हाल आयात गरिएको गाडीको हङकङस्थित एमआरपी २ लाख ५४ हजार हङकङ डलर रहेको छ । तर भ्याट तथा एजेन्सी छुटलगायत रकम समायोजन गर्दा वास्तविक मूल्य करिब २ लाख ५०० हङकङ डलर पर्न आउने कम्पनीले जनाएको छ ।

नेपाली रुपैयाँमा रूपान्तरण गर्दा उक्त गाडीको आधारभूत मूल्य करिब ३८ देखि ३९ लाख रुपैयाँ हुने कम्पनीको दाबी छ । कम्पनीले उपलब्ध गराएको विवरणअनुसार सो मूल्यमा भन्सार महसुल, एकीकृत महसुल, सडक सम्भार दस्तुर र भ्याटसमेत जोड्दा कुल कर तथा राजस्व करिब ३५ लाख ८५ हजार रुपैयाँ पर्ने जनाएको छ । कम्पनीले वास्तविक खरिद मूल्य र आयातसम्बन्धी कागजातका आधारमा मूल्यांकन हुनुपर्नेमा विगतमा अमेरिकाबाट आयात भएको समान मोडलको मूल्यलाई आधार बनाएर थप राजस्व निर्धारण गरिएको भन्दै असन्तुष्टि जनाएको हो ।

जाँचपास भइसकेका गाडीमा फेरि राजस्व माग

कायरोसका अनुसार चालु आर्थिक वर्षमा जुलाई २९ र सेप्टेम्बर ९ मा दुई खेपमा टेस्ला मोडल वाई आरडब्लुडी नेपाल आयात गरिएको थियो । वीरगंज भन्सार कार्यालयबाट ती गाडीको जाँचपास भइसकेको र ग्राहकलाई बिक्रीसमेत भइसकेको कम्पनीले जनाएको छ । तर जाँचपास भएको केही समयपछि सञ्चारमाध्यममा प्रकाशित समाचारलाई आधार बनाउँदै वीरगंज भन्सार कार्यालयको आन्तरिक लेखापरीक्षणबाट कम राजस्व असुल भएको निष्कर्ष निकालिएको भन्दै थप रकम दाखिला गर्न पत्र पठाइएको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार गाडी बिक्री भइसकेकाले ग्राहकबाट पुनः थप रकम उठाउन सम्भव छैन । ग्राहकले खरिदका क्रममा तोकिएको मूल्यअनुसार सम्पूर्ण रकम भुक्तानी गरिसकेको कायरोसले जनाएको छ । जाँचपासका क्रममा भन्सार कार्यालयले निर्धारण गरेको मूल्य र त्यसअनुसारको कर तथा राजस्व तिरेर गाडी बिक्री गरिसकेपछि पुनः ठूलो रकम थप दायित्वका रूपमा सिर्जना हुँदा व्यवसायीमाथि आर्थिक भार पर्ने कम्पनीको भनाइ छ ।

वास्तविक खरिद मूल्यका आधारमा मूल्यांकन हुनुपर्ने तर्क

आयातकर्ता पक्षले भन्सार मूल्यांकन गर्दा गाडी उत्पादन भएको देश, वास्तविक खरिद मूल्य, ढुवानी खर्च, आयातसम्बन्धी कागजात तथा अन्तर्राष्ट्रिय बजारमा उपलब्ध मूल्यलाई समेत आधार बनाउनुपर्ने तर्क गरेको छ । कम्पनीका अनुसार एउटै ब्रान्ड र मोडलका सवारीसाधन विभिन्न देशमा फरक लागतमा उत्पादन हुन सक्छन् । उत्पादन लागत, ढुवानी खर्च, बजार, एजेन्सी छुट तथा अन्य व्यापारिक परिस्थितिअनुसार एउटै गाडीको वास्तविक खरिद मूल्यसमेत फरक पर्न सक्ने कम्पनीको दाबी छ । त्यसैले विगतमा कुनै अर्को देशबाट आयात गरिएको समान मोडलको मूल्यलाई आधार बनाएर पछिल्लो आयातको मूल्यांकन गर्नुको सट्टा प्रत्येक आयातसँग सम्बन्धित वास्तविक व्यापारिक कागजातका आधारमा मूल्यांकन गरिनुपर्ने आयातकर्ता पक्षको भनाइ छ । कम्पनीले अन्तर्राष्ट्रिय बजारमा समयअनुसार सवारीसाधनको मूल्य घटबढ भइरहने भएकाले भन्सार मूल्यांकनमा त्यसलाई समेत व्यवहारिक रूपमा सम्बोधन गर्नुपर्ने जनाएको छ ।

थप राजस्व फिर्ता नभए आन्दोलनको चेतावनी

थप राजस्वको माग फिर्ता नभए व्यवसायीहरूले आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिएका छन् । आयातकर्ता पक्षले जाँचपास भएर बिक्री भइसकेका गाडीमा पछि गएर ठूलो कर दायित्व सिर्जना हुँदा व्यवसायी मात्र नभई ग्राहकसमेत प्रभावित हुने जनाएको छ । व्यवसायीहरूका अनुसार आयातका क्रममा आवश्यक कागजात पेस गरी भन्सार मूल्यांकन र जाँचपास पूरा भएपछि ग्राहकलाई गाडी बिक्री गरिएको अवस्थामा लामो समयपछि पुनः ठूलो रकम राजस्वका रूपमा माग गरिँदा व्यापारिक अनिश्चितता बढ्न सक्छ । उनीहरूले अन्तर्राष्ट्रिय बजारमा एउटै सवारीसाधनको मूल्य समय र उत्पादनस्थलअनुसार परिवर्तन हुन सक्ने भएकाले वास्तविक खरिद मूल्यका आधारमा भन्सार मूल्यांकन गर्ने कि विगतमा कायम भएको आयात मूल्यलाई आधार बनाउने भन्ने विषयमा स्पष्ट नीति आवश्यक रहेको बताएका छन् ।

व्यवसायीहरूले यस्तो विषयमा स्पष्ट र व्यवहारिक कार्यविधि बनाएर वास्तविक व्यापारिक कागजातका आधारमा भन्सार मूल्यांकन गर्ने व्यवस्था गर्नुपर्ने मागसमेत गरेका छन् ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here