25.7 C
Birgunj
Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026
spot_img

भोटेकोशी बाढीपीडित सयौँ परिवारलाई ग्यास चुल्हो र सिलिन्डरसहित राहत

काठमाडौं,१० असोज । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई खाना पकाउन आवश्यक सामग्रीसहित राहत वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा रहेका बाढीपीडित सयौँ परिवारलाई ग्यास चुल्हो, सिलिन्डरलगायत राहत सामग्री उपलब्ध गराएको हो ।

मोर्चाका केन्द्रीय अध्यक्ष लालबाबु मन्सुरीका अनुसार रौतहटको गुजरा नगरपालिका–५ का वडाध्यक्ष तथा मोर्चाका नेता शेख जमालुदिनको अगुवाइमा राहत वितरण कार्यक्रम सञ्चालन गरिएको हो । बाढीबाट प्रभावित परिवारलाई लक्षित गरी गरिएको उक्त कार्यक्रममा मुस्लिम अगुवा तथा समाजसेवी फारूक सेठ र शेख इर्शादले समेत सहयोग गरेका थिए ।

अध्यक्ष मन्सुरीले बाढीपीडित परिवारको आवश्यकता र मागलाई ध्यानमा राखेर राहत सामग्री वितरण गरिएको जानकारी दिए । विपद्का कारण प्रभावित परिवारलाई दैनिक जीवनयापन तथा खाना पकाउन समस्या भइरहेका बेला उनीहरूको मागअनुसार ग्यास चुल्हो र सिलिन्डरलगायत सामग्री उपलब्ध गराइएको उनले बताए ।

उनका अनुसार आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले रौतहट निर्वाचन क्षेत्र नम्बर–३ मा ग्यास चुल्हो तथा सिलिन्डर वितरण कार्यक्रम सुरु गरेपछि त्यसबाट प्रेरित भएर आम मुस्लिम मोर्चाले पनि बाढीपीडितलाई लक्षित गरी राहत अभियान अघि बढाएको हो । मोर्चाले बाढीबाट प्रभावित परिवारलाई आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले राहत वितरण गरेको जनाएको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here