काठमाडौँ,११ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले सांसदका स्वकीय सचिवहरूको भूमिका थप प्रभावकारी बनाउने उद्देश्यले आइतबार अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।
संसदीय कामकारबाहीलाई प्रभावकारी बनाउन सदनमा सांसदको उपस्थितिसँगै सही सूचना, व्यवस्थित समन्वय, जिम्मेवार टिम र स्पष्ट कार्यप्रणाली आवश्यक हुने भएकाले स्वकीय सचिवहरूको क्षमता र भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले पार्टीको विचार, अनुशासन तथा स्वकीय सचिवको जिम्मेवारी र कर्तव्यका विषयमा धारणा राख्नुभयो । उहाँले सांसदको संसदीय भूमिकालाई प्रभावकारी बनाउन स्वकीय सचिवको जिम्मेवारी महत्त्वपूर्ण हुने बताउनुभयो । त्यस्तै, सचेतक प्रकाशचन्द्र परियारले स्वकीय सचिवको भूमिका, संसदीय अभ्यासमा यसको महत्त्व तथा सांसदका कामलाई प्रभावकारी बनाउन स्वकीय सचिवले निर्वाह गर्नुपर्ने जिम्मेवारीबारे जानकारी गराउनुभयो ।
कार्यक्रममा सचेतक क्रान्तिशिखाले स्वकीय सचिवहरूले राखेका विभिन्न जिज्ञासा, प्रश्न तथा व्यावहारिक चुनौतीमाथि छलफल गर्दै आवश्यक स्पष्टता प्रदान गर्नुभयो । अभिमुखीकरण कार्यक्रमले सांसद र स्वकीय सचिवबीचको समन्वयलाई थप व्यवस्थित बनाउनुका साथै संसदीय कामकारबाहीलाई प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

