25 C
Birgunj
Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026
spot_img

नारायणी नदी खतराको तह नजिक, तटीय बस्तीमा उच्च सतर्कता

नवलपरासी, १० असोज । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) हुँदै बग्ने नारायणी नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि बाढीको जोखिम उच्च बनेको छ । देवघाटस्थित जलमापन केन्द्रका अनुसार शनिबार दिउँसो ३ बजे नदीमा पानीको सतह ८.९८ मिटर पुगेको छ ।

देवघाट केन्द्रमा नदीको पानीको सतह ९ मिटर पुगेपछि खतराको तह मानिन्छ । यससँगै नारायणी नदी खतराको तहमा पुग्न केही सेन्टिमिटर मात्र बाँकी रहेको छ । नदीमा पानीको सतह ७.३ मिटर पुगेपछि चेतावनीको तह मानिनेमा शुक्रबार राति नै उक्त तह पार गरिसकेको जलमापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार देवघाटमा नारायणीको पानीको सतह अझै निरन्तर बढिरहेको छ । पानीको बहाव बढ्दै गएपछि नदी आसपासका तटीय क्षेत्रमा बाढीको जोखिम थप बढेको छ ।

तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिँदै

नदीमा पानीको बहाव बढेपछि जोखिममा रहेका तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायले जानकारी दिएका छन् ।  उनका अनुसार जोखिममा रहेका मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै नदी किनारमा नजान स्थानीयवासीलाई माइकिङमार्फत सचेत गराउने काम भइरहेको छ । प्रमुख जिल्ला अधिकारी उपाध्यायका अनुसार गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका तथा विनयी त्रिवेणी गाउँपालिका नारायणी नदीको बाढीका कारण जोखिममा रहेका छन् ।

त्यस्तै, बौदिकाली र बुलिङटार गाउँपालिका कालीगण्डकी नदीको बाढी तथा पहिरोको जोखिममा रहेका छन् । जोखिममा रहेका तथा प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रशासनले जनाएको छ । बाढी तथा पहिरोको सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्लाका सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताएका छन् ।

गण्डक ब्यारेजका सबै ३६ ढोका खुला

यसैबीच नवलपुरको त्रिवेणीस्थित नारायणी नदीमा निर्माण गरिएको गण्डक ब्यारेजमा पानीको बहाव तीव्र रूपमा बढेपछि सबै ३६ वटा ढोका खुला गरिएको छ । इलाका प्रहरी कार्यालय त्रिवेणीका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक सुरेश पालका अनुसार शनिबार ब्यारेजमा पानीको बहाव ३ लाख ४०० क्युसेक पुगेको छ । गण्डक ब्यारेजमा पानीको बहाव ३ लाख क्युसेक पुगेपछि चेतावनीको तह मानिन्छ । चेतावनीको तह पार गर्दै पानीको बहाव बढेपछि ब्यारेज आसपासका क्षेत्रमा समेत जोखिम बढेको छ ।

नेपाल–भारततर्फका दुवै नहर बन्द

गण्डक ब्यारेजमा पानीको सतह बढेपछि नेपाल र भारततर्फ जाने दुवै नहरमा पानीको प्रवाह पूर्ण रूपमा बन्द गरिएको छ । ब्यारेजको माथिल्लो पानीको सतह ३५९.२ फिट र तल्लो सतह ३५७.६ फिट पुगेको जनाइएको छ । पानीको बहाव तीव्र बन्दै गएपछि ब्यारेजको सुरक्षासँगै तटीय क्षेत्रमा समेत थप सतर्कता अपनाइएको छ । यसैबीच, गण्डक ब्यारेजमा पानीको बहाव बढेसँगै सुस्ताका केही भूभाग डुबानमा परेका छन् । डुबानबाट प्रभावित स्थानीयवासीलाई सुरक्षित स्थानतर्फ लैजाने काम भइरहेको इलाका प्रहरी कार्यालय त्रिवेणीले जनाएको छ ।

नारायणी तथा कालीगण्डकी नदीमा पानीको सतह निरन्तर बढिरहेको र नदी आसपासका बस्तीमा बाढी तथा डुबानको जोखिम कायम रहेकाले प्रशासन तथा सुरक्षा निकायले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेका छन् ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here