26 C
Birgunj
Date
बुध, अशोज ७, २०८३
Wed, September 23, 2026
spot_img

भारी वर्षाको सम्भावनापछि प्रधानमन्त्री शाहद्वारा पूर्वतयारीमा जोड

काठमाडौँ,०७ असोज । प्रधानमन्त्री वालेन्द्र शाहले आगामी दिनमा देखिन सक्ने सम्भावित मौसमी विपद्को जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित सबै निकायलाई आवश्यक तयारी, प्रभावकारी समन्वय र पूर्वसतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री शाहले आज सामाजिक सञ्जालमार्फत मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पूर्वानुमानलाई उल्लेख गर्दै यही असोज ९ गतेदेखि असोज ११ गतेसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको बताउनुभएको हो । सम्भावित प्रतिकूल मौसमका कारण बाढी, पहिरो, डुबान, गेग्रान बहावलगायतका विपद् निम्तिन सक्ने भएकाले समयमै आवश्यक तयारी गर्न प्रधानमन्त्री शाहले सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ । उहाँले सम्भावित जोखिमलाई न्यूनीकरण गर्न आपसी समन्वय तथा पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ । प्रधानमन्त्री शाहले आम नागरिकलाई समेत सम्भावित मौसमजन्य जोखिमप्रति सचेत रहन र आवश्यक सावधानी अपनाउन अनुरोध गर्नुभएको छ । जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न तथा सम्बन्धित निकायबाट जारी हुने सूचना र निर्देशनलाई ध्यानपूर्वक पालना गर्न उहाँले आग्रह गर्नुभएको छ ।

मौसम विज्ञान विभागका अनुसार आगामी केही दिनमा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको छ । ती प्रदेशका एक–दुई स्थानमा भने अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ । त्यसैगरी कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि भारीदेखि धेरै भारी वर्षा हुनसक्ने सम्भावना रहेको विभागले जनाएको छ । वर्षाको प्रभाव विशेषगरी पहाडी तथा हिमाली भूभागमा बढी पर्न सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई थप सतर्क रहन आग्रह गरिएको छ ।

विभागका अनुसार मौसम प्रणालीको प्रभावका कारण गण्डकी प्रदेशको पोखरा आसपासका क्षेत्र, लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्र, कोशी प्रदेशको ताप्लेजुङलगायत हिमाली भूभाग, बागमती प्रदेशका पहाडी क्षेत्र, कर्णाली प्रदेशको जुम्ला आसपास तथा सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा बाढी, पहिरो, डुबान र सडक अवरोधको जोखिम रहन सक्छ । सम्भावित भारी वर्षाका कारण नदी तथा खोलानालामा पानीको बहाव बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहाव आउन सक्ने र तराई तथा अन्य जोखिमयुक्त क्षेत्रमा डुबान हुनसक्ने विभागको आकलन छ । यसका साथै सडक तथा हवाई यातायातमा समेत अवरोध आउन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन विभागले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

विशेषगरी ट्रेकिङ तथा हिमाली क्षेत्रमा जाने योजना बनाइरहेका व्यक्तिहरूलाई मौसममा सुधार नआएसम्म यात्रा स्थगित गर्न वा आफ्नो यात्रा योजनामाथि पुनर्विचार गर्न विभागले आग्रह गरेको छ । प्रतिकूल मौसमका कारण हिमाली तथा उच्च पहाडी क्षेत्रमा यात्रा थप जोखिमपूर्ण हुनसक्ने भएकाले सम्बन्धित सूचना हेरेर मात्र यात्रा गर्न सुझाव दिइएको छ । विभागले सर्वसाधारणलाई मौसम विज्ञान विभाग तथा स्थानीय प्रशासनबाट जारी हुने सूचना नियमित रूपमा हेर्न र सम्भावित जोखिमको अवस्थामा सम्बन्धित निकायले दिने निर्देशन पालना गर्नसमेत अनुरोध गरेको छ ।

यसैबीच, प्रधानमन्त्री शाहले पनि सम्भावित मौसमी विपद्को जोखिमलाई ध्यानमा राख्दै सरकारी निकायहरूलाई आवश्यक पूर्वतयारी र समन्वयमा विशेष ध्यान दिन आग्रह गर्नुभएको छ । आगामी तीन दिनमा देखिन सक्ने मौसमजन्य जोखिमलाई मध्यनजर गर्दै नागरिकस्तरबाट समेत सतर्कता अपनाउनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here