त्रिशूली (नुवाकोट),११ असोज । निरन्तरको वर्षासँगै त्रिशूली नदीमा पानीको बहाव बढेपछि नुवाकोटको विदुर नगरपालिकाका विभिन्न चार स्थानमा सञ्चालनमा ल्याइएका तुइन बन्द गरिएको छ । तुइनका घिर्नी सञ्चालनमा प्राविधिक समस्या देखिनुका साथै नदीको बढ्दो बहावका कारण जोखिम बढेपछि तुइन सेवा रोकिएको हो ।
तुइन बन्द भएपछि त्रिशूली नदी वारपार गर्ने स्थानीयवासीलाई वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने बाध्यता भएको छ । नदी पार गर्न बेलकोटगढी नगरपालिकातर्फ रहेको झोलुङ्गे पुल वा धादिङको गल्छीस्थित पक्की पुल हुँदै घुमेर आवतजावत गर्नुपर्ने अवस्था सिर्जना भएको छ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले नदी वारपार गर्ने पुलहरू तथा सडकका पहुँचमार्गसमेत बगाएपछि स्थानीयवासीको आवतजावत सहज बनाउन विदुर नगरपालिकासँगको सहकार्यमा बागमती प्रदेश सरकारले विभिन्न चार स्थानमा तुइन जडान गरी सञ्चालनमा ल्याएको थियो ।
त्रिशूली नदी वारपारका बस्तीलाई आपसमा जोड्ने गरी विदुर नगरपालिका–१ इन्द्रायणीचौरमा दुई स्थानमा तुइन जडान गरिएको थियो । त्यस्तै, वडा नं. ४ र १२ जोड्ने सिमचौर तथा वडा नं. ५ र ३ जोड्ने देवीघाटमा एक–एक स्थानमा तुइन सञ्चालनमा ल्याइएको थियो । पूर्वाधार विकास कार्यालय नुवाकोटका प्रमुख सुजन थापाका अनुसार निरन्तर वर्षा भइरहेका कारण तुइनका घिर्नी सञ्चालनमा प्राविधिक कठिनाइ देखिएको छ । नदीको बहाव उच्च रहेकाले तुइनबाट नदी वारपार गर्ने क्रममा बीचमै अड्किन सक्ने जोखिमसमेत रहेकाले तत्कालका लागि सञ्चालन रोकिएको उहाँले जानकारी दिनुभयो ।
‘प्राविधिक समस्या र नदीको बहावबाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै तुइन सञ्चालन रोकिएको हो,’ उहाँले भन्नुभयो, ‘मौसम सफा भएर नदीको बहाव घटेपछि पुनः सञ्चालनमा ल्याइनेछ ।’
देवीघाटको तुइन थप जोखिममा
देवीघाटमा जडान गरिएको तुइनको लठ्ठा बाँधिएको रुखसमेत त्रिशूली नदीको कटानका कारण जोखिममा परेको छ । वडा नं. ३ तर्फ लठ्ठा बाँधिएको रुखमा नदीको कटानले क्षति पुर्याएपछि उक्त तुइन तत्काल सञ्चालन गर्न थप जोखिम देखिएको हो । प्रमुख थापाका अनुसार मौसम सफा भएपछि प्राविधिक अध्ययन गरेर मात्रै देवीघाटको तुइन पुनः सञ्चालनमा ल्याउने तयारी गरिएको छ । नदीको बहाव, कटानको अवस्था तथा तुइन जडान गरिएको संरचनाको सुरक्षित अवस्थाबारे प्राविधिक परीक्षण गरेपछि सञ्चालनको निर्णय गरिनेछ ।
आवतजावतसँगै राहत र उद्धारमा समस्या
भोटेकोशी बाढीपछि देवीघाटस्थित तादी खोलामा नेपाली सेनाको सहयोगमा एक्रोब्रिज सञ्चालनमा ल्याइएपछि धादिङतर्फको आवतजावत केही सहज भएको छ । तर, त्रिशूली नदीमा पानीको बहाव अझै उच्च रहेकाले तत्काल पक्की वा अन्य वैकल्पिक पुल निर्माण गर्न सक्ने अवस्था छैन । यस्तो अवस्थामा नदी वारपारका स्थानीयका लागि तुइन नै प्रमुख माध्यम बनेको थियो । तर, नदी वारपारको प्रमुख साधनका रूपमा रहेको तुइनसमेत बन्द भएपछि बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण तथा क्षतिग्रस्त संरचनाबाट भग्नावशेष हटाउने काममा समेत कठिनाइ भएको छ ।
विदुर नगरपालिका–७ का वडाध्यक्ष रबिन्द्र नेपालले नदी वारपार गर्न नसक्दा स्थानीय बस्तीमा दैनिक उपभोग्य सामग्रीको समेत अभाव हुन थालेको गुनासो गर्नुभयो । बाढीबाट प्रभावित घर तथा संरचनाको भग्नावशेष हटाउने र प्रभावित परिवारसम्म राहत पुर्याउने काममा समेत आवतजावत अवरुद्ध हुँदा समस्या थपिएको उहाँको भनाइ छ ।
उपचारका लागि समेत नदी पार गर्न कठिन
त्रिशूली नदी पार गर्ने सहज माध्यम बन्द हुँदा स्थानीयवासीलाई उपचारका लागि समेत समस्या भएको छ । सदरमुकाम विदुरबाट त्रिशूली नदी पारितर्फ रहेको त्रिशूली अस्पताल पुग्न नसक्दा बिरामीलाई जिल्ला बाहिर लैजानुपर्ने बाध्यता सिर्जना भएको छ । नदी वारपारको नियमित माध्यम अवरुद्ध भएपछि विदुरबाट त्रिशूली नदीपारिका विदुर नगरपालिकाका आठ वडासहित किस्पाङ र म्यागङ गाउँपालिकासँगको आवतजावतसमेत प्रभावित भएको छ ।
नदीको बहाव घटेपछि मौसमको अवस्था हेरेर तुइन पुनः सञ्चालनमा ल्याउने तयारी गरिएको भए पनि तत्कालका लागि नदीपारिका बस्तीका स्थानीयवासीले आवतजावत, उपचार, दैनिक उपभोग्य सामग्रीको आपूर्ति तथा राहत–उद्धारका काममा कठिनाइ बेहोर्नुपरेको छ ।

