27.7 C
Birgunj
Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026
spot_img

वीरगंजको मुख्य सडकमा विद्युत् तार भूमिगत गर्न महानगरको दबाब

वीरगंज,१२ असोज । वीरगंज महानगरपालिकाले मुख्य सडक विस्तारसँगै विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्न आवश्यक बजेट तत्काल विनियोजन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग माग गरेको छ ।

महानगर प्रमुख राजेशमान सिंहले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीलाई पत्र पठाउँदै सडक विस्तारपछि विद्युत्का तार पुनः ओभरहेड प्रणालीबाट व्यवस्थापन गर्दा भविष्यमा सडक मर्मत, विस्तार, यातायात व्यवस्थापन तथा शहरी सौन्दर्यीकरणमा समस्या आउन सक्ने भन्दै अहिले नै विद्युत् प्रणाली भूमिगत गर्न आग्रह गरेका हुन् । महानगर प्रमुख सिंहले सडक विस्तारको सुरुवातदेखि नै विस्तारपछि निर्माण हुने मुख्य सडकखण्डमा विद्युत् प्रणाली भूमिगत गर्नुपर्ने माग गर्दै आएका थिए । तर डिभिजन सडक कार्यालय, हेटौँडाले नयाँ सडक डिजाइनमा विद्युत्का तार हालकै ओभरहेड प्रणालीबाट व्यवस्थापन गर्ने योजना रहेको जानकारी दिएपछि महानगरले भूमिगत प्रणालीका लागि पुनः पहल थालेको हो ।

सडक विस्तार अन्तिम चरणमा, भूमिगत प्रणालीको माग

त्रिभुवन राजपथअन्तर्गत गण्डक–घण्टाघर–भन्सार सडकखण्डको दायाँ–बायाँ २५/२५ मिटर विस्तारको काम अन्तिम चरणमा पुगेको छ । सडक विस्तारसँगै विद्युत् प्रणालीसमेत भूमिगत गर्नुपर्ने महानगरको धारणा छ । महानगरका अनुसार सडक विस्तारपछि पुनः पोल र विद्युत्का तारलाई सडकको माथिबाटै व्यवस्थापन गरिएमा भविष्यमा सडक मर्मत, थप विस्तार तथा यातायात व्यवस्थापनका क्रममा समस्या उत्पन्न हुन सक्छ । त्यसैले अहिले भइरहेको सडक विस्तारकै क्रममा विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्न आवश्यक रहेको महानगरले जनाएको छ ।

वीरगंज मुलुककै प्रमुख औद्योगिक, व्यापारिक तथा सीमावर्ती शहर भएकाले मुख्य सडकलाई दीर्घकालीन रूपमा आधुनिक, सुरक्षित, व्यवस्थित र सुन्दर बनाउन भूमिगत विद्युत् प्रणाली आवश्यक रहेको महानगरको भनाइ छ ।

पोल र तार हट्दा सडकको सौन्दर्य बढ्ने अपेक्षा

महानगरले विद्युत्का तार भूमिगत गरिएपछि सडकमा रहेका पोल तथा तार हट्ने र त्यसबाट सडकको दृश्य सौन्दर्यमा समेत सुधार आउने अपेक्षा गरेको छ । साथै विद्युत् वितरण प्रणाली थप सुरक्षित र व्यवस्थित हुने महानगरको भनाइ छ । मुख्य सडकमा विद्युत्का पोल तथा तार हटाउँदा सडक क्षेत्रको व्यवस्थापन सहज हुनुका साथै भविष्यमा सडक मर्मत तथा विस्तारका क्रममा पनि कम अवरोध हुने महानगरले जनाएको छ ।

बजेट सुनिश्चित गर्न मन्त्रालयसँग आग्रह

महानगर प्रमुख सिंहले सम्बन्धित मन्त्रालय तथा निकायबीच आवश्यक समन्वय गरी भूमिगत विद्युत् प्रणाली निर्माणका लागि आवश्यक बजेट सुनिश्चित गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग आग्रह गरेका छन् । उनले भूमिगत विद्युत् प्रणाली निर्माणका लागि सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिनसमेत मन्त्रालयलाई आग्रह गरेका छन् ।

सडक विस्तारको काम अघि बढिरहेका बेला विद्युत् प्रणाली पनि सोहीअनुसार दीर्घकालीन योजनासहित व्यवस्थापन गर्नुपर्ने महानगरको जोड छ । महानगरले अहिले नै विद्युत् तार भूमिगत गर्ने व्यवस्था गरिएमा भविष्यमा सडक मर्मत, विस्तार, यातायात व्यवस्थापन तथा शहरी सौन्दर्यीकरणमा देखिन सक्ने विभिन्न समस्या न्यूनीकरण गर्न सकिने जनाएको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here