25.7 C
Birgunj
Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026
spot_img

वीरगंजमा सुरु भयो अनधिकृत होर्डिङ बोर्ड हटाउने अभियान

वीरगंज,११ असोज । वीरगंज महानगरपालिकाले सार्वजनिक स्थानमा अनुमति नलिई राखिएका होर्डिङ बोर्ड, ब्यानर तथा विभिन्न प्रचार सामग्री हटाउने अभियान सुरु गरेको छ । सार्वजनिक सम्पत्तिको संरक्षण, सडक तथा विद्युत् संरचनाको व्यवस्थापन र सहरी सौन्दर्य कायम गर्ने उद्देश्यले महानगरपालिकाले सार्वजनिक विद्युत्का खम्बा तथा अन्य सार्वजनिक स्थानमा नियमविपरीत राखिएका प्रचार सामग्री हटाउन थालेको हो ।

महानगरपालिकाका हरियाली संयोजक प्रकाश खेतानका अनुसार सार्वजनिक पोल तथा स्थानमा विज्ञापन सामग्री राख्नुअघि महानगरपालिकाबाट आवश्यक अनुमति लिनुपर्ने व्यवस्था छ । तर, वीरगंजका विभिन्न चोक तथा सडकमा रहेका विद्युत्का खम्बामा अनुमति नलिई निजी क्लिनिक, चिकित्सक तथा विभिन्न व्यवसायका प्रचार सामग्री टाँगिएको पाइएपछि ती सामग्री हटाउन थालिएको उहाँले जानकारी दिनुभयो ।

महानगरपालिकाले सञ्चालन गरेको अभियानअन्तर्गत वीरगंजका मुख्य सडक, चोक तथा विद्युत्का खम्बामा अनुमति नलिई राखिएका होर्डिङ बोर्ड, ब्यानर तथा अन्य प्रचार सामग्री हटाउने कार्यलाई तीव्रता दिइएको छ । हरियाली संयोजक खेतानले महानगरलाई स्वच्छ, सुन्दर र व्यवस्थित बनाउने जिम्मेवारी सबैको भएकाले सार्वजनिक सम्पत्तिको दुरुपयोग गरी सहरी सौन्दर्यमा असर पार्ने तथा अनुमति नलिई विज्ञापन सामग्री राख्ने कार्य स्वीकार्य नहुने बताउनुभयो ।

महानगरपालिकाले सार्वजनिक स्थानमा सम्बन्धित निकायको अनुमति नलिई होर्डिङ बोर्ड, ब्यानर वा अन्य कुनै पनि प्रकारका प्रचार सामग्री नराख्न व्यक्ति तथा सम्बन्धित संस्थालाई आग्रहसमेत गरेको छ । यसैबीच, वीरगंजको मुख्य सडकलाई आगामी दसैँअघि पूर्ण रूपमा सफा र व्यवस्थित बनाउने उद्देश्यले सडक डिभिजन कार्यालय हेटौँडाले त्रिभुवन राजपथअन्तर्गत गण्डक चोकदेखि मितेरीपुलसम्मको सडक क्षेत्रमा संरचना हटाउने काम सम्पन्न गरेको छ । सडकलाई दायाँ–बायाँ २५–२५ मिटर विस्तार गर्ने योजनाअनुसार उक्त सडकखण्डमा रहेका घरहरू भत्काउने काम सम्पन्न गरिएको हो ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here