23.2 C
Birgunj
Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026
spot_img

असोज ९ र १० गते हुने जनमतको महाधिवेशन १७ गते सर्‍यो

वीरगंज,०९ असोज । जनमत पार्टीको दोस्रो महाधिवेशनको मिति परिवर्तन भएको छ । यसअघि असोज ९ र १० गते वीरगञ्जमा आयोजना गर्ने तय भएको महाधिवेशन अब असोज १७ गते शनिबार हुने भएको छ ।

केही दिनदेखि लगातार भइरहेको वर्षा तथा आगामी दिनमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमानलाई मध्यनजर गर्दै महाधिवेशनको मिति सारिएको पार्टीका प्रवक्ता चन्दन सिंहले जानकारी दिए । प्रवक्ता सिंहका अनुसार प्रतिकूल मौसमका कारण देशभरबाट वीरगञ्ज आउने प्रतिनिधि, नेता तथा शुभेच्छुकको यात्रा र व्यवस्थापनमा कठिनाइ हुन सक्ने देखिएपछि महाधिवेशनको तालिका परिवर्तन गरिएको हो ।

पार्टीका अनुसार महाधिवेशनको तयारी पूरा भइसके पनि सहभागीको सुरक्षा र सहज आवागमनलाई ध्यानमा राख्दै नयाँ मिति तय गरिएको हो । पार्टीको सचिवालय प्रमुख राजेशकुमार मण्डलद्वारा जारी सूचनामा पनि मौसम प्रतिकूल हुने अवस्था, भारी वर्षा, बाढी, पहिरो, डुबान तथा सडक अवरोधको जोखिमलाई ध्यानमा राखेर मिति परिवर्तन गरिएको उल्लेख छ ।

यसअघि जनमत पार्टीले असोज ९ र १० गते वीरगञ्जस्थित टाउनहलमा दोस्रो महाधिवेशन गर्ने तयारी गरेको थियो । महाधिवेशनअन्तर्गत अध्यक्षसहित विभिन्न केन्द्रीय पदका लागि उम्मेदवारी दर्ताको प्रक्रिया पनि अघि बढिसकेको थियो ।

मिति परिवर्तन भए पनि यसअघि पूरा भएका महाधिवेशनसम्बन्धी अन्य प्रक्रिया यथावत् रहने पार्टीले जनाएको छ । अब परिमार्जित तालिकाअनुसार जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १७ गते वीरगञ्जमै आयोजना हुनेछ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here